+
+
Shares

नियमविपरीत सहकारीको साधारणसभा, मेयर प्रमुख अतिथि

सहकारी संस्थाहरुमा बेथिति बढेपछि सुशासन प्रवर्द्धनका लागि नियमनकारी सरकारी निकायले जारी गरेको निर्देशन विपरीत गरिएको साधारणसभामा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय थिए ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ साउन १२ गते २०:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलको अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्थाले सहकारी ऐनको दफा ३९ विपरीत ११ साउनमा साधारणसभा गरेको पाइएको छ।
  • सहकारीले साधारणसभा बोलाउँदा ३० दिनअगावै सेयर सदस्यलाई जानकारी दिनुपर्ने नियम उल्लंघन गरेको सहकारी सचिव खिमराज ज्ञवालीले स्वीकारे।
  • लुम्बिनी प्रदेशमा २५ वटा सहकारीले नियमनकारी निकायको निर्देशन उल्लंघन गरेका कारण समस्या उत्पन्न भएको र प्रदेश सहकारी दर्ता कार्यालयले १९ बुँदे निर्देशन जारी गरेको छ।

१२ साउन, बुटवल । बुटवलको अन्नपूर्ण वहुउद्देश्यीय सहकारी संस्थाले कानूनविपरीत साधारणसभा गरेको पाइएको छ । सहकारी ऐनको दफा ३९ मा आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने व्यवस्था छ ।

त्यस्तै, साधारणसभा बोलाउँदा कम्तीमा ३० दिनअगावै सेयर सदस्यहरुलाई जानकारी दिनुपर्ने व्यवस्था सहकारी विभागको निर्देशनमा छ ।

तर, यो कानून व्यवस्थालाई बेवास्ता गर्दै बुटवलको अन्नपूर्ण सहकारीले ११ साउनमा वार्षिक साधारणसभा आयोजना गरेको हो ।

सहकारी संस्थाहरुमा बेथिति बढेपछि सुशासन प्रवर्द्धनका लागि नियमनकारी सरकारी निकायले जारी गरेको निर्देशन विपरीत गरिएको साधारणसभामा प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय थिए ।

साधारणसभामा उपमहानगरका सहकारी शाखाका प्रमुख गुणाकर खनाललाई भने नबोलाइएको खनालले बताए ।

विभागको निर्देशन विपरीत साधारणसभा गरेको विषयमा उपमहानगरका सहकारी शाखा प्रमुख खनालले आफूलाई साधारणसभाबारे जानकारी र निम्ता नभएको बताए । विभागको निर्देशन उल्लंघनबारे अध्ययन गरेर थप प्रतिक्रिया दिने  उनले बताए ।

विभागको निर्देशनमा ‘साधारण सभाको बैठक बस्ने कम्तीमा तीस दिन अगावै बैठकको प्रस्तावसहित मिति, समय, स्थान तोकी सार्वजानिक सूचना जारी गर्नुपर्ने’ उल्लेख छ ।

तर निर्देशनका बुँदामा जुनसुकै कुरा लेखिएको भए तापनि एउटा आर्थिक वर्षको साधारण सभा अर्को आर्थिक वर्षमा गर्न नपाइने व्यवस्था छ ।

३० दिनको सूचाना नै नदिई साधारणसभा गरेर आफूहरुबाट गल्ती भएको सहकारीका सचिव खिमराज ज्ञवालीले स्वीकार गरे ।

‘विभागको निर्देशनबारे अपडेट भइएनछ, अलिकति भूल भयो’, ज्ञवालीले भने, ‘रजत जयन्ती पनि मनाउने तयारी भएकाले साधारणसभा पनि गरिएको हो, आउने दिनमा गल्ती सच्याउंछौं । बहुउद्देश्यीय भए पनि सहकारीले वचत तथा ऋणको मात्रै काम गरिरहेको छ ।

सचिव ज्ञवालीले वचत तथा ऋण वाहेक अरु काम पनि गर्न समिति बनाइएको भएपनि आर्थिक मन्दीले नसकिएको स्वीकारे ।

सहकारीमा ६६१ जना शेयर सदस्य रहेका र करिब ७० प्रतिशतको उपस्थिति रहेको ज्ञवालीले बताए ।

नियमविपरीत भएको साधारणसभामा राष्ट्रिय सहकारी महासंघ लेखा सुपरीवेक्षण समिति संयोजक भिम तुलाचन पनि विशिष्ट अतिथिका रुपमा सहभागी थिए ।

रुपन्देही सहित लुम्बिनी प्रदेशमा नियमनकारी निकायको निर्देशन उल्लंघन गर्दै गतिविधि गरेका कारण प्रदेश कार्यक्षेत्र भएका २५ वटा सहकारीमा समस्या उत्पन्न भएको छ ।

बचतकर्ताको करोडौं  रकम अपचलन भएर समस्या आएपछि लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले पनि १९ बुँदे निर्देशन जारी गरेको छ ।

२०८१ साउन १८ को अद्यावधिक तथ्यांक अनुसार लुम्बिनीमा प्रदेश कार्यक्षेत्र भएका सहकारीको संख्या ८५० छ । तर झण्डै आधा सहकारीले प्रमुख नियामक निकायमा वार्षिक प्रतिवेदन समेत पेश गरेका छैनन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?