
११ साउन, काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारीसाधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्न ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ ।
महासंघ अध्यक्ष हिरालाल श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले प्रहरी महानिरीक्षक दीपक थापासँग भेट गर्दै ज्ञापनपत्र बुझाएको हो ।
महासंघ महासचिव राजेन्द्रविक्रम बानियाँका अनुसार सवारी तथा यातायात सम्बन्धी ऐन, नियम र मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा ओभरलोड प्रवृत्ति बढिरहेको छ ।
‘स्वदेशी तथा विदेशी ट्रकहरूले लोड सिटविना तोकिएको भन्दा बढी भार बोक्ने र सामान्य जरिबाना तिरेर सवारी सञ्चालन गर्ने प्रवृत्तिले कानुनको सम्मान हुँदैन,’ बानियाँले भने ।
ज्ञापनपत्रमा ट्राफिक प्रहरीले जाँच गरिरहे पनि न्यून जरिबानाका कारण समस्या समाधान नभएको उल्लेख गरिएको छ । महासंघले ओभरलोड गर्ने ट्रकलाई यातायात कार्यालयमा चलान गर्न वा निर्देशिका अनुसार सामान अनलोड गराइ भार मिलान गर्न कडाइसाथ व्यवस्था गर्नुपर्ने माग राखेको छ ।
महासंघले हालै सञ्चालनमा ल्याएको ‘भारवहन नियमन सफ्टवेयर’ प्रभावकारी बनाउन ट्राफिक प्रहरीको सहकार्य आवश्यक रहेको पनि जनाएको छ ।
भेटमा प्रहरी महानिरीक्षक थापाले ओभरलोड समस्या गम्भीर भएको स्वीकार्दै यस विषयमा आवश्यक कदम चालिने प्रतिबद्धता व्यक्त गरे ।
‘यातायात प्रणाली सुरक्षित, व्यवस्थित र कानुन अनुसार बनाउने हाम्रो लक्ष्य हो । महासंघको चासो जायज छ, ट्राफिक प्रहरीलाई आवश्यक निर्देशन दिइने छ,’ महासंघले प्रहरी महानिरीक्षक मार्फत सातै प्रदेशका प्रहरी प्रमुख तथा ट्राफिक प्रहरीलाई निर्देशन दिन विशेष आग्रह गरेको छ ।
प्रतिक्रिया 4