
सहकारी अर्थात् सहकार्य। सहअस्तित्व स्वीकार गरी, समान उद्देश्य राखेर सँग–सँगै गरिने कामलाई यसले बुझाउने गर्छ। अझ विस्तृत रूपमा भन्दा सँगसँगै मिलेर काम गरी समूहका सबैको आर्थिक, सामाजिक र सांस्कृतिक हैसियत माथि उठाउन गरिएको सामूहिक प्रयासलाई नै सहकारी भनिन्छ। तर सहकारीको स्वरुप, आकार र बुझाइमा आम बुझाइ छैन।
सहकारी प्रतिको अपेक्षा पनि मानिस, समुदाय र राज्य अनुसार नै विविध छ। सहकारी साध्य होइन आर्थिक, सामाजिक तथा सांस्कृतिक समुन्नतिको साधन मात्र हो। सहकारी सिद्धान्तमा सञ्चालन हुन्छ तर सहकारी साँच्चै व्यवहारमा देखिन्छ र देखिनुपर्दछ। इमानदारी र पारदर्शिता सहकारीको आत्मा हो। जब इमानदारी र पारदर्शिता परीक्षण गर्न आवश्यक तहमा पुग्छ सहकारी सकिएको हुन्छ।
सहकारी अभ्यास सबैभन्दा बढी हुने क्षेत्र बचत तथा ऋण सहकारी हो। बचत ऋण सहकारीहरूमा सहकारीको सच्चा डीएनए हुन्छ र यसले बचतबाट समुन्नतिको सपना पूरा गर्न सक्ने अभिलाषा बोकेको हुन्छ। यो हाम्रो सोच र संकल्प हो।
सुधारको सोच
बचत तथा ऋण सहकारी अभियानरआन्दोलन स्वावलम्बीहरूको सामूहिक उद्यम हो। बचत तथा ऋण सहकारीहरूको सेवा, आकार र विकासको सन्दर्भमा बुझाइ फरक–फरक देखिएको छ। निजी क्षेत्रका उद्यमका स्वरूपहरूसँग जोडेर व्याख्या गर्न र अरूलाई बनाइएको कानूनसँग जोडेर तुलना गर्न खोजेको पाइन्छ। तर सहकारीको सेवा सदस्यहरूको आवश्यकतामा आधारित हुन्छ। सहकारी सहकारीबीच सहकार्य हुनै पर्दछ। सहकारी सहकारी बीच प्रतिस्पर्धा हुनै सक्दैन। सहकार्य नै सहकारी हो।
सेवा सञ्चालन, कानून अनुपालना र बजार प्रतिस्पर्धाका कारण बचत तथा ऋण सहकारीहरूको स्वरूपमा आएको परिमार्जनको गतिलाई प्रविधिले तेज बनाएको सन्दर्भमा कोभिड पछिका क्रमागत घटनाक्रमहरूले सुधारको आवश्यकता र सोच दिएको हो। सोही सोचका आधारमा नेतृत्व परिवर्तन अभियानले गरेको थियो। बचत तथा ऋण सहकारी अभियानको स्थायित्वका लागि सुधारको सोच आएको हो र नेतृत्व सो कुरामा प्रतिबद्ध छ।
बचत तथा ऋण सहकारी अभियानको पवित्र सोच र उद्देश्य पूरा गर्न सम्पूर्ण अभियान संघर्षरत छ। सदस्यदेखि अभियानका सबै तह समान रूपमा सक्रिय भएको छ। स्थानीयस्तरदेखि आईसीएसम्म सहकारीको पहिचान र अनुकूल कानूनी वातावरण साझा मुद्दा बनेको छ। सहकारी पहिचान र कानून सुधारका लागि अभियानको पहल फलदायी भएको छ। सहकारी ऐन २०७४ ले दिएको अधिकारहरूको कार्यान्वयन शुरु भएको छ। स्थिरीकरण कोष, कर्जा असुली न्यायाधिकरण, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, कर्जा सूचना केन्द्रमा पहुँच जस्ता सरकारका सहयोगहरू प्राप्ति भएको छ।
बचत तथा ऋण सहकारी अभियान प्रवर्धन, विकास र संरक्षणको पर्याय बनेको विषयगत केन्द्रीय संघको सुधार अभियानको अपेक्षा रहेको थियो। केन्द्रीय विषयगत संघको आन्तरिक सुधार भएको छ। केन्द्रीय संघको मुख्य समस्या भनेको समस्याग्रस्त वा उन्मुख संस्थाहरूमा भएको ऋण लगानी थियो। त्यसमा चामत्कारिक परिवर्तन भएको छ। अपेक्षित असुली गरिएको छ।
आजको अभियानको नेतृत्व ग्रहण गर्दा ६ अर्ब रुपैयाँ बराबरको हाराहारी भाखा नाघेको ऋणलाई जोखिम खर्च लेख्न नसकेको संघ आज जोखिम खर्च लेखेर सदस्यको बचत सुरक्षा गर्न सक्ने स्थानमा पुगेको छ। सदस्यको बचत सुरक्षित छ। दिनरात नभनी असुलीमा लागेको छ जसले गर्दा १६ अर्बको ऋण लगानी आठ अर्बमा झारिएको छ। गैर बैंकिङ सम्पत्ति र बाँकी असुली गर्ने मात्र होइन, केन्द्रीय संघ अभियानको स्रोत अभियानमा नै परिचालनको बाटोमा अघि बढेको छ। बचत संकलन भन्दा प्रभावकारी परिचालनमा ध्यान दिइएको छ। आकार वृद्धि प्राथमिकतामा राखिएको छैन। बचत संकलन र ऋण परिचालन हाम्रो लक्ष्य होइन र हुने छैन।
विश्व ऋण परिषद्ले विकास गरेको सिद्धान्त वित्तीय स्थायित्वको वा अभियानको वित्तीय स्थायित्वका लागि क्रियाशील हुने नीति तथा कार्यक्रमहरू विकास गरिएको छ। हामीलाई अभियानको वित्तीय स्थायित्व, प्रतिस्पर्धात्मक क्षमता वृद्धि र बचत तथा ऋण सहकारी अभियानको छवि सुधार आवश्यकता हो। यसका लागि बचत तथा ऋण सहकारी अभियानको स्रोत अभियानमा नै परिचालन हुनुपर्दछ। सबै चुनौती सामना गरेर अभियान सुधार गरिएको छ। जसको नतिजा सदस्यहरूको बचत सुरक्षामा योगदान पुगेको छ।
अभियानमा रहने, समस्या पर्दा अभियान नजोडिने सदस्य वा निष्क्रिय रहने अभियानमा चासो नराख्ने सदस्यहरू नीति बमोजिम अलग गरिएको छ। खुला सदस्यता हाम्रो सुन्दरता हो। सदस्य विना अभियान र अभियान विना सदस्य चल्न सक्दैन। हामी मिलेर सदस्यहरूको बचतको सुरक्षा गर्ने हो। बचतको महत्व संस्थाको आवश्यकता बोधभन्दा माथि उठेर जोखिम व्यवस्थापन र बचत सुरक्षामा हाम्रो क्रियाशीलता बढाएको हो।
सहकारी अभियानमा रहेको सदस्यहरूको स्रोतको संरक्षण अभियानकर्मीहरूको दायित्व भएको नाताले कानून सुधार र कार्यान्वयन हाम्रो प्राथमिकतामा परेको हो। २०७४ को ऐनले दिएको तर कार्यान्वयन हुन नसकेका व्यवस्थाहरू कार्यान्वयन शुरु भएको हो। कानूनहरूको अभियान मैत्री अभ्यास अझै बाँकी छ। सहकारीको आत्मा मारेर अघि बढ्न सकिंदैन र सहकारीको आत्मा भनेको स्वच्छन्दता होइन। केन्द्रीय विषयगत संघ हिजो पनि हरेक कुरामा अभियानको पथप्रदर्शक थियो र आज पनि छ।
बजारमा बिक्रीमा राखिएका वा निस्शुल्क उपहारमा परेको सेवाले अभियानको विकास र सुरक्षा सम्भव छैन। जोखिम व्यवस्थापन अबको अभियान संरक्षणको आधार भएको र एकल रूपमा जोखिम व्यवस्थापन सम्भव नभएकोले यसका लागि नीतिगत रूपमा एकमात्र जिम्मेवार केन्द्रीय विषयगत संघमार्फत अभियानका समग्र जोखिम व्यवस्थापन गर्न सदस्य निरीक्षण अनुगमनको नीतिगत व्यवस्था गरी कार्यान्वयन गरिएको छ। फेरिएका नीतिहरू र संघको वित्तीय अवस्थाले व्यवसाय होइन सञ्जालको वित्तीय स्थायित्व, पूँजी, तरलता, जोखिम व्यवस्थापनमा काम गर्न भएका संरचनाहरूको उपयोग गर्न सक्ने अवस्थामा संघ पुगेको छ। अभियानले राखेको अपेक्षा केन्द्रीय विषयगत संघ फरक रूपमा व्यवसाय गर्ने संस्था होइन यो अभियानको योगदानमा सञ्चालन हुने र अभियानलाई व्यावसायिक बनाएर संरक्षण गर्ने अभियानको निकाय हो भन्ने सोचको कार्यान्वयन गर्न संघ सक्षम भएको छ।
निगाह, इच्छा वा चाहनाबाट कानून परिवर्तन र अभियान सुधार सम्भव छैन। यसका लागि बचत तथा ऋण सहकारीहरू सहकारी नै बन्न र निजी बैंकले भन्दा उत्कृष्ट सेवा दिन आवश्यक छ। यसका लागि सुपरिवेक्षित वातावरणमा सुरक्षित सञ्चालन सुनिश्चित गर्नु आजको आवश्यकता भएको छ। यसका लागि संघका सबै स्रोतहरू परिचालन गरिनेछ। संघले वित्तीय कारोबार गर्नु हुन्छ र हुँदैनको बीचबाट संघ सञ्चालन हुने होइन संघ अभियानका वित्तीय सुरक्षाका समाधान लिएर अघि बढ्ने कुरामा स्पष्ट छ। सहकारी क्षेत्रमा निजी क्षेत्रले राखेको स्वार्थ र सहकारी क्षेत्रका जानिफकारहरूले गरेको प्रतिस्पर्धाबाट माथि उठेर संघ सञ्चालनमा रूपान्तरण भएको छ।
संकल्प
सहकारी सिद्धान्त, मूल्य, मान्यता तथा आदर्शहरूबाट समाधान खोजेर बजारका जोखिमहरूबाट बचेर अभियानको नेतृत्व गर्ने हाम्रो संकल्प हो। एकका लागि सबै र सबैका लागि एक हाम्रो आदर्श हो। सहकारीमैत्री प्रविधिमा रूपान्तरण हाम्रो संकल्प थियो। आफू र आफ्नोबाट माथि उठेर मितव्ययी व्यवस्थापन मार्फत अभियान संरक्षणका लागि खट्ने हाम्रो संकल्प निरन्तर छ। हामीले गरेको प्राप्ति संकल्प र चाहनाको तुलनामा थोरै हुन सक्दछ तर सकारात्मक छ। कमजोर बनेको सहकारीमा एक थोपा भए पनि पानी थपिएको छ। संघका सेवा कार्यालयहरूको पुनस्संरचना तथा सदस्य सुपरीवेक्षणमा उपयोग, सहकारी ऐन, २०७४ दफा ९९ बमोजिम सदस्यहरूको नियमित निरीक्षण र अनुगमन, संघद्वारा सञ्चालन गरिने क्षमता विकासका शैक्षिक कार्यक्रमहरूको स्वीकृति, कारोबारलाई सुरक्षित र जोखिमरहित सफ्टवेयरबाट गराउने हाम्रो संकल्प हो।
एपीआई मार्फत वास्तविक समय ९रियल टाइम० को वित्तीय विवरण संकलन गरी जोखिम सुपरीवेक्षण, केन्द्रीय तरलता सुविधा, अन्तर सहकारी कारोबार, विद्युतीय प्रणालीमार्फत भुक्तानी फर्स्योट, ५० प्रतिशत ऋण रकम उत्पादनमूलक, सन्दर्भ व्याजको पुनरावलोकन, सुरक्षित डाटा भण्डारणका लागि सरकारसँग समन्वय, स्थिरीकरण कोषको अनिवार्य सहभागिता, कर्जा सूचना केन्द्रमा शुल्क न्यूनीकरण, बचत तथा ऋण सहकारी अभियानको जागरण, प्रवर्धन, विकास, व्यावसायिकीकरण, स्तरीकरण, सञ्जालीकरण, विद्युतीकरण, सबलीकरण, सुदृढीकरण, उद्यमशीलता विकासमा हाम्रो प्रतिबद्धता निरन्तर रहेको छ।
सहकारी बाँचे सहकारी, सहकारी बाँचे संघहरू र संघहरू रहे अभियानको संरक्षण हुने भएकोले अभियानको संकल्पमा एकाकार भएर अघि बढ्न आवश्यक छ। अभियानको पेशागत विकास आजको आवश्यकता भएकोले सहकारीलाई जीवन पद्धति बनाउन प्रतिबद्ध रही सक्रिय रहनु आजको संकल्प हुनेछ।
प्रतिक्रिया 4