+
+
Shares

‘पलेँटी’मा गुञ्जिए न्ह्यू बज्राचार्यका धुन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ११ गते १२:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सङ्गीतकार न्ह्यू बज्राचार्यको 'पलेँटी' कार्यक्रम नेपालयको आर शाला मा शुक्रबार र शनिबार झण्डै २ घण्टासम्म सम्पन्न भएको थियो।
  • कार्यक्रममा न्ह्यूले दिवंगत स्वरशिल्पी लासमित राईको सम्झना गर्दै दर्जनभन्दा बढी गीत प्रस्तुत गरेका थिए।
  • अगस्ट महिनाको अन्तिम शुक्रबार र शनिबार रामकृष्ण दुवालको सङ्गीत समेटिएको पलेँटी नेपालयको आर शाला मा हुने जानकारी पलेँटी संयोजकले दिएका छन्।

काठमाडौं । शुक्रबार र शनिबार नेपालयको ‘आर शाला’मा सङ्गीतकार न्ह्यू बज्राचार्यको ‘पलेँटी’ सम्पन्न भएको छ । झण्डै २ घण्टासम्म चलेको ‘पलेँटी’मा बज्राचार्यले सङ्गीत दिएका दर्जनभन्दा बढी गीत प्रस्तुत गरिएको थियो ।

गीटार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो । उनले आफ्नो साङ्गीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको पहिले गीत सुनाउँदा उनले केहीवर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गरेका थिए । लासमितको स्वरमा रेकर्ड भएको ’नआऊ सपनाभरि’ सङ्गीतकारको आवाजमा सुन्दा दर्शकहरूमा भिन्दै रौनकता फैलिएको थियो ।

त्यसपछि उनले गीतकार दिनेश अधिकारीसँगको पहिलो भेटको सम्झना सुनाउदै ’अघिअघि जिन्दगी’ सुनाएका थिए । तेस्रो प्रस्तुतिमा गीतकार विप्लब प्रतीकको काव्यात्मक गीत ’एउटी सानी परी’ रहेको थियो ।

यसपालीको कार्यक्रमलाई कवि विप्लबले नै सञ्चालन गरेका थिए । सोलो गीटार बजाउँदै प्रस्तुत भएका न्ह्यूले जब रमण घिमिरेको शब्द ’आधीबाटो हिँडेपछि’ सम्पन्न गरे । त्यसपछि कार्यक्रमले दोस्रो चरण प्रवेश गर्‍यो ।

दोस्रो चरणमा बानिका प्रधानको स्वर गुञ्जियो । उनले अरुणा लामाको स्वरमा रेकर्ड भएको ’यो मन त तलाउ हो’लाई कुशलतापूर्वक प्रस्तुत गरिन् । राजेन्द्र थापाको यो गीतपछि बानिकाले बिभिन्न चरणमा ’तिमी बाहेक’, ’खाटा बसेछ’, ‘ए ऐना’, र ’छाएछ वसन्त’ बोलका गीत प्रस्तुत गरेकी थिइन् ।

न्ह्यूका धुनमा दुर्गालाल श्रेष्ठ, वसन्त चौधरी, मञ्जु लामा, भूषण खरेल, गोपाल प्याकुरेल, मदनकृष्ण श्रेष्ठ, क्षेत्रप्रताप अधीकारी र सुरेश स्थापितका शब्द समेटिएका थिए । कार्यक्रममा न्ह्यू आफैँले लेखेका गीत पनि प्रस्तुत भएका थिए ।

बानिका प्रधानको गायनलाई सङ्गीतकार बज्राचार्यका साथै पलेँटीका दर्शकले मुग्धकण्ठले प्रसंसा गरेका थिए ।

कार्यक्रमको अर्को चरणमा न्ह्यूले पूर्ण वाद्यवादनका साथ केही गीत सुनाए । जसमा ’मेरो प्यारो’, ’पागल’, ‘अरबौं मान्छेहरूमा’, ‘जय होस्’ बोलका गीत थिए । आनी छोइङको स्वरमा लोकप्रिय बनेको ’फूलको आँखामा’ गीतलाई न्ह्यूले नेपाली र नेवारी भाषामा मिश्रित गरेर गाएका थिए ।

यसपालीको पलेँटीमा वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, तबलामा शम्भु बानियाँ, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारसमणि सुबेदी, गिटारमा लुमन स्थापित र बेस गिटारमा सुदीप खत्रीको साथ थियो ।

‘पलेँटी’ हेरेर बाहिरिँदै गरेका गायक शेषनारायणको प्रतिक्रिया सुनिन्थ्यो- ‘न्ह्यूका गीतलाई पलेँटीमा कसरी प्याकेजिङ गरिन्छ होला भन्ने जिज्ञासा थियो । त्यो मेटियो मात्र होइन । गज्जबको प्रस्तुति भयो । दामी कार्यक्रम ।’

‘आजको साँझ अविष्मरणीय रह्यो । न्ह्यूको सङ्गीत त सुन्दर छँदैछ, उसको सेन्स अफ ह्युमरले कार्यक्रमलाई झन् रोचक बनायो ।’ यसपालीको पलेँटी सञ्चालन गरिरहेका कवि तथा गीतकार विप्लब प्रतीकको प्रतिक्रिया थियो ।

आगामी अगस्ट महिनाको पलेँटीमा सङ्गीतकार तथा गायक रामकृष्ण दुवाललाई निम्त्याइएको जानकारी पलेँटी संयोजक आभासले गराएका थिए । रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषा र नेपाली भाषाका गीत, सङ्गीतमा क्रियाशील कलाकार हुन् ।

अगस्ट महिनाको अन्तिम शुक्रबार र शनिबार दुवालका सृजना समेटिएको पलेँटी हुनेछ । कालिकास्थानस्थित नेपालयको ’आर शाला’मा हुने यस कार्यक्रमको टिकेट पलेंटीको वेबसाइटमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?