
१० साउन, काठमाडौं । झापाको हल्दीवारी गाउँपालिका–४, ओली चोकमा आगलागीमा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । आगलागीमा गम्भीर घाइते भएका ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो ।
घटना साउन ६ गते बिहान करिब ८:४० बजे भएको थियो । आफ्नै पक्की घरको दोस्रो तल्लामा खाना पकाउने क्रममा ग्यास लिक भई अचानक आगो सल्किँदा घरका चारजना आगलागीमा परेका थिए । आगो निभाउने प्रयासमा उनीहरू घाइते भएका थिए ।
घाइतेमध्ये पुण्यप्रसाद ओलीलाई प्रारम्भिक उपचारपछि झापाको ओम साई पाथीभरा अस्पताल हुँदै थप उपचारका लागि काठमाडौंको कीर्तिपुर बर्न अस्पताल लगिएको थियो। साउन १० गते बिहान ११:३५ बजे उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका अन्य दुई जना ५९ वर्षीया गोमा देवी ओली र ३३ वर्षीय सन्तोष ओली भने उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । चौथो घाइतेको अवस्था भने सार्वजनिक गरिएको छैन ।
घरको भान्साबाट सुरु भएको आगलागीले थप क्षति हुन नपाउँदै स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4