+
+
Shares

म्युचुअल फन्डका १७ योजनाको लाभांश घोषणा, २० प्रतिशतसम्म प्रतिफल

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते ९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आर्थिक वर्ष २०८१/८२ सकिनासाथ १६ म्युचुअल फन्ड योजनाले इकाइधनीलाई २० प्रतिशतसम्म लाभांश घोषणा गरेका छन्।
  • लक्ष्मी उन्नति कोषले २० र सनराइज ब्लुचिपले १९ प्रतिशत लाभांश घोषणा गरेका छन् र बजार मूल्य अंकित मूल्यभन्दा बढी छ।
  • नेपालमा खुलामुखी र बन्दमुखी गरी ४८ म्युचुअल फन्ड योजना सञ्चालनमा छन् र खुलामुखी योजना निश्चित एजेन्टबाट मात्र खरिद गर्न सकिन्छ।

२३ साउन, काठमाडौं । आर्थिक वर्ष २०८१/८२ सकिनेवित्तिकै म्युचुअल फन्डले लाभांश घोषणा गरिरहेका छन् । अहिलेसम्म १७ योजनाले इकाइधनीलाई लाभांश घोषणा गरेका छन् । घोषित लाभांश २० प्रतिशतसम्म छ ।

म्युचुअल फन्डको अंकित मूल्य प्रतिइकाइ १० रुपैयाँ हो । सोही १० का आधारमा इकाइधनीले लाभांश पाउँछन् । कुनै योजनाले २० प्रतिशत लाभांश घोषणा गरेको छ भने उसले दिने लाभांश १० को प्रतिइकाइ २ रुपैयाँ हुन्छ ।

१९/२० प्रतिशत लाभांश घोषणा गरेका योजनाको मूल्य बजारमा प्रतिइकाइ साढे ११ रुपैयाँ हाराहारी छ । खुद सम्पत्ति मूल्य (नेट एसेट्स भ्यालु) का आधारमा यी योजना १५/२० प्रतिशत छुटमा पाइने गरेको छ । एकातिर ठूलो दरको छुट मूल्य, अर्कोतिर नगद लाभांश हुँदा म्युचुअल फन्डको लाभांश पनि उल्लेख्य छ ।

थोरै लाभांश दिएका योजनाको बजार मूल्य अंकित मूल्यभन्दा पनि कम छ । अंकित मूल्य १० मा जारी भएका र अहिले ५/७ प्रतिशत लाभांश घोषणा गरेका इकाइको मूल्य साढे ९ देखि १० रुपैयाँसम्म छ ।

खुलामुखी र बन्दमुखी गरी नेपालमा दुई किसिमका म्युचुअल फन्ड सञ्चालनमा छन् । बुक क्लोज भइनसकेका बन्दमुखी योजना दोस्रो बजारबाट खरिद गरेर लाभांश प्राप्त गर्न सकिन्छ ।

म्युचुअल फण्डका विभिन्न नाममा ३८ बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत छन् । यीबाहेक १० वटा खुलामुखी योजना सञ्चालनमा छन् । खुलामुखी योजना निश्चित एजेन्ट (तोकिएका बैंक तथा वित्तीय संस्थाका शाखा)बाट मात्रै कारोबार गर्न मिल्छ । दोस्रो बजारमा खुलामुखी योजना खरिदबिक्री हुँदैन ।

खुलामुखी योजना खरिदबिक्री गर्दा नेट एसेट्स भ्यालु (एनएभी)मै हुन्छ । यिनै योजना एसआईपी (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) भुक्तानी प्रक्रियाबाट पनि खरिद गर्न सकिन्छ । एसआईपीअन्तर्गत हरेक महिना वा त्रैमासिक रुपमा निश्चित रकम भुक्तानी गर्दा योजनाका युनिट हितग्राही खातामा जम्मा गर्दै लगिन्छ ।

हाल अंकित मूल्यकै हाराहारीमा म्युचुअल फन्ड किनेर २० प्रतिशतसम्म प्रतिफल पाउने अवसर आएको छ । लक्ष्मी उन्नति कोषले २० तथा सनराइज ब्लुचिपले १९ प्रतिशत लाभांश घोषणा गरेका छन् । लक्ष्मी उन्नति कोषको बजार मूल्य प्रतिइकाइ ११ रुपैयाँ ५८ पैसा छ भने सनराइज ब्लुचिपको मूल्य ११ रुपैयाँ ४५ पैसा छ ।

यीसहितका बुक क्लोज नभएका योजनाको लगानीमा तत्कालै लाभांश पाइनेछ । अंकितभन्दा कम मूल्यमै कारोबार भएका योजनाले समेत लाभांश दिँदैछन् ।

सेयर बजारले बढ्दो लय लिँदा म्युचुअल फन्डको लाभांश पनि बढी हुने गरेको इतिहास छ । म्युचुअल फन्डले संकलन गरेको रकमबाट अधिकांश सेयर बजारमै लगानी तथा कारोबार गर्ने भएकाले बजारले बढ्दो गति लिँदा म्युचुअल फन्डको लाभांश बढी हुने गरेको हो ।

म्युचुअल फन्डमा आम सर्वसाधारणलाई लगानी गर्न सजिलो हुन्छ । सेयर बजारबारे धेरै जानकारी नभएकाले पनि यसमा लगानी गरी पर्याप्त लाभ लिन सक्छन् । किनकि म्युचुअल फन्ड सञ्चालन गर्ने योजना व्यवस्थापक कोषमा रहेका आर्थिक विशेषज्ञ, लेखा परीक्षक, आधारभूत तथा प्राविधिक विशेषज्ञहरूले लगानी तथा कारोबारको निर्णय गर्छन् ।

त्यसैले लगानीकर्ताले सेयर बजारबारे ध्यान दिनै पर्दैन, लगानीकर्ताका अन्य व्यवसाय वा रोजगारीलाई दिनुपर्ने समय पनि खेर जाँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?