+
+
Shares

लोडसेडिङ तालिकाको आलोचनापछि चनौली वितरण केन्द्रले भन्यो– मंगलबारसम्म समस्या समाधान हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १० गते २२:२१

१०, साउन, चितवन । नेपाल विद्युत् प्राधिकरण, चनौली वितरण केन्द्रले विद्युत लोड व्यवस्थापनमा आएको समस्या आगामी मंगलबारसम्म हल हुने जनाएको छ ।

भोलि आइतबार चितवनका विभिन्न क्षेत्रमा ६ घण्टा लोडसेडिङ गर्ने तालिका सार्वजनिक गरेको चनौली वितरण केन्द्रले मंगलबारसम्म प्राविधिक समस्या समाधान हुने जनाएको हो ।

नेपाल विद्युत प्राधिकरण, बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जितेन्द्र कुमार झाले मंगलबारसम्म वैकल्पिक व्यवस्थापन गरेर चनौली वितरण केन्द्रमा देखिएको विद्युतको अधिक भारको व्यवस्थापन गरिने अनलाइनखबरसँग बताए ।

उनका अनुसार अनुसार १३२/ ३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा ३०० एम्पिएर भन्दा बढी विद्युत् प्रवाह गर्न नमिल्ने तर लोड ४५० एम्पियर भन्दा बढि भएकोले वितरणमा व्यवस्थापन मिलाउनुपर्ने भन्दै भोलि एकदिनका लागि लोडसेडिङको तालिका सार्वजनिक गरिएको हो ।

डिभिजन प्रमुख झाले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत जडानको काम पर्सीसम्म सकिने बताए ।

उनले भने, ‘म आज पनि हर्दीमा गएर निरीक्षण गरेर आएँ, विद्युतको समस्या भरतपुर र माडीमा मात्रै हैन पूर्वी चितवनका अन्य क्षेत्र टाँडी पर्सा भण्डारासम्म पनि छ, हर्दी स्टेशन चलेपछि यसको समस्याको धेरै समाधान हुन्छ ।’

हर्दी स्टेशनबाट विद्युत दिएर भरतपुर पर्साको लोड घटाउने र हर्दीबाट भरतपुर महानगरपालिका- १३ को देवनगर सबस्टेशनमा विद्युत पठाउने तयारी तीव्र गतिमा भएको डिभिजन प्रमुख झाले बताए ।

देवनगर स्टेशन ३३ केभिएबाट सीधै जगतपुरमा विद्युत सप्लाई गरेर अहिले भइरहेको चनौलीको लोडलाई कम गराउने उनको भनाइ छ ।

त्यसका लागि मंगलबार वा बढीमा बुधबारसम्म काम सकिने उनले जानकारी दिए । जगतपुरमा विद्युत जोडेपछि जगतपुर, माडी क्षेत्रमा विद्युतको सहज आपूर्ति हुने उनले बताए ।

डिभिजन प्रमुख झाले चनौलीको लोडले धान्न नसकेर नै अहिले भरतपुरबाट सीधै चनौलीका लागि ३३ केभी प्रसारण लाइन बनाउने काम तीव्र गतिमा भैरहेको बताए ।

अबको ६ महिनाभित्र चनौलीमा अर्को ३३ केभी विद्युत थप हुने भन्दै उनले त्यसपछि सधैंका लागि विद्युत काटिने समस्या समाधान हुने दाबी गरे । उनका अनुसार अहिले यसको ८० प्रतिशत काम सकिएको छ । चनौलीबाट अहिले माडी, जगतपुर, शुक्रनगर र विजयनगरसम्म विद्युत वितरण हुँदै आएको छ ।

डिभिजन प्रमुख झाले जनतालाई ढाँटेर विद्युत काट्नु भन्दा भएको अवस्थाको बारेमा जानकारी दिनु राम्रो होला भनेर नै पूर्व सूचना दिइएको दाबी गरे ।

चनौली वितरण केन्द्रले साउन ११ गते ( भोलि) को लोडसेडिङ तालिका नै सार्वजनिक गरेपछि आलोचना र विरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?