+
+
Shares

भारतबाट आयात गर्ने विद्युत्‌काे नयाँ दर निर्धारण, १.५ प्रतिशत वृद्धि

दुवै पक्षबीच भएको विस्तृत छलफलपछि गत वर्ष कायम गरिएको दरमा १.५ प्रतिशतमात्र वृद्धि गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २९ गते १९:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको १७औं बैठकले आगामी एक वर्षका लागि विद्युत् आयात दरमा १.५ प्रतिशत वृद्धि गरी नयाँ दर निर्धारण गरेको छ।
  • चालु वर्षका लागि १३२ केभी प्रसारण लाइनमा प्रतियुनिट ८ रुपैयाँ २२ पैसा, ३३ केभीमा ८ रुपैयाँ ९१ पैसा र ११ केभीमा ९ रुपैयाँ ५५ पैसा कायम गरिएको छ।
  • दुवै पक्षले यस सहमतिले ऊर्जा सहकार्य सुदृढ पार्ने, क्षेत्रीय ऊर्जा सुरक्षा बढाउने र दीर्घकालीन मित्रता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

२९ फागुन, काठमाडौं । भारतबाट आगामी एक वर्षका लागि आयात हुने विद्युत्‌काे नयाँ दर निर्धारण भएको छ ।

नेपाल–भारत विद्युत् आदान–प्रदान समितिको १७औं बैठकले आगामी एक वर्षका लागि नेपालले आयात गर्ने विद्युत्‌काे नयाँ दर निर्धारण गरेको हो ।

दुवै पक्षबीच भएको विस्तृत छलफलपछि गत वर्ष कायम गरिएको दरमा १.५ प्रतिशतमात्र वृद्धि गर्ने सहमति भएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार चालु वर्षका लागि १३२ केभी प्रसारण लाइन मार्फत खरिद गरिने विद्युत्‌काे दर प्रतियुनिट ८ रुपैयाँ २२ पैसा, ३३ केभीस्तरमा प्रतियुनिट ८ रुपैयाँ ९१ पैसा तथा ११ केभीस्तरमा प्रतियुनिट ९ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।

त्यस्तै विद्युत् खरिद दरको संरचना सम्बन्धी विषयमा आगामी वर्ष पुन: विस्तृत समीक्षा गरी छलफल गर्ने सहमति पनि भएको छ ।

२८ र २९ फागुनमा भएको  उक्त बैठकले भारतका बिहार, उत्तर प्रदेश र उत्तराखण्ड राज्यबाट नेपालले आयात गर्ने विद्युत्‌काे दर निर्धारण गरेको हो ।

यस सहमतिले आगामी चैत तथा वैशाखमा पर्ने सुक्खा मौसममा नेपालको विद्युत् आपूर्ति व्यवस्थापन थप सुदृढ बनाउने अपेक्षा गरिएको शाक्यले बताए ।

प्राधिकरणका अनुसार सन् १९९२ देखि नेपाल–भारतबीच विद्युत् आदान–प्रदानका लागि स्थापित संयन्त्र मार्फत विद्युत् खरिद प्रक्रिया निरन्तर सञ्चालन हुँदै आएको छ ।

तीन दशकभन्दा बढी समयदेखि सञ्चालनमा रहेको यो संयन्त्र नेपाल–भारत ऊर्जा सहकार्यको महत्त्वपूर्ण आधारका रूपमा स्थापित भएको प्राधिकरणले जनाएको छ ।

बैठकमा नेपालका तर्फबाट शाक्यले नेतृत्व गरेका थिए भने भारतका तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका बोर्ड सदस्य विजयकुमार सिंहले नेतृत्व गरेका थिए ।

विद्युत् प्राधिकरण सञ्चालक समितिले कार्यकारी निर्देशकलाई उक्त बैठकमा वार्ता गरी विद्युत् खरिद दरमा सहमति गर्न तथा आवश्यक सम्झौतामा हस्ताक्षर गर्ने अख्तियारी प्रदान गरेको थियो ।

वार्ता क्रममा भारतीय पक्षले विद्युत् उत्पादन तथा आपूर्तिसँग सम्बन्धित लागत बढेको उल्लेख गर्दै खरिद दरमा ५.५ प्रतिशत वृद्धि गर्न प्रस्ताव राखेको थियो । तर, नेपाली पक्षले भारतीय विद्युत् बजारको अध्ययन तथा उपलब्ध बजार सूचकांकका आधारमा हालको बजार दर अपेक्षाकृत कम रहेको भन्दै दर वृद्धि आवश्यक नभएको तर्क प्रस्तुत गरेको थियो ।

हाल प्राधिकरणले दैनिक करिब १२ देखि १४ हजार मेगावाट घण्टा विद्युत् आयात गरिरहेको छ र सुक्खा मौसममा ऊर्जा माग बढेसँगै आयात मात्रा अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर सञ्जीव राय, परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव सुमन शेखरको समेत सहभागिता थियो ।

दुवै पक्षले यस सहमतिले नेपाल–भारतबीचको ऊर्जा सहकार्यलाई अझ सुदृढ बनाउने, क्षेत्रीय ऊर्जा सुरक्षामा योगदान पुर्‍याउने र दुई देशबीचको दीर्घकालीन मित्रतापूर्ण सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?