
८ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) र अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) ले साझा सदस्य राष्ट्रहरूमा सौर्य ऊर्जा प्रवर्द्धन र विस्तारमा सहकार्य गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित आईएसएको सातौं क्षेत्रीय समिति बैठकमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
यो साझेदारी दुवै संस्थाको नवीकरणीय ऊर्जा प्रयोगलाई तीव्र बनाउने, राष्ट्रिय जलवायु लक्ष्य र दिगो विकास लक्ष्यमा योगदान गर्ने र हरित तथा समावेशी क्षेत्रीय सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यसँग मेल खान्छ । यस सम्झौताले सौर्य प्रविधिको प्रवर्द्धन, दुर्गम हिमाली क्षेत्रहरूमा ऊर्जा पहुँच सुधार र साझा सदस्य राष्ट्रहरूमा जलवायु प्रतिरोधी विकासलाई समर्थन गर्ने रणनीतिक साझेदारीलाई औपचारिकता दिएको इसिमोडले जनाएको छ ।
यस सहकार्यमार्फत् उनीहरुले विभिन्न क्षेत्रहरूमा सौर्य प्रविधिको सम्भाव्यता पहिचान, परियोजना तथा कार्यक्रम विकास, प्राविधिक क्षमता अभिवृद्धि, प्रविधि स्थानान्तरण, साझा सदस्य राष्ट्रहरूबीच ज्ञान साझेदारी र पैरवीलाई सुदृढ गर्ने कार्य गर्नेछन् ।
इसिमोडका महानिर्देशक पेमा ग्यात्सोले भने, ‘आईएसएसँगको यो साझेदारी हिमाली क्षेत्रका लागि सफा, भरपर्दो र सन्दर्भअनुकूल सौर्य समाधान ल्याउने दिशामा महत्वपूर्ण प्रगति हो । यसले हिन्दूकुश हिमालय क्षेत्रमा दिगो ऊर्जा रूपान्तरण र जलवायु सहनशीलतालाई अझ बलियो बनाउने हाम्रो साझा प्रतिबद्धतालाई पुष्टि गर्छ ।’
आईएसएका महानिर्देशक आशिष खन्नाले भुटानका लागि तयार गरिएको साझेदारी रणनीतिक कार्य सुरु गर्दै पहाडी क्षेत्र केन्द्रित नवीकरणीय ऊर्जा रुपान्तरणको मोडल विकास गर्ने बताए ।
प्रतिक्रिया 4