
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकाको ओहियोमा ३० वर्षअघि फ्रिज गरिएको भ्रूणबाट ३० वर्ष उमेरको नवजात शिशु थेडियस डेनियल पियर्स जन्मिएको छ।
- थेडियसको जन्म सन् १९९४ मा तयार पारिएको भ्रूण सन् २०२४ को नोभेम्बरमा प्रत्यारोपण गरी जुलाई २६ मा भएको थियो।
- थेडियसका मातापिता लिन्डसे र टिम पियर्सले ७ वर्षसम्म गर्भाधारणमा असफल भएपछि भ्रूण दान कार्यक्रमबाट भ्रूण ग्रहण गरेका थिए।
अमेरिकाको ओहियोमा विश्वको सबैभन्दा पाको उमेरको बच्चा जन्मिएको छ । उक्त नवजात शिशुको वास्तविक उमेर ३० वर्ष छ । सो बच्चाको नाम थेडियस डेनियल पियर्स हो ।
‘पाको उमेरको अर्थात् वृद्ध बच्चा’ यो शब्दावली सुन्दैमा अनौठो तथा नसुहाउँदो लाग्दछ । तर, यो यथार्थ हो ।
वास्तवमा अहिले जुन बच्चा जन्मिएको छ, त्यसको भ्रूण १९९४ मै फ्रिज गरिएको थियो । सोही भ्रूणबाटै अहिले थेडियसको जन्म भएको हो ।
न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार ओहियोकी ३४ वर्षीया लिन्डसे र ३५ वर्षीय टिम पियर्स सो बच्चाको मातापिता हुन् । गत जुलाई २६ मा जन्मिएको बच्चाको भ्रूण ३० वर्षअघि एक आइभिएफ केन्द्रमा विकसित गरिएको थियो । टिम र लिन्डसेको छोराको भ्रूण गर्भाधानका लागि तयार हुँदा उनीहरुको उमेर ४/५ वर्ष मात्रै थियो । अर्थात् उक्त दम्पति र उनीहरुको नवजात पुत्रको उमेरको अन्तर केवल केवल ४/५ वर्ष मात्रै छ । सन् १९९४ मा तयार पारिएको उक्त भ्रूण सन् २०२४ को नोभेम्बरमा मात्रै लिन्डसेको गर्भमा प्रत्यारोपण गरिएको थियो ।
सबैभन्दा लामो समयमा जन्मिने बच्चा
योसँगै थेडियसले सबैभन्दा वृद्ध शिशुको नयाँ कीर्तिमान कायम गरेको छ । एमआइटी टेक्नोलोजी रिभ्यू जर्नलसँग कुराकानी गर्दै लिन्डसेले आफूहरुलाई आफ्नो छोराको भ्रूणको उमेरका बारेमा बताउँदा निकै आश्चर्य लागेको बताएकी छिन् । त्यति लामो समयअघि जमाएको भ्रूणले पनि काम गर्दछ भन्ने अनुमान उनलाई थिएन ।
तर, आफूहरुले कीर्तिमान कायम गर्नका लागि नभई सन्तानलाभ प्राप्त गर्नका लागि गर्भाधारण गरेर बच्चा जन्माएको उनी बताउँछिन् । वास्तवमा विवाहको ७ वर्षसम्म पनि गर्भाधारणका लागि संघर्ष गर्दा असफल भएपछि लिन्डसे दम्पति एउटा कार्यक्रममा सहभागी भए जहाँ उनीहरुलाई थेडियसको भ्रूण प्रदान गरिएको थियो ।
अनौठो त के भने थेडियस डेनियलकी एकजना ३० वर्षीया दिदी पनि छिन्, जसकी छोरीको उमेर नै १० वर्षको छ ।
थेडियसको भ्रूणलाई सन् १९९४ मा लिन्डा आर्चर्ड र उनका पूर्वपतिका लागि आइभिएफ उपचारका क्रममा तीनवटा अन्य भ्रूणसँगै विकशित गरिएको थियो । सोहीमध्ये एउटा भ्रूण लिन्डामा प्रत्यारोपण गरिएको थियो जसले ९ महिनापछि सन् १९९४ मा एक स्वस्थ बालिका जन्माइन् । तिनै शिशु अहिले ३० वर्षकी महिला बनिसकेकी छिन् र उनी १० वर्षीया छोरीकी आमा पनि भैसकेकी छिन् ।
आर्चर्डले एमआइटी प्रविधि रिभ्यूसँग बताए अनुसार उनकी छोरीको जन्मअघि तीनवटा अन्य भ्रूणहरु क्रायोजेनिक रुपमा फ्रिज गरिएको थियो । उनी आफ्ना ती भ्रूणबाट थप एउटा बच्चा जन्माउन चाहन्थिन् । ती फ्रीज गरिएका आफ्ना भ्रूणलाई उनी तीनवटा साना आशा भन्ने गर्थिन् ।
तर आर्चर्ड र उनका पतिबीच सम्बन्ध विच्छेद भयो । त्यसपछि उनले थप बच्चा जन्माउने इच्छा त्यागिन् । तथापि उनले आफ्ना भ्रूण फ्रीज गर्नका लागि लाग्ने वार्षिक एक हजार डलर शुल्क तिरिरहिन् ।
त्यसपछि चाहिँ उनले आफ्ना ती भ्रूण दान गर्ने निर्णय गरिन् । अनि त्यसका लागि उनले नाइटलाइट क्रिश्चियन एडप्सन एजेन्सीद्वारा सञ्चालित भ्रूणको अभिभावकत्व लिने कार्यक्रममा सहभागी भइन् । त्यो एउटा यस्तो कार्यक्रम हो जहाँ भ्रूण दाताहरु र भ्रूण दान लिन चाहनेबीच भेटघाटको अवसर प्राप्त हुन्छ ।
त्यहीँ कार्यक्रममार्फत् आर्चर्डले आफ्नो एक भ्रूण लिन्डसे दम्पतिलाई दिने निर्णय गरिन् । भ्रूण दान गर्दा आफूलाई निकै खुसी प्राप्त भएको आर्चर्ड बताउँछिन् । लिन्डसेले नवजात शिशुको तस्वीर पठाउँदा त उनको खुसीको सीमा नै रहेन । लिन्डसेले जन्माएको छोरा थेडियसको अनुहार ठ्याक्कै आफ्नी छोरीको जस्तो रहेको आर्चर्ड बताउँछिन् ।
उता भ्रूण ग्रहणबाट छोरा जन्माएकी लिन्डसे पनि सन्तानलाभबाट खुसी छिन् । उनले कुनै चानचुने बच्चालाई जन्माएकी छैनन्, एकजना ३० वर्षीय शिशुलाई जन्म दिएर कीर्तिमान कायम गरेकी छिन् ।
प्रतिक्रिया 4