
१७ साउन, हेटाैंडा । मकवानपुरमा श्रीमानले शारीरिक रूपमा अशक्त श्रीमतीकाे घाँटी थिचेर हत्या गरेका छन् ।
मकवानपुरगढी गाउँपालिका-५ बुङ्दलस्थित ससुराली घरमा बस्दै आएका ४५ वर्षीय मानबहादुर शिवभक्तीले घरमा सुतिरहेकी श्रीमतीकाे घाँटी थिचेर हत्या गरेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।
मानबहादुरले श्रीमती ४० वर्षीय दुर्गा लक्ष्मी शिवभक्तीलाई आज शनिबार बिहान ४ बजेकाे समयमा हत्या गरेकाे प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
मृतक दुर्गा लक्ष्मी प्यारालाइसिसकाे बिरामी रहेकाले ओछ्यानमा थलिएकी थिइन् । आराेपित मानबहादुर बिहान साढे ८ बजेकाे समयमा जिल्ला प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी गराएकाे डीएसपी अर्यालले बताए ।
उनलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएकाे र अस्थायी प्रहरी पाेष्ट धादिङका इञ्चार्ज राजेश कुर्मी नेतृत्वकाे टाेलीले घटनास्थल सुरक्षित राखेकाे थियाे ।
घटनास्थलमा मृतक दुर्गा लक्ष्मीकाे शव ओछ्यानमा उत्तानाे अवस्थामा फेला परेकाे अर्यालले बताए । घटना हुँदा घरमा काेही पनि नरहेकाे प्रहरीले जनाएकाे छ ।
डीएसपी अर्यालका अनुसार आराेपित मानबहादुरले श्रीमती प्यारालाइसिसको बिरामी रहेको र हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकोले आफू तनावमा आएर घाँटी थिचेर हत्या गरेकाे प्रहरीसँग स्वीकार गरेका छन् ।
हत्या गरेपछि आफूले झुण्डिएर आत्महत्या गर्न खाेजेकाे उनकाे भनाइ छ । मानबहादुरकाे घाँटीमा डाेरीकाे डाम रहेकाे डिएसपी अर्यालले बताए ।
`आत्महत्या गर्न खोज्दा डोरी चुँडिएपछी आफू प्रहरी सम्पर्कमा आएको भनी बयान दिएको हुँदा घटनाबारे थप अनुसन्धान भइरहेको छ´, अर्यालले भने । आराेपति मानबहादुरकाे दुईवटा श्रीमती हुन् ।
मृतक दुर्गा लक्ष्मी जेठी श्रीमती हुन् भने कान्छी श्रीमती विगतदेखि नै माइतमा बस्दै आएकाे प्रहरीले जनाएकाे छ ।
मृतक दुर्गा लक्ष्मीतर्फ दुई जना छाेरा र कान्छी श्रीमतीतर्फ एक छाेरा र एक छाेरी रहेकाे डीसपी अर्यालले बताए ।
अन्दाजी २२ वर्षका जेठा छाेरा (जेठी श्रीमतीतर्फका) यसअघि रूखमा चढ्दा लडेर अशक्त भएसँगै ह्वीलचियरकाे सहारामा हिँडडुल गर्ने गरेकाे प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया 4