
नेपाली बैंकिङ क्षेत्रमा उनको नाम नयाँ होइन । तर बैंकिङ क्षेत्रमै कसरी पुगिन् होला ? खासमा बैंकिङ करिअरमा उनी ख्यालख्यालमै आइपुगेकी हुन् । खालि समय सदुपयोग गर्न खोज्दा जुटेको अवसरलाई अहिले ‘पिक’ मा पुर्याएकी छिन् ।
उच्च शिक्षा अध्ययन गरिरहँदा उनले भविष्यमा के गर्ने भन्ने निर्णय गरिसकेकी थिइनन् । परिवार भने उनलाई चिकित्सक (डाक्टर) बनाउन चाहन्थ्यो । त्यसकै लागि प्रवीणता प्रमाणपत्र तहमा विज्ञान संकाय पढिन् ।
विज्ञान पढ्दै गर्दा उनलाई परिवारले चाहेको डाक्टर नभई नयाँ क्षेत्रका रूपमा फस्टाएको सूचनाप्रविधि (आईटी) तर्फ करिअर बनाउने सोच नआएको होइन । तर प्लस टु सकेपछि न परिवारले चाहे जस्तो डाक्टर, न आईटी, सबै बिर्सेर व्यावसायिक प्रशासनमा स्नातक (बीबीए) शुरु गरिन् । बीबीएमा पनि उनले वित्त र बजार व्यवस्थापन केन्द्रमा राखेर स्नातक उत्तीर्ण गरिन् ।
अध्ययनसँगै उनी खेलकुदमा पनि अब्बल थिइन् । टेबलटेनिस तथा ब्याडमिन्टन खेल्न मन पराउँछिन् । अहिले पनि दुवै खेल खेल्ने गरेको उनी बताउँछिन् ।
उनी हुन् बैंकर रश्मि पन्त । विदेशिने क्रम बढेका बेला स्वदेशमै पनि क्षमता अनुसारका अवसर छन् भन्ने प्रमाणित गरेकी रश्मिले स्नातकोत्तरका लागि काठमाडौं विश्वविद्यालय (केयू) को व्यावसायिक प्रशासनमै स्नातकोत्तर (एमबीए) गर्ने निर्णय गरिन् । स्नातकोत्तरपछि मात्र उनको पेशागत यात्रा शुरु भएको हो ।
‘एमबीए गर्ने क्रममा इसिमोडमा इन्टर्नबाट कार्यालय शुरु गरे पनि त्यसलाई इन्टर्नमै सीमित गरें । त्यसपछि विद्यावारिधि गर्न अमेरिका जाने तयारी थालें’ रश्मि सम्झिन्छिन्, ‘त्यही बेला अमेरिकामा अध्ययनका लागि विभिन्न विश्वविद्यालयमा आवेदन दिएकी थिएँ । तर मलाई ६ महिनादेखि एक वर्ष पर्खनुपर्ने भयो ।’
अनि, शुरु भयो बैंकिङ करिअर
रश्मि अमेरिका जाने अनुमति कुरेर बसेकी थिइन् । त्यही बेला प्रभु बैंकले कर्मचारी माग गर्यो । त्यसपछि शुरु भयो उनको बैंकिङ करिअर । बैंकमा खाता खोल्नका लागि एक/दुई पटक बैंक छिरेकी रश्मि प्रभु बैंकको रोजगारी आह्वानले अल्पकालीन बैंकर हुने निर्णयमा पुगिन् । बैंकले माग गरेको ट्रेनी अफिसरमा आवेदन दिइन् ।
तर, बैंकको कर्मचारी छनोट समितिले उनलाई जुनियर अफिसरमा नियुक्ति दियो । बढीमा एक वर्ष बैंकमा काम गर्ने मनसाय साथ बैंकर बनेकी रश्मिले यही क्षेत्रमा एक दशक बढी समय बिताइसकेकी छिन् ।
‘अब त बैंकिङ क्षेत्र तत्काल छाड्ने मनस्थिति छैन’ रश्मि हौसिन्छिन्, ‘आफ्नै नेतृत्वमा बैंक हाँक्ने लक्ष्य लिएर अगाडि बढिरहेकी छु ।’
प्रभु बैंकको उच्च व्यवस्थापनमा ‘चिफ बिजनेस अफिसर’ का रूपमा लामो समय काम गरेकी रश्मिलाई आफ्नै नेतृत्वमा बैंक हुँदा कस्तो होला भन्ने लाग्न थालेको छ ।
त्यही भएर उनले व्यक्तित्व विकासमा पनि उत्तिकै ध्यान दिन थालेकी छिन् । जुन क्षेत्रमा जोडिए पनि नेतृत्व लिनुपर्छ भन्ने सोच भएकी रश्मिले बैंक भित्रका हरेक क्षेत्रलाई नजिकबाट अध्ययन तथा विश्लेषण गर्ने गरेकी छिन् ।
‘आफूले काम गरेको क्षेत्र वा संस्थाको नेतृत्वमा पुग्ने सोच राख्ने व्यक्तिले हरेक क्षेत्रका कामप्रति पनि उत्तिकै जिज्ञासा राख्नुपर्छ भन्ने लाग्छ’ रश्मि दृढ सुनिन्छिन्, ‘मेरो व्यक्तिगत कुरा गर्दा कुनै पनि बैंकिङ कामका सन्दर्भमा मेरो विभागको हो वा होइन भनेर हेर्दिनँ ।’
अहिले आफू भएको क्षेत्र वा संस्थाको नेतृत्व लिने लक्ष्य मात्रै राखेकी छैनन्, बैंकिङ क्षेत्रपछिको करिअरका सन्दर्भमा समेत उनले अहिलेदेखि नै तयारी गरेकी छिन् ।
‘बैंकरपछि कूटनीतिज्ञ बन्ने लक्ष्य छ’ रश्मि भन्छिन्, ‘विद्यावारिधिलाई त्यसैको तयारी भनेर बुझ्दा पनि हुन्छ ।’ अहिले त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र अन्तर्गत परराष्ट्र मामिलामा केन्द्रित भई विद्यावारिधि (पीएचडी) गर्दैछिन् रश्मि । उनका अनुसार पीएचडी अध्ययन पनि करिब अन्तिम चरणमा पुगेको छ ।
दिदीबहिनी बीचको प्रतिस्पर्धा नै प्रेरणा
डाक्टर हुन नचाहँदा बैंकर बन्न पुगेकी रश्मिलाई परिवारबाट पनि पूर्ण साथ र सहयोग छ । तर उनका दिदीबहिनी बीच भने रोचक प्रतिस्पर्धा छ । जुन क्षेत्रमा काम गरे पनि नेतृत्वमा पुग्नुपर्छ भन्ने प्रेरणाको स्रोत भनेको दिदीबहिनी बीचको प्रतिस्पर्धा रहेको उनको भनाइ छ ।
शैक्षिक रूपमा सचेत र आर्थिक रूपमा सबल परिवारमा जन्मेकी रश्मिले पछिल्लो १० वर्ष अवधिमा बैंकिङ क्षेत्रमा हासिल गरेको सफलता अतुलनीय छ । जुनियर अफिसरबाट शुरु भएको उनको करिअर अहिले बैंकको तेस्रो वरीयता अर्थात् प्रमुख कार्यकारी अधिकृत (सीईओ) र डेपुटी सीईओ पछि छ ।
‘यस क्षेत्रमा मिलेको सफलताले घरपरिवारले समेत डाक्टर नभएको विषयमा पछुतो मानेको छैन’ रश्मि भन्छिन्, ‘संघर्ष नभए पनि यो क्षेत्रमा आइसकेपछि चुनौती सामना गर्दै संस्थाको लक्ष्य अनुसार नतिजा हासिल गर्न सक्षम छु भन्ने स्थापित गराउन सफल भएँ भन्ने लाग्छ ।’
बैंकिङ क्षेत्र तुलनात्मक रूपमा धेरै संवेदनशील हुन्छ । सानो गलत निर्णय वा सूचनाले पनि समग्र संस्थामा असर गर्ने अवस्था रहन्छ । त्यसको चक्रीय प्रभाव समग्र अर्थतन्त्रमा पर्ने भएकाले सबैका कुरा सुनेर बैंकिङ प्रणालीको हितमा मात्रै काम गर्नुपर्ने हुन्छ ।
यसमा निकै सचेत रश्मिले नियामकीय परिपालना मात्र नभई बैंकर भइसकेपछि वित्तीय अनुशासनका सन्दर्भमा पनि कुनै सम्झौता नहुने अनुभव सँगालेकी छिन् ।
बैंकिङ क्षेत्रमा सानो उमेरमा प्रभावशाली पद हासिल गरेकी रश्मिको सफलताको मुख्य सूत्र भनेको पुराना बैंकरको अनुभव र नवप्रवेशीको ऊर्जा एक गराउन सक्ने क्षमता हो ।
अनुभव र युवा ऊर्जा जोड्ने अनि त्यसको सदुपयोग गर्ने कुशल क्षमता नै उनको सफलताको रहस्य हो । उनले प्रभु बैंक प्रवेश गर्दा व्यवस्थापकीय रणनीति बनाएर छोटो समयमा नै व्यवस्थापन तथा सञ्चालक समितिलाई प्रभावित पारेकी थिइन् ।
कूटनीतिक क्षमता, सम्पर्क स्थापना गर्ने कला र प्रभावशाली सञ्चार शैली रश्मिको विशेषता हो । त्यही विशेषताले नै उनी सानो उमेरमै नेतृत्व तहमा पुग्न सफल भएकी हुन् ।
युवाभन्दा अनुभवीलाई प्राथमिकता दिएको मन पर्दैन
बैंकिङ क्षेत्रमा पछिल्लो समय युवाभन्दा अनुभवीलाई प्राथमिकता दिने अभ्यास भने रश्मिलाई मन पर्दैन । मन नपर्नु पनि स्वाभाविक हो किनभने उनले हासिल गरेको १० वर्षको उपलब्धि अपवाद जस्तै हो । त्यसका साथै उनलाई झनै मन नपर्ने विषय भनेको लैंगिक विभेद हो । महिला र पुरुष भनेर गरिने फरक व्यवहारले कहिलेकाहीं उनलाई निराश समेत बनाउँछ ।
‘कार्यस्थलमा समेत महिला र पुरुष भनेर विभेद गर्दा निरुत्साहित बनाएका धेरै क्षण छन्’ रश्मि भन्छिन्, ‘लैंगिक विभेदले पनि महिलाको पेशागत वृद्धिमा असर गरेको छ ।’
आर्थिक रूपले सबल परिवारमा जन्मिएकी रश्मिलाई पारिवारिक वातावरणले सधैं आत्मबल थप्ने काम गर्यो । त्यसैले पनि हरेक सफल व्यक्तिको विगत संघर्षमय नै हुनुपर्छ भन्नेमा उनको विश्वास छैन । पुगिसरी आएको परिवारमा जन्मे/हुर्केको व्यक्ति पनि सफल बन्न सक्ने उनको तर्क छ । त्यसका लागि सम्बन्धित व्यक्तिसँग क्षमता र लगनशीलता हुन जरूरी हुने उनी बताउँछिन् ।
‘पेशागत चुनौती नै मेरा लागि अवसर हो’ रश्मि थप्छिन्, ‘त्यसका लागि मुख्य भनेको टिमभित्रको सञ्चालन प्रक्रिया हो । त्यसमा म धेरै सचेत छु । परिस्थिति अनुसार सञ्चार क्षमताले चुनौती सामना मात्रै होइन, त्यसलाई सहज रूपमा सकारात्मक नतिजा ल्याउन मद्दत गरेको छ ।’
प्रभावशाली बैंकरका रूपमा रश्मिले राज्यका तर्फबाट पनि पहिचान बनाएकी छिन् । बैंकिङ क्षेत्रको प्रतिनिधित्व गर्दै उनले प्रबल जनसेवाश्री पदक समेत पाएकी छिन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट पदक ग्रहण गरेकी थिइन् । त्यसका साथै उनले सरस्वती विद्या पदक, एएनजेड हाई कमेन्डेड टिम अवार्ड तथा कम लाउडे रिकग्नाइज्ड प्राप्त गरेकी छिन् ।
धेरै युवाका लागि प्रेरणाको स्रोत बनेकी रश्मि प्रभु बैंकको बिजनेस प्लानिङ अफिसरका रूपमा सेवा प्रवेश गरेकी थिइन् । त्यसपछि कर्पोरेट हेड, एचआर हेड र चिफ कर्पोरेट प्लानिङ अफिसर, चिफ अपरेटिङ अफिसर हुँदै समग्र बैंककै तेस्रो वरीयताको चिफ बिजनेस अफिसरको जिम्मेवारीमा छिन् ।
रश्मि बैंकरसँगै समाजसेवी पनि हुन् । उनले समाजसेवा गर्ने उद्देश्यले मिर्मिरे फाउन्डेसन स्थापना गरेर विभिन्न काम गर्दै आएकी छिन् । काम सँगसँगै अध्ययनमा पनि उत्तिकै रमाउने रश्मिले बैंकिङ क्षेत्रबाट बाहिरिएपछि आफूलाई ‘डिप्लोम्याट’ (कूटनीतिज्ञ) का रूपमा अहिलेदेखि नै देख्न थालेकी छिन् ।
ट्रेन्डिङ

रमेश थापागोताखोर

रहबर अन्सारीप्रदेश सभा सदस्य

डा. अखण्ड उपाध्यायचिकित्सक

गौरव न्यौपानेकृषि अधिकृत

डा. नम्रता खड्कान्यूरोसर्जन

रञ्जित भट्ट, पुनित जाजोदिया, अश्विन श्रेष्ठआईटी उद्यमी

गणपतिलाल श्रेष्ठ, सञ्जय अधिकारीसांस्कृतिक अभियन्ता

भिक्टर पौडेलसोसियल कम्युनिकेटर

सञ्जन गौतमपब्जी स्ट्रीमर

कुम: सागरगायक