+
+
Shares

गीत मार्फत पीडा र आक्रोश पोख्दै कोशीका सांसदहरू

पुरुषलाई ‘कान्छी उपहार’ दिने गरी कानुन संशोधन गर्न खोजेको विरोधमा संघीय सरकारले गति छोडेको भन्दै नेकपा एकीकृत सामाजवादी पार्टीकी प्रमुख सचेतक विद्या चाम्लिङ राईले गीत मार्फत प्रश्न गरेकी छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ साउन २३ गते १७:३५
बायाँबाट क्रमशः विद्या चाम्लिङ, गोम्बु शेर्पमा र सदानन्द मण्डल ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कोशी प्रदेश सभाका सांसदहरूले अभिव्यक्तिको माध्यम गीतलाई रोज्दै साउन महिनामा तीन पटक गीतमार्फत आफ्नो विचार राखेका छन्।
  • नेकपा एकीकृत समाजवादीकी विद्या चाम्लिङ राईले बहुविवाह सम्बन्धी संघीय सरकारको तयारीप्रति व्यङ्ग्य गर्दै गीतमार्फत प्रश्न उठाएकी छन्।
  • माओवादी केन्द्रका सांसद गोम्बु शेर्पाले भ्रष्टाचार र अन्य समस्यामा गहिरो पीडा व्यक्त गर्दै सदनमा गीत गाएका छन् र त्यो सन्देश संघीय सरकारसम्म पुगेको बताएका छन्।

२३ साउन, विराटनगर । अभिव्यक्तिका विभिन्न माध्यमहरूमध्ये शसक्त माध्यम मानिन्छ गीत संगीतलाई ।

भूमिगतकालीन समयमा राजनीतिक दलहरूले जब केही कुरा स्पष्ट र सीधासीधा भन्न सक्दैनथे गीत गाएरै राज्यलाई खबरदारी गर्थे ।

मनोरञ्जन दिँदै जनतालाई जागरूक बनाउन पर्‍यो भने पनि नेताहरू गीतलाई नै माध्यम बनाउथे । आन्दोलनहरूदेखि चुनावी मोर्चासम्म राजनीतिक दल र नेताहरूले गीत गाएरै जनतालाई जुरूक्कै उचालेका पनि छन् भोट मागेका पनि छन् ।

तर अहिले समय यस्तो छ, आफूलाई चित्त बुझेन भने समाज सीधै गालीगलौजमा उत्रिन्छ ।

यस्तो दृष्य संसदभित्र पनि देखिन्छ बाहिर पनि । कोशी प्रदेश सभा भने यो मामिलामा अपवाद देखिएको छ । पछिल्लो समय कोशी प्रदेश सभाका सदस्यहरूले अभिव्यक्तिको माध्यम गीतलाई बनाएका छन् ।

प्रदेश सभा बैठकमा आफ्नो कुरा राख्नका लागि सांसदले गीतलाई माध्ययम बनाएका हुन् । साउनमै ३ जना सांसदले गीत मार्फत आफ्नो अभिव्यक्ति राखेका छन् ।

शुक्रबारको प्रदेश सभा बैठकमा नेकपा एकीकृत सामाजवादी पार्टीकी प्रमुख सचेतक विद्या चाम्लिङ राईले बहुविवाह सम्बन्धी संशोधन गर्न संघीय सरकारले गरेको तयारीप्रति व्यङ्ग्य गर्दै गीत सुनाइन् ।

पुरुषलाई ‘कान्छी उपहार’ दिनेगरी कानुन संशोधन गर्न खोजेको विरोधमा उनले संघीय सरकारले गति छोडेको भन्दै गीत मार्फत प्रश्न गरिन् ।

‘……कस्तो हो यो जनताको सरकार ?

भ्रष्टलाई छपक्कै लुकाउने,

विकृतिलाई विधेयक बनाइ देखाउने

कस्तो हो यो जनताको सरकार ?’

यो गीत गाउनुअघि उनले भनेकी थिइन्, ‘म कलाकार त होइन तर भित्रको पीडा पोख्नका लागि यहाँ गीत गाउँछु ।’ उनको भनाइबाट पनि पुष्टि हुन्छ सांसदहरुले आफ्ना कुरामा सभाको ध्यानाकर्षण गराउन गीतको माध्यम रोजिरहेका हुन् ।

चाम्लिङले  पीडा भएका कारण गीत मार्फत व्यक्त गरेको बताइन् । ‘सरकारलाई दुख्ला तर जुन औलामा विष पर्छु त्यो औला खस्छ,’ गीत गाउँदा उनले भनिन्,‘ म कलाकार त होइन तर अति भित्रको पीडा पोख्न गीत सुनाउँदैछु ।’

संसद्‍मा आफ्नो भनाइ राख्दा गीतलाई माध्यम बनाउनेमा अगाडि छन् माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा । प्रदेशसभा बैठकमा गीत गाएकै कारण उनी पटक-पटक चर्चामा आइरहेका छन् ।

१३ साउनको प्रदेश सभा बैठकमा शेर्पाले ‘नालीमै मुख गाड्छौ किन हो सरकार ? घुसखोरी, भ्रष्टाचार गर्‍यौ अत्याचार, कता हिँडेको बिजुली मारेर, कुलमान फालेर, भ्रष्ट पालेर, दलाल पालेर तिमी भ्रष्ट बनेर, तिमी दलाल बनेर जनता अन्धकारमा, सरकार भ्रष्टाचारमा’ भन्दै गीत गाएका थिए ।

सांसद शेर्पा गहिरो गरी पीडा भएका विषयलाई गीत मार्फत सदनमा राख्ने गरेको बताउँछन् । यसरी राखेका विषय संघीय सरकारसम्म पुगेको उनको अनुभव छ । उनले सदनमा गाएका दुई वटा गीत भाइरल पनि भएका थिए । ‘म कलाकार त होइन, तर आफूलाई गहिरोगरी अनुभूति भएको विषयमा गाउने हो, गहिरो पीडा र असन्तुष्टि जुन विषयमा हुन्छ त्यो विषयमा गीत गाउन मन लाग्छ,’ उनले भने, ‘ भनेर नसुन्ने सरकारलाई गीतको माध्ययमबाट भन्दा फरक ढंगले मुटुमा घोच्ने हिसाबले पनि हो ।’

यसरी गाएको गीत सरकारसम्म पुगेको उनले बताए । ‘मैले गीत गाएर दिएको सन्देश प्रदेश सरकारसम्म त पुग्छ नै, संघीय सरकारसम्म पनि पुगेको छ विभिन्न माध्ययमबाट,’ उनले भने ।

११ साउनमा विशेष समय लिएर बोल्दा वन, पर्यटन तथा वातावरण सदानन्द मण्डलले पनि नवीन के भट्टराईले गाएको ‘खाँदै नखाएको विषले ज्युँदै मार्‍यो बोलको गीत गाएका थिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?