News Summary
Generated by OK AI. Editorially reviewed.- पोल्याण्डले चीनको निङ्गबोमा भएको भलिबल नेसन्स लिग २०२५ को फाइनलमा इटलीलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको छ।
- फाइनल खेलमा पोल्याण्डले इटलीलाई २५-२२, २५-१९, २५-१४ ले हराएको थियो र पोल्याण्डका विलफ्रेड लियोनले १६ अंक स्कोर गरे।
- पोल्याण्डले यसअघि सन् २०२३ मा पनि भिएनएल जितेको थियो भने इटली पहिलो पटक फाइनल पुग्दा उपविजेतामै सिमित भयो।
१८ साउन, काठमाडौं । पोल्याण्डले इटलीलाई सोझो सेटमा पराजित गर्दै भलिबल नेसन्स लिग (भिएनएल) २०२५ को उपाधि जितेको छ ।
चीनको निङ्गबोमा आइतबार भएको फाइनलमा पोल्याण्डले युरोरोपियन प्रतिद्वन्दी इटलीलाई ३-० को सेटमा हराएर च्याम्पियन बनेको हो ।
पोल्याण्डले इटलीलाई २५-२२, २५-१९, २५-१४ ले हरायो । फाइनल खेलमा पहिलो सेट केही प्रतिस्पर्धात्मक बनेपछि पोल्याण्डले सेट आफ्नो पक्षमा पार्दै अग्रता बनाएको थियो । त्यसपछि पोल्याण्डले खेलमा दबाब बनाउँदै दुई सेट सहजै जित्यो ।
पोल्याण्डले इटलीलाई चार स्कोरिङ क्षेत्रमध्ये तीनमा पछि पारेको थियो । स्पाइक किल्समा पोल्याण्ड ३७-२७ ले अघि थियो भने ब्लक किल्समा १०-६ र एसमा ४-३ ले अघि रह्यो ।
अनफोर्ट्स एरर्समा इटली भन्दा पोल्याण्डले कम गल्ती गरेको थियो । इटलीले २५ अनफोर्स एरर्स गर्दा पोल्याण्डले १८ मात्र गल्ती गरेको थियो ।
क्युवामा जन्मेका पोल्याण्डका आउटसाइड हिटर विलफ्रेड लियोन फाइनलका नायक नै बने । फाइनलमा घाइते भएका तोमस फोर्नालको रिप्लेसमेन्टमा खेलेका लियोनले १६ अंक स्कोर गरे । यस्तै कमिल सेमेनिउकले १४ तथा कप्तान जाकुव कोचानोस्कीले ७ अंक स्कोर गरे ।
इटलीका डानिएल लाभियाले ११ अंक स्कवर गरे । उनी दोहोरो अंक स्कोर गर्ने एक मात्र इटालियन खेलाडी बने ।
पोल्याण्डले दोस्रो पटक भिएनएलको उपाधि जितेको हो । यसअघि पोल्याण्डले सन् २०२३ मा घरेलु कोर्टमै भएको पाँचौ संस्करणको भिएनएल जितेको थियो ।
इटली भने भिएनएलमा पहिलो पटक फाइनल पुग्दा उपविजेतामै सिमित भयो ।
सन् २०१८ मा सुरु भएको भिएनएल अहिलेसम्म रुस, फ्रान्स र पोल्याण्डले समान २ पटक जितेका छन् भने फ्रान्स एक पटक च्याम्पियन बनेको छ । सन् २०२० मा कोभिड महामारीको कारण भिएनएल आयोजना भएन ।
सन् २०१७ मा अन्तर्राष्ट्रिय भलिबलको सर्वोच्च संस्था एफआईभिबी, आईएमजी र २१ राष्ट्रका भलिबल संघले जोइन्ट प्रोजेक्टको रुपमा भिएनएल आयोजना गर्ने घोषणा गरेका थिए ।
त्यसअघि सन् १९९० देखि २०१७ सम्म भलिबल वर्ल्ड लिग आयोजना भएको थियो । त्यसको स्थानमा भिएनएल २०१८ देखि आयोजना हुन थालेको हो ।
भलिबल वर्ल्ड लिग ब्राजिलले सर्वाधिक ९ पटक जित्दा इटलीले ८ पटक उपाधि जितेको थियो । यस्तै रुसले ३ तथा अमेरिका र फ्रान्सले समान २ पटक उपाधि जितेका थिए ।
विश्व भलिबलमा एफआईभिबी वर्ल्ड च्याम्पियन्स सबैभन्दा ठूलो इभेन्टको रुपमा रहेको छ । पछिल्ला वर्षहरुमा भिएनएल पनि चर्चित भलिबल प्रतियोगिताको रुपमा रहेको छ । जहाँ विश्वभरबाट छानिएका उत्कृष्ट राष्ट्रहरुले प्रतिस्पर्धा गर्दै आएका छन् ।
प्रतिक्रिया 4