+
+
Shares

मधेशमा खडेरी : सिँचाइमा मोटरको भर, दिनहुँ मर्छन् किसान

गत आवमा मात्रै मधेशका ८ वटा जिल्लामा मात्रै करेन्ट लागेर १ सय २५ जनाको मृत्यु भएको तथ्यांक छ । यसरी मृत्यु हुनुमा लापरबाही पूर्वक जडान गरिएको तार मुख्य कारण रहेको जानकारहरू बताउँछन् ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ साउन ७ गते २१:५०
तस्वीर : एआई

७ साउन, जनकपुरधाम । सरकारले मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्‍को आकस्मिक बैठकले मधेश प्रदेशभरि विपद् संकटग्रस्त घोषणा गरेको हो ।

यसअघि २६ असारमै मधेश प्रदेश सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

छिटपुट हुने वर्षा र विद्युतीय मोटरको प्रयोग गरी केही मधेशका केही क्षेत्रमा जेनतेन धान रोपाइँ गरिएको छ, तर पर्याप्त वर्षा नहुँदा रोपिसकेको धान सुक्न थालेको छ ।

रोप्न उमारेको बिउ ब्याडमै सुक्न थालेको छ । त्यही सुकिरहेको धान र ब्याड जोगाउन विद्युतीय मोटरबाट सिँचाइ लगाउन किसानहरू लागि परेका छन् ।

रोपेको रोपा र ब्याडमा सुक्न थालेको धानको बिउ जोगाउन किसानहरूले सिँचाइको वैकल्पिक व्यवस्थाको रूपमा विद्युतीय मोटरहरूको प्रयोग बढाउँदै लगेका छन् ।

वर्षभरि खाने खाद्यान्नबाली लगाउन किसानहरू अहिले दिनरात नभनी व्यस्त छन् । यही क्रममा विद्युतीय मोटरको प्रयोगमा सावधानी नअपनाउँदा करेन्ट लागेर किसानहरूले अकालमै ज्यान गुमाउने क्रममा पनि बढेको छ ।

बुधबार मात्रै रौतहटमा धानको रोपमा सिँचाइ गर्न विद्युतीय मोटर चलाउन खोज्दा करेन्ट लागेर दुई जना किसानले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउने दुई जनामध्ये एक हुन् रौतहटका माधवनारायण नगरपालिका-४ विसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया । उनी मंगलबार रातिदेखि नै धानखेतमा सिँचाइको व्यवस्था मिलाउन खटिएका थिए । बुधबार बिहान ७ बजेतिर अर्को धान खेतमा उनी पुगे । त्यहाँ पनि उनले विद्युती मोटरबाट सिँचाइ गर्न खोजे । सोही क्रममा रामबाबुलाई करेन्ट लाग्यो ।

वडा नम्बर ४ का वडाध्यक्ष जवाहर पण्डितका अनुसार मोटरमा जडान भएको विद्युतको तारमा करेन्ट लागेर रामबाबु सिकिस्त हुँदा आफन्तले उद्धार गरेर उपचारका लागि अस्पताल लगेका थिए । प्रादेशिक अस्पताल गौरमा उनलाई चिकित्सकले मृत घोषणा गरेको रौतहटका प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले जानकारी दिए ।

रामबाबु जस्तै धान खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर अर्का किसान मोक्ता देवानले पनि ज्यान गुमाए । कटहरीया नगरपालिका–२ जमुनियाका ४२ वर्षीय देवानलाई मंगलबार राति करेन्ट लागेको थियो । उनलाई उपचारका लागि गरुडामा रहेको ग्रान्डी अस्पतालमा लग्दा उनको मृत्यु भइसकेको थियो ।

यसरी खेतमा मोटरबाट सिँचाइ गर्ने क्रममा रौतहटमा २४ घण्टाभित्रै दुई जना किसानले ज्यान गुमाउनु परेको छ । आर्थिक वर्ष २०८१/८२ मा रौतहटमा करेन्ट लागेर २३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटको तथ्यांकमा छ ।

रौतहटमा मात्रै होइन, मधेश प्रदेशका अन्य जिल्लामा पनि यस्तै घटना भइरहेका छन् । गत ३ साउनमा अग्निसाइर कृष्णासवरण गाउँपालिका-४ टेङग्री बस्ने ७० वर्षीया उर्मिलादेवी यादवको पनि खेतमै करेन्ट लागेर मृत्यु भएको थियो । विद्युतीय मोटर चलाएर खेतमा पानी लगाउन खोज्दा उनलाई करेन्ट लागेको थियो ।

सप्तरीका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतका अनुसार घरभन्दा एक किलोमिटर उत्तर पट्टी आफ्नै खेतमा सिँचाइका लागि जडान भएको विद्युतीय मोटरबाट करेन्ट लागेर घाइते भएकी यादवलाई उपचारका लागि राजविराज लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको थियो ।

यसैगरी २४ असार राति खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर धनुषाको मिथिला बिहारी नगरपालिका–९ का ४१ वर्षीय दिनेश यादवको पनि मृत्यु भएको थियो । आफ्नै धान खेतमा पानी सिँचाइ गर्ने क्रममा मोटरको तार सर्ट भएर करेन्ट लाग्दा उनको मृत्यु भएको थियो ।

पछिल्लो समय खेतमा सिँचाइ गर्ने क्रममा मोटरमा जडान भएको विद्युतको तारमा करेन्ट लागेर मानिसको ज्यान जाने क्रम बढेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय उपलब्ध गराएको गत आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको आठवटै जिल्लामा करेन्ट लागेर १२५ जनाको मृत्यु भएको छ । जसमा सबभन्दा बढी बारामा २४ जना, रौतहटमा २३ जना, धनुषामा २१ जना, सर्लाहीमा १८ जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

यस्तै सिरहामा १४ जना, सप्तरीमा १३ जना, महोत्तरीमा ९ जना, र सबभन्दा कम पर्सामा ३ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

मृत्यु हुने अधिकांश पुरुष रहेका छन् । मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक अनुसार ८४ जना पुरुष छन् भने १८ जना महिला छन् । अन्य भने बालबालिका छन् ।

जबकि यस अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ९८ जनाको मात्र करेन्ट लागेर मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष भन्दा २८ जना बढी मानिसको करेन्ट लागेर पछिल्लो आवमा मृत्यु भएको हो ।

खास गरेर पछिल्लो वर्ष करेन्ट लागेर मृत्यु भएका अधिकांश घटना सिँचाइ वा पानी तान्ने क्रममा करेन्ट लागेर भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी यादवको भनाइ छ ।

‘करेन्ट लागेर बढी मृत्यु हुने कारण खेत सिँचाइको क्रममा भएको छ । मोटरमा जडान गरेको विद्युतको तारमा करेन्ट लागेर बढीको मृत्यु भएको देखिन्छ,’ उनले भने ।

त्यसका अलावा खानेपानी तान्ने क्रममा करेन्ट लागेर, अन्य बारमा करेन्ट, घरमा करेन्ट लागेर मृत्युको घटनाहरू भएको उनको भनाइ छ ।

समयमा वर्षा नभएपछि सिँचाइ गरेर धान रोप्ने र रोपेको धान बचाउनको लागि खेतमा गाडिएको बोरिङ, डिप ट्युबेल, कल, इनारमा जडित मोटरबाट सिँचाइ गर्ने गरिएको छ । त्यसका लागि जडान गरिएको विद्युतमा करेन्ट लागर मृत्यु हुने क्रम बढेको छ ।

रौतहटका प्रहरी प्रवक्ता डीएसपी दिपक रायका अनुसार यसरी मृत्यु हुनुमा लापरबाही पूर्वक जडान गरिएको तार मुख्य कारण रहेको छ ।

यसका अलावा पछिल्लो समय जंगली जानवरबाट बाली जोगाउन लगाइएको विद्युतीय धरापमा परेर पनि मृत्यु हुने गरेको छ । समयमा पानी नपर्दा अकाशे पानीको भर, नपर्दा मोटरबाट सिँचाइ गर्दा ज्यान जाने डर किसानलाई छ ।

एक प्रहरी अधिकारीका अनुसार कतिपय स्थानमा हुकिङ गरी चोरी गरेर सिँचाइ गर्न खोज्दा पनि ज्यान जाने गरेको पाइएको छ ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?