+
+
Shares

आज राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

रासस रासस
२०८२ साउन ६ गते ६:५२

६ साउनऽ काठमाडौं । सङ्घीय संसद् राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा एक बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।

आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको छ ।

यस्तै, गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्  । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिनेछन् ।

प्रतिनिधिसभा मातहतका तीन समितिको बैठक पनि आजै बस्दैछ । कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने कार्यसूची छ । कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँग’ छलफल गर्ने कार्यक्रम छ ।

महिला तथा सामाजिक मामिला समितिमा ‘वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्थाका सम्बन्धमा’ छलफल गर्ने कार्यसूची छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल’ गर्ने कार्यसूची छ । सो समितिमा लगातार यही विधेयकमाथि छलफल भइरहेको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?