+
+
Shares

विराट र अनुष्काको पहिलो भेट : उचाइको चिन्ता, हिल्सबारे व्यंग्य

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विराट कोहली र अनुष्का शर्माको भेट स्याम्पु कम्पनीको विज्ञापन सुट गर्ने क्रममा भएको थियो।
  • उनीहरूको प्रेम सम्बन्ध २०१३ मा सुरु भएर २०१७ डिसेम्बर ११ मा विवाह भयो।

भारतीय क्रिकेटर विराट कोहली र अभिनेत्री अनुष्का शर्मा चर्चित जोडीहरू मध्येका एक हुन् । उनीहरूको भेट कसरी भयो ? कसरी प्रेममा परे ? भन्ने जिज्ञासा धेरैको मनमा हुनसक्छ ।

उनीहरूको भेट एक स्याम्पु कम्पनीको विज्ञापन सुट गर्ने क्रममा भएको थियो । त्यो सुट तीन दिनको थियो । अनुष्कासँग स्क्रिन शेयर गर्नुपर्ने थाहा पाएपछि सुरुमा विराट नर्भस भएका थिए । कारण थियो, अनुष्का अनुभवी अभिनेत्री, अभिनय नजान्ने क्रिकेटर । विराटका म्यानेजरले ‘सबै ठिक हुन्छ, स्क्रिप्ट पनि रमाइलो छ’ भनेर उनलाई आवश्त पार्ने कोसिस गरे ।

एक अन्तर्वार्तामा विराटले पहिलो भेटबारे सुनाएका छन् । जब उनीहरूले पहिलो भेट भयो, त्यसबेला अनुष्काले हिल्स लगाएकी थिइन् । विराट भन्दा उचाइ बढी नदेखियोस् भनेर उनलाई अग्लो हिल्स नलगाउन भनिएको थियो । विराटले देख्दा अनुष्काले होचो हिल लगाएकी थिइन् । तर पनि अग्लो देखिएकी थिइन् ।

असहज मानिरहेका विराटले माहौल रमाइलो बनाउन मजाक गर्ने मनसाय राखे । उनले व्यंग्य गर्दै अनुष्कालाई प्रश्न गरे, ‘के तिमी यो भन्दा अग्लो हिल्स लगाउन सक्दिनथ्यौँ ?’ तर माहौल सोचेजस्तो भएन ।

‘त्यसपछि उनले एक नजर म तर्फ लगाइन् र भनिन्-एक्सक्यूज मी’ विराटले सुनाएका छन्, ‘त्यसपछि मैले त्यसलाई हाँसेर उडाउने कोसिस गरेँ । तर भित्रभित्रै मैले त्यो बोलेर ठिक गरिनँ कि भन्ने महसुस भइरहेको थियो ।’

विराटसँगको पहिलो भेटमा आफूले अलि घमण्ड देखाएको अनुष्काले सुनाएकी छिन् । ‘मैले त्यो दिन विराटको अगाडि अलि अहंकार देखाएँ किनकी मैले सुनेकी थिएँ, उनी पनि अलि घमण्डी छन्’ अनुष्काले भनेकी छिन् ।

यसरी पहिलो भेट भएका उनीहरू कालान्तरमा राम्रो साथी भने । प्रेममा परे । यो केमेस्ट्री मिल्नुमा उनीहरूको जीवन एकदम मिल्दोजुल्दो थियो । दुवैले आफ्नो करियर सन् २००८ ताका सुरु गरेका थिए । दुवैको पारिवारिक पृष्ठभूमि पनि उस्तै थियो ।

विराट र अनुष्काको प्रेम सम्बन्ध भने २०१३ बाट सुरु भएको थियो । सम्बन्धमा बसेपछि दुवै जना सार्वजनिक रूपमा भने २०१४ देखि देखिन थालेका थिए । त्यसको ३ वर्षपछि अर्थात् २०१७ डिसेम्बर ११ मा त उनीहरूले विवाह नै गरे ।

भारतमा उनीहरूको विवाह पनि भव्य समारोहमध्येको एकमा पर्छ । विराटका अनुसार विवाहको सबै तयारी अनुष्काले गरेकी थिइन् । विवाहको समय आउनेबेला उनी क्रिकेट सिरिजको बीचमा थिए । त्यसो हुनाले विवाह स्थानको छनोटदेखि योजना बनाउनेसम्म सबै काम अनुष्काले नै गरेकी थिइन् ।

उनीहरूको मुख्य विवाह समारोह इटालीको टस्कानीमा भएको थियो । जहाँ नजिकका आफन्तहरूलाई मात्र बोलाइएको थियो । त्यसो हुँदा उनीहरूको विवाहमा जम्मा ४२ जना मात्रै सहभागी भएका थिए । तर त्यसपछि भारत फर्किएर उनीहरूले दुईवटा रिसेप्सन राखेका थिए । एक बलिउडका लागि र अर्को क्रिकेटरहरूका लागि ।

त्यस्तै उनीहरूको हनीमुनको किस्सा पनि रमाइलो छ । विवाहपछि उनीहरू भीडभाडबाट टाढा जान चाहन्थे । कसैले चिन्न नसक्ने ठाउँमा जान चाहन्थे । त्यसैले उनीहरूले फिनल्यान्ड जाने निर्णय गरे ।

त्यहाँ उनीहरू कफी पिउन एउटा क्याफेमा गएका थिए । एकअर्कासँग कुराकानी गरिरहेका थिए । त्यत्तिकैमा छेवैको टेबलमा बसेका पगडी लगाएका एकजना मानिसले उनीहरूलाई चिनिहाले । र उनले आफ्नो थर पनि कोहली नै भएको बताए ।

यसरी कसैले नचिन्ने ठाउँमा हनिमुन मनाउन गएता पनि फ्यानले उनीहरूलाई चिनिछाडे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?