
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले इमानदारिता, सच्चाई र पारदर्शीताको परीक्षामा आफूलाई सफलता मिलेको बताएका छन् ।
आइतबार पदबाट राजीनामा दिने क्रममा उनले प्रेस विज्ञप्तिमार्फत आफ्ना कुरा सार्वजनिक गर्दै यस्तो बताएका हुन् ।
पार्टी सभापति शेरबहादुर देउवाबाटै राजीनामा दिन निर्देशन भएपछि लामाले आइतबार पत्रकार सम्मेलन गर्दै आफ्ना असन्तुष्टि पोखे । अनि राजीनामाको घोषणा गरे ।
त्यसक्रममा उनले भनेका छन्, ‘आज इमानदारीको लडाइँमा पराजित हुनुपर्दा मलाई कुनै आत्माग्लानि छैन र अझ सन्तोषको अनुभूती भएको छ ।’
उनले आफूलाई इमान्दारी, सच्चाइ र पारदर्शीताको परीक्षामा सफलता मिलेको बताए ।
‘पटक पटक मैले आफ्नो इमान्दारी, सच्चाइ र पारदर्शीताको परीक्षा दिएको छु । त्यसमा मलाई सफलता मिलेको छ,’ लामाले भनेका छन् ।
उनले आफूबाट कतै गलत नभएको र बदमासी नभएको पनि बताए ।
‘मैले कहीँकतै गलत हुँन दिइँन, बदमासी भएन, भ्रष्टाचारको समाचार आएन, शक्तिकेन्द्र र स्वार्थ समूहको इशारामा चल्न सकिन । के यो नै मेरो कमजोरी हो र ?’, उनले प्रश्न गरेका छन् ।
प्रतिक्रिया 4