
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयकबारे विषय विज्ञ तथा सम्पादकहरूसँग अन्तरक्रिया गरेको छ।
- कार्यक्रममा सहभागीहरूले विधेयक नियन्त्रणमुखी नभई संयोजनकारी संयन्त्र बन्नुपर्नेमा जोड दिएका छन्।
- सोसाइटीले विधेयकमा आवश्यक संशोधनको माग गर्दै सरकार समक्ष औपचारिक धारणा पेश गर्ने तयारी गरेको छ।
२१ साउन, काठमाडौं । नेपाल मिडिया सोसाइटीले प्रस्तावित मिडिया काउन्सिल विधेयकबारे विषय विज्ञ तथा सम्पादकहरूसँग अन्तरक्रिया गरेको छ ।
सोसाइटीका अध्यक्ष मदन लम्सालको अध्यक्षता र उपाध्यक्ष धर्मराज भुसालको संयोजनमा बुधबार काठमाडौंमा भएको कार्यक्रममा वक्ताहरूले यथास्थितिमा विधेयक जारी गर्नु नहुनेमा जोड दिएका छन् ।
काउन्सिल नियन्त्रणमुखी नभई मिडिया सञ्चालक, श्रमजीवी पत्रकार तथा सरोकारवालाहरूबीचको उच्चस्तरीय संयोजनकारी संयन्त्र बन्नुपर्नेमा उनीहरूको जोड छ ।
कार्यक्रममा सहभागी विज्ञ, सम्पादक तथा मिडिया सञ्चालकहरूले प्रस्तावित मिडिया काउन्सिल विधेयकले मिडियाको समग्र हित र गरिमा बढाउनेभन्दा पनि नियन्त्रणमुखी चरित्र देखाएको भन्दै आलोचना गरेका सोसाइटीका महासचिव बोधराज त्रिपाठीले जानकारी दिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष राजेन्द्र दाहाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षद्वय तारानाथ दाहाल र शिव गाउले, महासंघका महासचिव रामप्रसाद दाहाल, वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, अधिवक्ता रमण कर्ण र कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले विधेयकका विविध पक्षबारे धारणा राखेका थिए ।
त्यस्तै, सोसाइटीका उपाध्यक्ष महेश स्वाँर, सचिव नवराज कुँवर, कोषाध्यक्ष डा. जनकराज पन्त तथा दैनिक पत्र राष्ट्रिय दैनिकका प्रधान सम्पादक डा. बालकृष्ण चापागाईंलगायतको पनि कार्यक्रममा उपस्थिति थियो ।
महासचिव त्रिपाठीका अनुसार, सोसाइटीले सरोकारवालाहरूसँग थप परामर्श गर्दै विधेयकमा आवश्यक संशोधनको माग गर्न सरकार समक्ष औपचारिक धारणा पेश गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया 4