+
+
Shares

काठमाडौं र साउदीमा कामदार अलपत्र छाडेर अध्यक्ष लिन निगमको जहाज हङकङ

हङकङमा १७ साउन एकदिन मात्रै निगमको कार्यक्रममा अधिकारी सहभागी भएका हुन् । बाँकी दिन उनले आफ्नो किताबको प्रचारप्रसार गरे, जसका लागि निगमका उच्च पदस्थलाई पनि उनले प्रयोग गरेका छन् ।

जनार्दन बराल जनार्दन बराल
२०८२ साउन २० गते २१:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल वायुसेवा निगमको जहाज प्राविधिक समस्याका कारण दम्माम उडान स्थगित भएपछि ७४ यात्रु होटलमा राखिएका छन्।
  • कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई लिन निगमको जहाज हङकङ पठाइँदा दम्मामका यात्रु अलपत्र परेका हुन्।
  • अधिकारीको हङकङ भ्रमणमा निगमले दैनिक २१ हजार रुपैयाँभन्दा बढी भ्रमण भत्ता र सम्पूर्ण खर्च व्यहोरेको छ।

२० साउन, काठमाडौं । साउदी अरबको दम्माम र काठमाडौंमा यात्रु अलपत्र छाडेर नेपाल वायुसेवा निगमको जहाज कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई लिन हङकङ गएको छ ।

निगम दर्ता नम्बर ‘९एन–एकेडब्लु’ न्यारो बडी जहाज सोमबार साँझ प्राविधिक समस्याका कारण ग्राउन्डेड भएपछि साउदीको दम्मामका लागि निर्धारित उडान स्थगित भएको थियो । सोमबार राति १०:२५ बजेका लागि तय भएको उडान रद्ध भएपछि दम्माम उड्न विमानस्थल पुगेका ७४ यात्रुलाई होटलमा राखिएको जानकारी निगम स्रोतले दियो ।

उता, दमामबाट काठमाडौं फर्किन विमानस्थल पुगेका १ सय यात्रुलाई पनि होटलमा राखिएको छ ।

सोमबार उडान रद्द भएपछि उपलब्ध अर्को जहाजले ती यात्रु लिएर मंगलबार दम्माम उड्नुपर्ने थियो । तर, एकदिनका लागि निगमको कार्यक्रम र बाँकी आफ्नो कविता संग्रह प्रचारका लागि हङकङमा रहेका कार्यकारी अध्यक्ष अधिकारीलाई समेत लिएर आउनुपर्ने भएकाले निगमले दम्माम आउनेजाने यात्रु अलपत्र छाडी हङकङ उडान गरेको हो ।

‘दम्माम जाने र आउने सबैजसो यात्रु वैदेशिक रोजगारीमा जाने कामदार हुन्छन्, हङकङबाट निगमका कार्यकारी अध्यक्ष फर्कंदै छन्,’ निगम स्रोतले भन्यो, ‘आफैं फर्कनुपर्ने भएपछि कामदार अलपत्र पारेर उनले अस्वाभाविक रूपमा हङकङ उडान गराए ।’

निगमको त्यही ग्राउन्डेड न्यारो बडी जहाज नै दम्मामबाट फर्केर मंगलबार हङकङ जाने तालिका थियो । तर, उक्त जहाजको ठाउँमा अर्को न्यारो बडी ‘९एन–एकेएक्स’ मंगलबार बिहान हङकङ उडायो ।

जबकि, त्यो जहाज मंगलबार नै भारतको बंैगलुरु जानुपर्ने थियो । बिहान ११ बजेका लागि हङकङ उडान तालिका भए पनि जहाज १२:१० बजे मा काठमाडौंबाट उडेको हो ।

‘निगमका दुई न्यारो बडी जहाजमध्ये सोमबार राति एउटा दम्मामबाट र अर्को दुबईबाट काठमाडौं फर्किने तालिका थियो । तीमध्ये मंगलबार एउटाले हङकङ र अर्कोले भारतको बैंगलुरु उडान गर्नुपर्ने हो ।

तर, एउटा जहाज ग्राउन्डेड भएर यात्रु नै अलपत्र भएको अवस्थामा अर्को उपलब्ध जहाजको पहिलो प्राथमिकता ती यात्रुलाई सकेसम्म छिटो उठाउन दिनुपर्ने हो,’ निगम स्रोतले भन्यो, ‘तर, त्यसो नगरेर निगमले हङकङको नियमित उडानमा त्यो जहाज पठाएको छ । जबकि, दम्मामको तुलनामा हङकङमा यात्रु संख्या पनि कम छ, उक्त उडान मार्फत काठमाडौंबाट हङकङ जाने यात्रु संख्या ६५ र फर्कने यात्रु संख्या ७५ मात्रै छ ।’

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी सहित टोली एक सातादेखि हङकङमा रहेको र आज उताबाट फर्कनुपर्ने भएपछि जहाज हङकङ पठाइएको स्रोतले जानकारी दियो ।

‘सोमबार नै जहाज ग्राउन्डेड भएको अवस्थामा हङकङ जाने यात्रुलाई यसबारे पूर्वजानकारी दिई एयरपोर्टमै पुगेर अलपत्र परेका यात्रुको समस्या मध्यनजर गरी दम्मामको उडान गर्नुपर्ने हो,’ निगमको अर्को स्रोतले भन्यो ।

निगमको एउटा न्यारो बडी जहाजमा ‘इलेक्ट्रिकल’ समस्या आएर ग्राउन्डेड भएको र अहिलेसम्म बनिनसकेको निगमका प्रवक्ता सुवास डाँगीले बताए ।

‘हङकङमा नियमित उडानका लागि आज जहाज गएको छ र सोही जहाजमा अध्यक्ष युवराज अधिकारी पनि आउँदै हुनुहुन्छ,’ उनले भने, ‘मार्केटिङले गरेको निर्णयका आधारमा उडान तालिका बनेको हो ।’

काठमाडौं र दम्माममा वैदेशिक रोजगारीमा जाने कामदारलाई अलपत्र पारेर कार्यकारी अध्यक्ष लिन हङकङ उडान चाहिँ किन गर्नुभएको हो ? भन्ने प्रश्नमा उनले मर्मतमा रहेको जहाज बनिसक्ला भनेर त्यसो गरेको तर नबनेको बताए । आज बेलुकासम्म त्यो जहाज पनि रिलिज हुने अपेक्षा रहेको उनको दाबी छ ।

निगमकै खर्चमा आफ्नो किताब बेच्न अध्यक्ष अधिकारी हङकङमा

हङकङमा निगमको बजार विस्तारका लागि भन्दै कार्यकारी अध्यक्ष युवराज अधिकारी भ्रमणमा गएको प्रवक्ता डाँगीले दाबी गरे ।

‘हङकङमा मार्केटिङका लागि अध्यक्ष अधिकारी, वरिष्ठ क्याप्टेन विजय लामा, निगमका कर्पोरेट डाइरेक्टर टंकनिधि दाहाल जानुभएको छ, त्यहाँका नेपालीमाझ निगमलाई नै प्राथमिकता दिन अनुरोध गर्ने कार्यक्रम छ,’ उनले भने ।

ती सबै अधिकारीको भ्रमण खर्च निगमले नै बेहोर्ने हो । बजार विस्तारको एजेन्डा राखेर अधिकारी आफैंले आफ्नो ७ दिने बिदा स्वीकृत गराएर हङकङ गएको निगम स्रोत बताउँछ ।

तर, निगमको पब्लिसिटी गर्ने भन्दै आफ्नो भ्रमण आफैंले स्वीकृत गरेर गएका अधिकारीले आफ्नो किताबको पब्लिसिटीमा एक साता हङकङमा बिताएको देखिन्छ ।

एक दिनको कार्यक्रमका लागि सात दिनको भ्रमण स्वीकृत गराएर हङकङ जानुको उद्देश्य अधिकारीले हालै प्रकाशन गरेको ‘युद्ध, युद्ध नै हुन्छ’ भन्ने कविता संग्रहको प्रवर्द्धन रहेको निगम स्रोत बताउँछ ।

इलाम समाज हङकङको आयोजनामा ३ अगस्ट (१८ साउन) मा अधिकारीको कविता संग्रह लोकार्पण गरिएको थियो । उनले केही समयअघि नै प्रकाशन गरेको यो कविता संग्रह नेपालमा यसअघि नै विमोचन समेत भइसकेको थियो ।

नेपाली समुदायको ठूलो उपस्थिति रहेको हङकङमा आफ्नो कविता संग्रह प्रचारप्रसार र बिक्री गर्ने उद्देश्यले अधिकारीले यो भ्रमण तय गरेको स्रोतले बतायो ।

‘हङकङमा मुख्य रूपमा आदिवासी जनजाति समुदायका नेपाली छन् । विगतका लाहुरेका परिवार त्यहाँ बसोबास गर्छ । त्यो समुदायलाई प्रभावित पार्नका लागि क्याप्टेन विजय लामालाई लिएर अधिकारी हङकङ गएका हुन्,’ एक विश्वस्त स्रोतले अनलाइनखबरसँग भन्यो ।

प्रवक्ता डाँगी भने त्यहाँ गएको बेला व्यक्तिगत केही काम पनि अध्यक्षले गरेको हुन सक्ने बताउँछन् । निगमका रिजर्भेसन म्यानेजर नवराज उपाध्याय पनि हङकङ भ्रमणमै छन् । तर, अध्यक्ष अधिकारीको टोलीमा भने उनी नरहेको प्रवक्ता डाँगीले बताए ।

व्यक्तिगत काममा निगमबाटै दैनिक २१ हजार भ्रमण भत्ता र सम्पूर्ण भ्रमण खर्च

हङकङमा १७ साउन एकदिन मात्रै निगमको कार्यक्रममा अधिकारी सहभागी भएका हुन् । बाँकी दिन उनले आफ्नो किताबको प्रचारप्रसार गरे, जसका लागि निगमका उच्च पदस्थलाई पनि उनले प्रयोग गरेका छन् ।

निगमका कार्यकारी अध्यक्षले हङकङ भ्रमणमा जाँदा दैनिक १ सय ५५ अमेरिकी डलर भ्रमण भत्ता तथा स्थानीय सवारी खर्च पाउँछन् । यस हिसाबले उनले दैनिक निगमबाट २१ हजार रुपैयाँभन्दा बढी भ्रमण खर्चबापत मात्रै पाउँछन् । त्यसबाहेक भ्रमण क्रममा आउने होटल, टेलिफोन लगायत सम्पूर्ण खर्च निगमले नै बेहोर्छ ।

७ दिन हङकङ बस्दा कार्यकारी अध्यक्ष अधिकारीले करिब डेढ लाख रुपैयाँ भ्रमण भत्ता बुझ्छन् । क्याप्टेन लामाले दैनिक भ्रमण भत्ताबापत १ सय ५५ डलर पाउने निगम स्रोत बताउँछ ।

त्यस्तै उनीसँग गएका विभागीय प्रमुखहरू टंकनिधि दाहालले दैनिक भ्रमण भत्ताबापत ८० डलर र स्थानीय यातायात बापत ३५ डलर पाउँछन् । उपाध्यायले भने १ सय ४० डलर दैनिक भत्ता प्रतिदिन पाउँछन् ।

यसरी अधिकारीको किताबको प्रवर्द्धन गर्ने प्रयोजनका लागि निगमका चार जना उच्चपदस्थले भ्रमण भत्ता, होटल लगायतमा निगमको लाखौं रुपैयाँ फुर्मास गरेका छन् ।

लेखक
जनार्दन बराल

आर्थिक पत्रकारितामा लामो समयदेखि कलम चलाइरहेका बराल अनलाइनखबरको आर्थिक ब्युरो प्रमुख हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?