
६ साउन, काठमाडौं । पशुपतिनाथ मन्दिरमा ‘दिव्य पशुपतिनाथ अभियान’को सुरुवात भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले वृक्षारोपन गरेर अभियानको सुरुवात गरेका हुन् ।
क्लाइमेट स्मार्ट सिटिज्सँग सहकार्य गरेर मैनादेवी फाउन्डेसनले अभियान चलाएको हो । अभियान अन्तर्गत पशुपतिनाथ मन्दिर क्षेत्रको फोहोर व्यवस्थापन, सरसफाई र पर्यावरणीय क्षेत्रमा हरियाली प्रवद्र्वन गरिने उद्देश्य रहेको छ ।
कार्यक्रममा मन्त्री पाण्डेले अभियानले पशुपतिनाथ विश्व सम्पदामा सूचिकृत रहेको सम्पदालाई स्वच्छ र हरियाली बनाउने विश्वास व्यक्त गरे । ‘यो अभियानले पहिले हाम्रो पवित्र सम्पदालाई स्वच्छ र हरियाली बनाउन सहयोग पुग्नेछ । साथै यस अभियान हाम्रो स्थायी शहरी विकासको दृष्टिकोणसँग पनि जोडिएको छ,’ मन्त्री पाण्डेले भने ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले अभियानले मन्दिरको पवित्रता संरक्षण गर्दै स्थायित्व हुने विश्वास व्यक्त गरे ।
मैनादेवी फाउन्डेसनका संस्थापक केपी खनालले अभियान समुदायको सहभागिता र पर्यावरणीय स्थायित्वमा केन्द्रीत रहेको बताए । ‘सरसफाई, वृक्षारोपण तथा पदयात्रा र हरियाली बगैचा लगाएतका कार्यक्रमहरु वर्षभरी आयोजना गर्छौं,’ उनले भने, ‘पशुपतिनाथमा भेटी चढाउन भन्दा श्रद्वालुले एक बिरुवा रुप्ने वा मलजल गरे धेरै पुण्य मिल्छ ।’
आउोजकका अनुसार यो अभियान काठमाडौं र भरतपुर विस्तार गर्ने योजना छ । कार्यक्रममा सरोकारवाला निकाय समित २ सय बढीको सहभागिता थियो ।
प्रतिक्रिया 4