
News Summary
Generated by OK AI. Editorially reviewed.- भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा ५५ वटा संशोधन प्रस्ताव राख्ने सांसदहरूसँग तीन दिन संसदीय समितिको छलफल सकिएको छ।
- भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले विधेयकले कम्पनीले तोकेको हदभित्रको जग्गा विकास गरी बिक्री गर्न नपाउने प्रावधान खुलाउने बताए।
- विधेयकले भूमिहीन दलित, सुकुमवासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासी व्यवस्थापन गर्ने उद्देश्य राखेको छ।
१३ साउन, काठमाडौं । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन प्रस्ताव राख्ने संशोधनकर्ता सांसदहरूसँग संसदीय समितिको छलफल सकिएको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले आइतबार, सोमबार र मंगलबार तीन दिन संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको हो । विधेयकमा ५५ वटा संशोधन परेको थियो ।
अब अर्को बैठक कहिले बस्ने तय भएको छैन । समिति सचिवालयका अनुसार अब बस्ने बैठकमा दफावार छलफल हुनेछ ।
यो विधेयक २३ वैशाख २०८२ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । यही विधेयकमा असन्तुष्टि जनाएर जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
तर, सत्तारुढ दलहरू आवश्यक संशोधन गरेर विधेयक पारित गर्ने तयारीमा छन् ।
भूमि सम्बन्धी विधेयकबारे कांग्रेस र एमालेका नेताहरूबीच छलफल नै भएर अगाडि बढेको छ ।
भूमि व्यवस्थामन्त्री बलराम अधिकारीका अनुसार कांग्रेसका तर्फबाट परेका संशोधनलाई स्वीकार गरेर जाने सहमति छ ।
भूमि व्यवस्थामन्त्री अधिकारीका अनुसार प्रचलित कानुनले घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले तोकेको हदभित्रको जग्गा विकास गरी घडेरी, घर वा अपार्टमेन्ट बनाएर बिक्री गर्न पाउँदैनन् । यो खुलाउने गरी विधेयक ल्याइएको हो ।
साथै, भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने पनि उद्देश्य छ ।
प्रस्तावित विधेयक ऐनमा रुपान्तरित भए भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन हुनेछ ।
यो विधेयक छिटो पारित होस् भन्ने चाहना घर जग्गा व्यवसायीहरूको रहँदै आएको छ ।
प्रतिक्रिया 4