+
+
Shares

भारत गएका खिलबहादुरको तस्करले मिर्गौला निकाले, उनले पत्तै पाएनन्

भारतमा मानव अंग तस्करीमा संलग्न गिरोहले सिन्धुलीका खिलबहादुर भुजेलको मिर्गौला निकालेर बेहोसी अवस्थामै बस चढाएर काठमाडौं पठाएको पाइएको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०८२ साउन २० गते २१:२८

२० साउन, काठमाडौं । भारतमा आकर्षक रोजगारीको प्रलोभन देखाएर लगिएका एक जना नेपालीको मानव तस्करीमा संलग्न गिरोहले मिर्गौला निकालिदिएको भेटिएको छ ।

सिन्धुलीको दुधौली नगरपालिका–१ स्थायी घर भएका खिलबहादुर भुजेलको भारतमा मिर्गौला निकालिएको पाइएको हो ।

अनलाइनखबरसँग सम्पर्कमा आएका भुजेलका अनुसार, डेढ महिनाअघिसम्म पोखरामा ज्याला मजदुरी गरिरहेका उनलाई भारतमा राम्रो होटलमा जागिरको अवसर रहेको भन्दै प्रलोभन देखाइएको थियो ।

‘सडकमा जाली लगाउने, पर्खाल बनाउने काम गरिरहेको थिएँ, त्यसबाट दैनिक १ हजार रुपैयाँ ज्याला आउँथ्यो,’ उनले अनलाइनखबरसँग भने, ‘इन्डियामा जाँदा राम्रो पैसा आउँछ भन्ने भए पछि गएको थिएँ ।’

त्यसअघि उनी कहिल्यै नेपालभन्दा बाहिर गएका थिएनन् । ‘खासमा अहिले पनि म त्यो ठाउँको नाम बताउन सक्दिनँ,’ उनले भने, ‘एक महिनाजति काम गरेपछि मैले घर जान्छु भनेको थिएँ ।’

पोखरामा भेटिएका एकजना भारतीय नागरिकले उनलाई होटलमा वेटरको काम लगाइदिने भनेका थिए । त्यही अनुसार, ती व्यक्ति, एकजना सवारी चालकसहित उनी भारत गएका थिए ।

तर, सीमापारी लगेर एउटा कार्यालयमा सरसामान मिलाउने, टेबल पुछ्ने, सफाइ गर्ने काम लगाइएको उनी बताउँछन् ।

घर जान्छु भनिरहेको थिएँ, एक्कासी काठमाडौंमा झरेँ । के भयो, कसरी आइपुगेँ केही थाहा पाइनँ – पीडित

‘मलाई तल झर्न दिन्थेनन्, माथिल्लो तलामा मात्र बस्नुपर्थ्यो । दाह्री पालेका मानिसहरू तल बस्थे,’ उनले सुनाए, ‘माथि दिनभर जस्तो यत्तिकै बस्थेँ, मलाई त्यो अप्ठ्यारो लागि रहेको थियो । झन् महिना बितेपछि पनि पैसा नदिँदा बस्नै मन लागेन ।’

तर, जब उनले घर फर्किन्छु भन्न थाले, अनौठो घटनाहरू भए । सुरुमा उनलाई केही समय काम गर्न भनियो । तारान्तर पठाइदिन भन्न थालेपछि चाहिँ उनी एकाएक बेहोस भए । उनलाई के खुवाएर बेहोस बनाइयो वा के गरियो केही याद छैन ।

तर, एक्कासी करिब १० दिनपछि उनी काठमाडौंको कलंकीमा आइपुगे । भारतबाट आउने गाडीमा काठमाडौं आइपुगेका उनले कम्मरमा अनौठो किमिसको दुखाइ महसुस गरे ।

‘घर जान्छु भनिरहेको थिएँ, एक्कासी काठमाडौंमा झरेँ । के भयो, कसरी आइपुगेँ केही थाहा पाइनँ,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि काठमाडौंमा एकजना आफन्त हुनुहुन्थ्यो, उहाँलाई भेट्न गएँ ।’

त्यसबेला उनीसँग सिन्धुलीमा रहेको घर जानलाई समेत पैसा थिएन । काठमाडौंमा एकदिन आफन्त कहाँ बसेर चार दिनअघि सिन्धुली पुगेका थिए । ‘घर जाने भाडा पनि आफन्तसँग सापटी मागेको थिएँ,’ उनले भने ।

‘अस्पताल पुग्दा थाहा भयो मिर्गौला छैन’

घर फर्किएपछि उनले परिवारका सदस्यलाई आफूलाई दुखाइ भइरहेकोबारे सुनाए । साथमा देब्रेतर्फ लगाइएको टाँकाबारे सुनाए । ‘त्यसपछि अनौठो लाग्यो, केही समय त्यत्तिकै बस्यौं,’ उनकी भाउजु सीता माझी भन्छिन्, ‘एकदमै दुखेपछि अस्पताल लगेका थियौं ।’

नजिकै रहेको दकाहामा समिट माउन्ट अस्पताल खुलेको थियो । त्यही गएर उनीहरूले डा. नवीन बयरलाई देखाए । ‘बिरामी आउने वित्तिकै मलाई शंका लागेको थियो, जसरी टाँका लगाइएको थियो, त्यहाँ किड्नी भएको भए त्यसरी काट्नुपर्ने कारण नै थिएन’, उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि सिधै एक्स–रे गर्न पठाएँ ।’

पीडितसँग सम्पर्क गरेर बुझ्ने प्रयास गरेका छौं, जाहेरी आइनसके पनि बुझ्ने काम थालिएको छ – कृष्ण पंगेनी, एसएसपी, मानवबेचबिखन अनुसन्धान ब्यूरो

भिडियो एक्स–रे गरेर हेर्दा आफ्नो शंका सही सावित भएको उनी बताउँछन् । ‘एक्सरे रिपोर्ट हेर्दा मैले उनको देब्रे पट्टीको किड्डी नै पाइनँ, दाहिनेतिरको चाहिँ दुरुस्तै थियो,’ उनले सुनाए, ‘त्यसपछि मैले उहाँहरुलाई पनि जानकारी गराएँ । स्थानीय प्रहरी युनिटलाई पनि खबर गरेँ ।’

डा. नवीनका अनुसार, खिलबहादुरले अस्पताल आउँदा १० दिनसम्म के भयो भन्ने आफूलाई केही थाहा नभएको जिकिर गरेका थिए ।

‘उहाँले पोखराबाट कता–कता हुँदै भारतको कुन ठाउँ पुगे थाहा नभएको बताउनुभयो,’ उनले थपे, ‘अस्पताल ल्याउँदा पनि उहाँ एक किसिमले बेहोसी अवस्थामै हुनुहुन्थ्यो । त्यसैले मैले दुखाइ कम गर्ने पेनकिलर, एन्टिबायोटिक लगायतका औषधि दिएँ ।’

उनका अनुसार, खिलबहादुरको देब्रे किड्नी भएको ठाउँमा दुईपटक टाँका लगाएको देखिएको छ । ‘मैले ड्रेसिङ गरिदिनलाई खोलेर हेरेको थिएँ, त्यसक्रममा २० वटा स्टेप्लर लगाइएको टाँका देखेँ,’ डा. नविनले थपे, ‘त्यो सबै हेरेपछि मैले अझै एकदिन अब्जर्भेसनमा बस्न भनेको थिएँ । तर, उहाँहरूले घर जाने भन्नुभयो ।’ त्यसपछि औषधि लेखिदिएर पठाएको उनी बताउँछन् ।

मानवबेचबिखन ब्यूरोले अनुसन्धान अघि बढाउने

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदी चाहिँ सिन्धुलीमा एउटा मिर्गौला निकालिएको व्यक्ति आएको भन्दै हल्लीखल्ली भएपछि आफूहरूले चासो देखाएको बताउँछन् ।

‘गाउँमा मान्छे आएको भन्ने भएपछि टोली पठाएर प्रारम्भिक हिसाबको केही सोधपुछ गर्‍यौं, उहाँलाई किड्नी निकालिएको विषयमा धेरै जानकारी रहेनछ,’ उनले अनलाइनखबरसँग भने, ‘बेहोस बनाएर पठाए भन्ने खुलेको छ, पीडित र भारत जोडिएको छ । त्यसैले यसमा विस्तृत अनुसन्धान गर्नेपर्ने स्थिति छ ।’

अन्तरदेशीय विषय जोडिएपछि क्षेत्राधिकारको कुरा समेत आउने भन्दै उनी भन्छन्, ‘हामीले थप अनुसन्धानका लागि यो केश काठमाडौंस्थित मानवबेचिबखन ब्यूरोतिर फर्वाड गरिदिएका छौं ।’

यो मामिलामा ब्यूरोबाट प्रभावकारी अनुसन्धान हुने भएकाले त्यहाँबाट अघि बढ्न परिवारलाई पनि सुझाइएको उनी बताउँछन् ।

ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्ण पंगेनीले पनि सिन्धुलीको घटनाबारे जाँचबुझ गर्ने कार्य थालिसकिएको बताए ।

‘हामीले पीडितसँग सम्पर्क गरेर बुझ्ने प्रयास गरेका छौं, जाहेरी आइनसके पनि बुझ्ने काम थालिएको छ,’ उनले भने, ‘विगतमा पनि ब्यूरोले यस्तो घटनामा अनुसन्धान गरेको छ, यसमा गम्भीरतापूर्वक जाँच हुन्छ ।’

ब्यूरोले २०८१ भदौमा नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला तस्करी गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गरेको । त्यसमा उनीहरुले आर्थिक अवस्था कमजोर भएका एक व्यक्तिलाई कोलकाता पुर्‍याएर मिर्गौला झिकेको पाइएको थियो ।

त्यसबेला पीडितलाई उनीहरुले १० लाख रुपैयाँको प्रलोभन देखाएको पाइएको थियो । ‘एउटा मिर्गौला निकाल्दा अर्कोले समेत काम गर्ने हुँदा केही हुँदैन भन्दै निकालिएको पाइन्छ,’ ब्यूरोका एक अनुसन्धान अधिकृत भन्छन् ।

२०७६ सालको साउनमा मिर्गौला निकाल्न खोजिएको अवस्थामा काठमाडौं प्रहरीले काभ्रेको बाङ्थलीका एक युवालाई उद्दार गरेको थियो । त्यसमा पनि प्रहरीकै सईसहित केही व्यक्तिहरू पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा पीडितलाई बाइक किनिदिन्छु भन्दै प्रलोभन देखाएर भारतसम्म लैजान लागिएको खुलेको थियो । यो घटनाका प्रहरीका एकजना पूर्वहवल्दार पनि जोडिएका थिए, जसको दिदी मिर्गौला रोगबाट पीडित भएको खुलेको थियो ।

मानवबेचबिखन अनुसन्धान ब्यूरोले निदार अस्पतालमा नक्कली भाञ्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको घटनामा पनि अनुसन्धान गरेको थियो ।

मानव अंग तस्करीमा संलग्नविरुद्ध मानवबेचबिखन तथा ओसपसार नियन्त्रण ऐन, २०६४ अनुसार, मानिसको कुनै अंग झिक्नेलाई १० वर्षसम्म कैद र २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था छ ।

लेखक
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?