
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'रियाल रिङ्गेट'को नयाँ गीत 'आमा' साउन १६ गतेदेखि प्रदर्शनमा आउन लागेको छ।
- गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको शारीरिक र मानसिक पीडा प्रस्तुत गरेको छ।
- फिल्ममा प्रमोद चौलागाईं र नीता ढुङ्गाना मुख्य भूमिकामा छन् र छायाङ्कन भारत र नेपालमा गरिएको छ।
काठमाडौं । साउन १६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्म ‘रियाल रिङ्गेट’को नयाँ गीत ‘आमा’ सार्वजनिक भएको छ ।
गीतले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरूको पीडा र उनीहरूको मनोदशालाई मार्मिक ढङ्गले प्रस्तुत गरेको छ ।
गीतले रोजगारीको सिलसिलामा बिदेसिएका युवाले भोग्नुपरेको शारीरिक र मानसिक पीडा, नियन्त्रणमा परेको अवस्था र त्यसपछि घरपरिवारको सम्झनालाई सशक्त रूपमा उजागर गरेको छ ।
गीतमार्फत फिल्मको मुख्य विषयवस्तु ’वैदेशिक श्रम जीवनको यथार्थ चित्रण’ समेत प्रस्ट पारिएको छ । गीतमा रामचन्द्र काफ्लेले आवाज दिएका छन् ।
मदन पुरस्कार विजेता अमर न्यौपानेको शब्द रहेको गीतमा सङ्गीत स्वयं काफ्लेकै छ भने एरेञ्ज तथा मिक्सिङ-मास्टरिङ किरण तुलाधरले गरेका छन् ।
‘रियाल रिङ्गेट’ नाम स्वयं नै प्रतीकात्मक लाग्छ । ‘रियाल’ खाडी मुलुक कतार र साउदी अरेबियाको मुद्रा हो भने ‘रिङ्गेट’ मलेसियाको । यी दुई मुद्राको नाम संयोजनले ती मुलुकलाई इङ्गित गर्छ, जहाँ लाखौँ नेपाली श्रम गर्न बाध्य छन् । फिल्मले यही वास्तविकता चित्रण प्रयास गरेको छ ।
फिल्ममा प्रमोद चौलागाईं र नीता ढुङ्गाना मुख्य भूमिकामा छन् । छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा, रामचन्द्र अधिकारी, रियर राई, रोशन श्रेष्ठ, ईश्वरी बराल, विमला गिरी, सीमा केसी, सन्दीप तामाङ, सुवास थापा मगर, विशाल थापाको पनि अभिनय छ ।
कथा प्रदीप भारद्वाजले लेखेका हुन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर र राजीव समरको नृत्य निर्देशन छ ।
छायाङ्कन भारतको राजस्थान, नेपालका चितवन, काठमाडौं र लेटाङमा गरिएको हो । ‘रियाल रिङ्गेट’लाई काफिया फिल्म्सले वितरण गर्नेछ ।
प्रतिक्रिया 4