
१९ साउन,बुटवल । नेपाल वन प्राविधिक संघ, लुम्बिनी प्रदेशले लुम्बिनी फरेस्टर एक्सिलेन्सी अवार्ड घोषणा गरेको छ ।
वन व्यवस्थापन, जैविक विविधता संरक्षण, वनजन्य स्रोत साधनको दिगो प्रयोग तथा सामुदायिक वन संरक्षणमा विशेष योगदान दिने व्यक्ति वा संस्थालाई हरेक वर्ष संघ स्थापना दिवसमा सम्मान गर्ने निर्णय गरेको छ ।
वन क्षेत्रको संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण तथा समाजमा सकारात्मक प्रेरणा फैलाउने उद्देश्यले कम्तीमा ५० हजार नगद राशी सहित प्रदेशस्तरीय पुरस्कार स्थापना गरिएको संघका अध्यक्ष केशव खड्काले जानकारी दिए ।
अवार्डले क्रियाशील वन प्राविधिक तथा सम्बन्धित क्षेत्रका विज्ञहरूको पहिचान र सम्मान गर्ने, उत्कृष्ट काम गर्ने व्यक्तित्व तथा संस्थालाई प्रोत्साहन र प्रेरणा प्रदान गर्ने ,सेवा–प्रतिबद्धता, नवप्रवर्तनशील कार्यशैली र उदाहरणीय नेतृत्वको सम्मानको उद्देश्य राखेको खड्काले बताए ।
अवार्ड छनोट संघले गर्ने नभई सम्बन्धित क्षेत्रका विज्ञहरूको छुट्टै समितिले गर्ने र एक महिनाको समय राखेर आवेदन माग गरी आवेदकले गरेका कामको भेरिफाई गरेर मात्र वितरण गरिने अध्यक्ष खड्काले बताए । ‘हामीले वनको दीगो संरक्षण र व्यवस्थापन,जैविक विविधता संरक्षण वन विज्ञान-सम्बन्धी अनुसन्धान, नीति निर्माणमा योगदान, नवप्रवर्तनशील सोच तथा नीति कार्यान्वयन र नवीन कार्यक्रमहरूको प्रभावकारीता हेरेर सही पात्रलाई विवादरहित सम्मान गर्ने योजना बनाएका छौं’, अध्यक्ष खड्काले भने, ‘यो अवार्डले नेपालको वनबाट प्रचूर आम्दानी लिन र मुलुकलाई वनबाट समृद्ध बनाउन,रोजगारी सिर्जना गर्न र जलवायू परिवर्तनका असर नियन्त्रणमा योगदान पुर्याउने विश्वास छ ।’
अध्यक्ष खड्काका अनुसार आगामी वर्षदेखि अवार्ड नियमित रूपमा वितरण गरिनेछ ।
संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनलाई देशव्यापी विस्तार गर्ने हो भने वनबाट प्रशस्त आर्थिक लाभ लिन सकिने अवस्था हुंदा हुंदै वर्षेनी अर्बौं रुपैयांको काठ र युपिभिसी विदेशबाट आयात गर्नुपरेको अवस्था अन्त्य गर्न वन क्षेत्रमा नव प्रवर्तनशील सोच तथा नीति उजागर गर्न अवार्डले भूमिका खेल्ने संघको विश्वास छ ।
एक अध्ययनका अनुसार नेपालमा २२ हजार ६ सय ८२ सामुदायिक वन, ३१ साझेदारी वन, ७ हजार ९ सय ७६ कबुलियती वन, एक सय ८६ धार्मिक वन र ५ हजार ४ सय ६० निजी वन छन् ।
नेपालको कुल वन क्षेत्रबाट वार्षिक १२ करोड क्युबिक फिट (क्युफिट) काठ उत्पादन गर्न सकिन्छ । नेपालको बजारमा छ करोड क्युफिटको हाराहारीमा काठको माग रहेको छ । स्थानीय आवश्यकता पूरा गरेर बाँकी छ करोड भन्दा बढी क्युफिट काठ निकासी गर्ने हो भने पनि सरकारी दरका आधारमा वार्षिक अर्बाैं रुपैयाँ आम्दानी गर्न सकिन्छ ।
जडीबुटी उत्पादन, प्रशोधन र कच्चा पदार्थको रूपमा बिक्री वितरण गर्ने हो भने वार्षिक ३ अर्बदेखि १० अर्बसम्म आम्दानी गर्न सकिन्छ । वार्षिक सरदर १० करोड घनफिट काठ आन्तरिक रूपमा खपत हुने आँकलन छ । नेपालको वनमा करिब १ अर्ब ५ करोड ५० लाख टन कार्बन सिँचित रहेको र नेपालले तत्काल ९० लाख टन कार्बन बिक्री गरेर ४५ अर्ब आम्दानी गर्न सक्ने विज्ञहरूको दाबी छ ।
तर, नेपालको वन क्षेत्र पूर्ण रूपले व्यावसायिक तवरमा सञ्चालन गर्न सकिएको छैन । पर्याप्त काठ भएपनि वनमै कुहिएर बसेको,बर्सेनि आगलागीले धेरै काठ जंगलमै डढेर नष्ट हुने गरेको छ । नेपालको कुल वन क्षेत्र ४५.३१ प्रतिशत (६६ लाख हेक्टर) छ ।
हरियो वनबाट हरियाली अर्थतन्त्र निर्माण गर्दै आत्मनिर्भरता उन्मुख बनाउन अवार्डको माध्यमबाट नीति निर्माणमा योगदान गर्ने आफूहरुको उद्देश्य रहेको अध्यक्ष खड्काले बताए ।
प्रतिक्रिया 4