+
+
Shares

मधेशमा प्रधानमन्त्रीको निर्धारित कार्यक्रम– पुल र भवन उदघाटन

प्रधानमन्त्री ओलीले सुक्खाका कारण विपद् संकटग्रस्त मधेशको वस्तुस्थिति हेर्ने र किसानका कुरा सुन्ने फेसबुकमार्फत् बताएका छन् । तर हालसम्म उनको पूर्वनिर्धारित कार्यक्रम भने किसानका कुरा सुन्ने छैन । बरु उनी पुल र भवन उदघाटनमा सहभागी हुने कार्यक्रम छ ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ साउन ९ गते ९:१३

९ साउन, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओली आज काठमाडौंबाट मधेश प्रदेश आउँदैछन् । प्रधानमन्त्री ओलीले सुक्खाका कारण विपद् संकटग्रस्त मधेशको वस्तुस्थिति हेर्ने र किसानका कुरा सुन्ने फेसबुकमार्फत् बताएका छन् । तर हालसम्म उनको पूर्वनिर्धारित कार्यक्रम भने किसानका कुरा सुन्ने छैन । बरु उनी पुल र भवन उदघाटनमा सहभागी हुने कार्यक्रम छ ।

महोत्तरीमा तीन ठाउँ र बारामा एक ठाउँमा उनको कार्यक्रम तय छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालका अनुसार महोत्तरीको मठिहानी नगरपालिकास्थित बिगही नदीमा नवनिर्मित पुलको पुलको उदघाटन, मटिहानी नगरपालिकाको प्रसुतिगृह भवन र लोहारपट्टी–बलवा नगरपालिका जोड्ने रातोनदीमा नवनिर्मित पुलको उदघाटन कार्यक्रम तय छ ।

साढे ११ बजे हेलिकप्टलरमार्फत् महोत्तरीमा अवतरण गर्ने प्रधानमन्त्री साढे ११ बजे मटिहानी पुगेर बिगही खोलामा नवनिर्मित पुलेको उदघाटन गर्ने कार्यतालिका छ । त्यसपछि मटिहानी नगरपालिकाको नवनिर्मित प्रसूतिगृह भवन उदघाटन गर्ने छन् । त्यहाँ प्रधानमन्त्रीले मञ्चमार्फत् सहभागीहरुलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रजिअ रिसालले बताए ।

त्यसपछि प्रधानमन्त्री ओलीले बारामा लोहारपट्टी र बलवा नगरपालिका जोड्ने रातु नदीको पुल उदघाटन गर्ने छन् ।

‘दुईवटा पुल र एउटा प्रसूतिगृह उदघाटनको प्रधानमन्त्रीजीको कार्यक्रम तय छ । जनताको गुनासो सुन्ने औपचारिक कार्यक्रमबारे अहिलेसम्म मलाई जानकारी छैन । आएपछि अनौपचारिक कुरा सुन्नुहुन्छ होला’ प्रजिअ रिसालले भने, ‘सम्बोधनको क्रममा खडेरीबारे पनि केही सम्बोधन गर्नुहुन्छ सायद ।’

महोत्तरीको कार्यक्रम सकेर प्रधानमन्त्री ओली बारा प्रस्थान गर्ने कार्यक्रम छ । बाराको परवानीपुर गाउँपालिका कार्यालयको प्रशासनिक भवनको दिउँसो २ बजे प्रधानमन्त्रीबाट समुदघाटन हुने समयतालिका निर्धारण रहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए । त्यहाँ प्रधानमन्त्रीको सम्बोधनको समेत कार्यक्रम तय छ । तर जनताको गुनासो सुन्ने कार्यक्रमबारे आफूलाई थाहा नभएको प्रजिअ अधिकारीले बताए ।

‘बारामा परवानीपुर गाउँपालिका कार्यालयको भवन उदघाटनको कार्यक्रम अहिलेसम्म तय छ । अन्य कार्यक्रम तालिकाबारे हामीलाई जानकारी छैन’ उनले भने ।

 

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?