
News Summary
Generated by OK AI. Editorially reviewed.- लिबर्टी इनर्जीको आज ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ, जुन सबैभन्दा बढी हो।
- कम्पनीको सेयर मूल्य आज ५.७२ प्रतिशतले बढेर २५४ रुपैयाँ १७ पैसा पुगेको छ।
- नासा सेक्युरिटिजमार्फत सबैभन्दा धेरै २ लाख ५२ हजार २४३ कित्ता सेयर खरिद भएको छ।
२२ साउन, काठमाडौं । आज बिहीबार सबैभन्दा धेरै रकमको सेयर कारोबार भएको कम्पनी हो– लिबर्टी इनर्जी ।
कम्पनीको कुल ३९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो । विगतमा धेरै कारोबार हुँदै आएका चर्चित कम्पनीलाई लिबर्टीले आज पछाडि पार्यो । अहिलेसम्म मूल्यलाई प्रभाव पार्ने लिबर्टीको कुनै नयाँ सूचना बाहिर सार्वजनिक भएको छैन ।
आज कम्पनीको कारोबार धेरै भएको मात्रै छैन, मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा आज यस कम्पनीको मूल्य ५.७२ प्रतिशत बढेको छ । हाइड्रोपावरमध्ये तुलनात्मक रुपमा कम्पनीको मूल्य सस्तो छ ।
आजको वृद्धिपछि यसको मूल्य २५४ रुपैयाँ १७ पैसा छ । कम्पनीको आजको यो मूल्य गत वर्षको भदाै २ यताकै उच्च हो ।
पछिल्लो समय हाइड्रोपावर कम्पनीहरुले धमाधम गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै आएका छन् । कम्पनीको वित्तीय विवरण राम्रो आउने अनुमानले खरिदबिक्री बढेको हुन सक्ने ब्रोकर सञ्चालक बताउँछन् । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी २ करोड ४५ लाख रुपैयाँ नोक्सानीमा छ ।
‘कारोबारीले आफ्नै हातबाट आफैले अनलाइन प्रणाली टीएमएसबाट कारोबार गर्ने हुन्, त्यसकारण कारोबार बढी हुनुमा ब्रोकरको कुनै भूमिका रहँदैन’ एक ब्रोकर सञ्चालकले भने ।
आज यस कम्पनीको सेयर सबैभन्दा धेरै नासा सेक्युरिटिज (५८)मार्फत खरिद भएको छ । सो ब्रोकर कम्पनीमार्फत कम्पनीको २ लाख ५२ हजार २४३ कित्ता सेयर खरिद भएको छ ।
धेरै बिक्री पनि नासाबाटै भएको छ । १ लाख ४९ हजार ४९२ कित्ता सेयर बिक्री भएको छ । लिबर्टीको सेयर खरिद धेरै भएका अरु ब्रोकर कम्पनीमा एबीसी (१७) बाट १ लाख ११ हजार ४९३ कित्ता तथा दिपशिखा (३८) बाट ६९ हजार ८१० र डायनामिक (४४) बाट ६९ हजार २० कित्ता भएको छ ।
बिक्रीतर्फ नासापछि (आकाश भैरब) ८१ बाट ९५ हजार १२६ कित्ता, इम्पेरियल (४५) बाट ८२ हजार १८३ तथा लिन्च (४१) बाट ६१ हजार ७७० कित्ता बिक्री भएको छ ।
प्रतिक्रिया 4