+
+
Shares

कर्णालीको कथाको फिल्म ‘रेलको बाटो’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १५ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौगोलिक अवस्थालाई समेट्ने 'रेलको बाटो' नामक नयाँ नेपाली फिल्म बन्ने भएको छ।
  • निर्देशक लक्ष्मण सुनारले निर्देशन गर्ने फिल्म २०८३ सालमा प्रदर्शन गर्ने योजना छ र यस वर्ष अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा छायांकन हुनेछ।
  • फिल्मले नागरिकको संघर्ष, राजनीतिक प्रवृत्ति, सडक समस्या र विकास योजनामा हस्तक्षेपलाई कथाको मुख्य विषय बनाउनेछ।

काठमाडौं । कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र भौगोलिक अवस्थालाई पर्दामा उतार्ने उद्देश्यसहित ‘रेलको बाटो’ नामक नयाँ नेपाली फिल्म बन्ने भएको छ ।

कस्तुरी प्रोडक्सन प्रालिको निर्माण र रेड अम्ब्रेला इन्टरटेन्मेन्ट प्रालिको सहकार्यमा बन्ने फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् ।

औपचारिक घोषणा गर्दै निर्माण टिमले थिम पोस्टर सार्वजनिक गरेको छ । छायांकन निशाल पौडेल र संगीत सुरज पण्डितको छ ।

कार्यकारी निर्माता नगेन्द्र घिमिरे हुन् भने वितरण अधिकार काफिया फिल्म्सले लिएको छ ।

सार्वजनिक पोस्टरमा देखिएको ‘लैजा तेरो सिंहदरबार, मलाई मेरो गाउँ फिर्ता दे’ भन्ने वाक्यले राज्यको उपेक्षामाथि गहिरो भावनात्मक र राजनीतिक संकेत गरेको छ ।

निर्देशक सुनारका अनुसार फिल्मले नागरिकको संघर्ष, श्रीमान श्रीमतीबीचको सम्बन्ध र राजनीतिक प्रवृत्तिलाई कथाको मूल विषय बनाउनेछ ।

कर्णालीको सडक समस्या, उपचार कठिनाइ, विकास योजनामा देखिने हस्तक्षेप र शक्ति केन्द्रको नजरअन्दाजजस्ता पनि कथाको केन्द्रमा छन् ।

फिल्म यो वर्षको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा छायांकन गरिनेछ । २०८३ सालमा प्रदर्शनमा ल्याउने योजना छ । यो फिल्म अहिले प्रि–प्रोडक्सन चरणमा छ ।

यसअघि सार्वजनिक भएको ‘रेलको बाटो’ गीतको म्युजिक भिडियोले चर्चा पाएको थियो । फिल्म निर्माण टिमका अनुसार, अब सोही नाममा बन्ने फिल्मले दूरदराजको पीडा र कहिल्यै नआउने रेलजस्तो आशालाई पर्दामा जीवित ढंगले प्रस्तुत गर्ने प्रयास गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?