
१५ साउन, चितवन । चितवनको विद्युत् आपूर्ति समस्या समाधान भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले भरतपुर महानगरपालिका वडा नं. १३ देवनगरबाट सिधै जगतपुरमा ११ केभीको फिडरमार्फत विद्युत आपूर्ति गर्न थालेपछि चनौली वितरण केन्द्रको लोड घटेको छ । भरतपुरबाट चनौली ३३ केभीएको प्रसारण लाइन पठाइएको छ । त्यसले नधानेकै कारण आपूर्तिमा समस्या आएको थियो ।
बुधबारबाट भने देवनगरबाट जगतपुर, शुक्रनगर तथा माडी जाने विद्युतको आपूर्ति हुन थालेपछि चनौली माथि परेको लोडको दबाब कम भएको विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन प्रमुख जितेन्द्र कुमार झाले बताए ।
‘अब चितवनको विद्युत आपूर्तिको समस्या पूर्ण रुपमा समाधान भएको छ,’ डिभिजन प्रमुख झाको भनाइ छ ।
चनौली वितरण केन्द्रले लोडसेडिङको झल्को दिने गरी साउन १० गते साँझ विद्युत आपूर्ति कटौतीको सूचना जारी गरेको थियो । लोडसेडिङ गरेको भनेर तीव्र आलोचना भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैं साउन १२ गते चितवन आए र अवस्थाबारे जानकारी लिएर समस्या समाधानको निर्देशन दिएका थिए ।
पूर्वी चितवनका टाँडी वितरण केन्द्र तथा खैरहनीको चैनपुर वितरण केन्द्रलाई राप्तीको हर्दी सबस्टेशनबाट विद्युत आपूर्ति थालिएको छ । पूर्वी चितवनमा पनि पटकपटक लाइन जाने समस्या थियो ।
हर्दी सबस्टेशनमा २४ एमभीएको ट्रान्सफर्मर जडान गरेर त्यसलाई चार्ज गरी गुणस्तरको विद्युत वितरण गरिएको हर्दी स्टेशन इन्चार्ज रोशन खनियाँले जानकारी दिए । उनले सोमबार रातिदेखि नै हर्दीबाट वितरण हुने ठाउँमा विद्युत आपूर्ति गरिएको जानकारी दिए ।
उनका अनुसार हर्दीबाट टाँडी तथा पर्साका लागि समेत विद्युत जोडिएको छ । टिकौली जंगलसम्म हर्दीको विद्युत आपूर्ति गर्न मिल्छ ।
टाँडी वितरण केन्द्रका प्रमुख राजेन्द्रप्रसाद चौधरीले टाँडी तथा पर्सा क्षेत्रको विद्युत आपूर्तिमा देखिएको समस्या समाधान भएको बताए ।
पटकपटक विद्युत लाइन गएको, खेतमा पानी तान्न नपाएको भन्दै टाँडी वितरण केन्द्रमा स्थानीयहरू घेराउ गर्नसमेत पुगेका थिए ।
साउनमा परेको खडेरी, चर्को गर्मी र किसानहरुले बोरिङबाट पानी तान्ने पम्प चलाउँदा ओभर लोड भएर पटकपटक विद्युत जाने समस्या ब्यापक थियो ।
त्यो समस्या बुधबारदेखि समाधान भैसकेको डिभिजन प्रमुख झाले बताए । ‘अब हामी ओभर लोडबाट अण्डर लोडमा चल्न सक्ने भयौं, ढुक्कले चाहिएको जति विद्युत उपभोग गर्न सकिन्छ,’ झाले भने, ‘पोल ढल्ने वा अन्य खास प्राविधिक समस्या बाहेक ओभर लोडका कारणले लाइन जाने समस्या चितवनमा छैन, समस्याको शतप्रतिशत समाधान भयो ।’
देवनगरबाट जगतपुर जाने विद्युत प्रसारण लाइनको कमजोर संरचनालाई पनि बलियो बनाइएको झाले बताए ।
प्रतिक्रिया 4