+
+
Shares

मोबाइलले यसरी भंग गरिरहेको छ हाम्रो एकाग्रता र शान्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते १८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिजिटल युगमा मोबाइलले हाम्रो ध्यान, धैर्य र मानसिक स्थिरतालाई कमजोर बनाउँदैछ।
  • सामाजिक सञ्जालले निरन्तर सूचना दिँदा दिमाग सतही जानकारीमा अड्किन्छ र ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ।
  • कलामा समय बिताउँदा ध्यान स्थिर हुन्छ र दिमागलाई नकारात्मकताबाट टाढा लैजान मद्दत गर्छ।

बसमा यात्रा गर्दा, खाली समयमा वा टिभी हेर्दा प्रत्येक दोस्रो व्यक्ति मोबाइलमा व्यस्त देखिन्छ । उनीहरूका औंलाले सामाजिक सञ्जाललाई निरन्तर स्क्रोल गरिरहन्छन् ।

यसले के देखाउँछ भने अहिलेको डिजिटल युगमा, मोबाइल हाम्रो जीवनको अभिन्न अंग बनेको छ, जसले एकातिर हामीलाई संसारसँग जोडेर राख्छ, भने अर्कोतर्फ हाम्रो ध्यान, धैर्य र मानसिक स्थिरतालाई

बिस्तारै कमजोर बनाउँदैछ ।

ध्यानलाई मानिसको सबैभन्दा ठूलो शक्ति मानिन्छ । पूर्ण ध्यान अर्थात् ध्यान केन्द्रित गरेर काम गर्ने व्यक्तिले कुनै पनि क्षेत्रमा सफलता हासिल गर्न सक्छ । तर, मोबाइल र सामाजिक सञ्जालको बानीले ध्यानको यो शक्तिलाई बिस्तारै कमजोर बनाउँदैछ ।

हो, मोबाइल संसारले हामीलाई तत्काल सुविधा दिएको छ, तर बदलामा यसले हाम्रो ध्यान, धैर्य, मानसिक स्थिरता र क्षमतामा गहिरो असर पारेको छ । त्यसैले, हामीले यो डिजिटल बानीलाई बुझ्नु आवश्यक छ । आफ्नो संसारलाई स्क्रिनमा चलिरहेको संसारसँग यति हदसम्म नजोड्नुहोस् कि त्यहीँ तपाईंको संसार बनोस् ।

मोबाइलले कसरी ध्यान भड्काइरहेको छ ?

वास्तवमा, हरेक क्षण सामाजिक सञ्जालमा केही न केही नयाँ सामग्री आइरहन्छन् । सूचना आएर सूचित हुनु राम्रो कुरा हो ।

तर, सूचना हर सेकेन्डमा निरन्तर बाढी जसरी ओइरो लाग्दा हाम्रो दिमाग सतही जानकारीमा अड्किन्छ र गहिरो रूपमा सोच्न वा एक ठाउँमा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ ।

अर्को कारण भनेको सामाजिक सञ्जालमा हामी केही सेकेन्डमा एउटा पोस्टबाट अर्को पोस्टमा जान्छौं । यो बानीले दिमागलाई बिस्तारै लामो समयसम्म एउटै काममा ध्यान केन्द्रित गर्नबाट रोक्छ ।

त्यति मात्र होइन, अहिले एउटा रिल वा भिडियो समेत लामो समयसम्म हेर्ने धैर्य हामीसँग छैन । एउटा हेर्दाहेर्दै हामी यसलाई बीचमा छाडेर अर्को भिडियोमा जान्छौं । फलस्वरूप, लामो समयसम्म कुनै पनि काममा ध्यान केन्द्रित गर्न गाह्रो हुँदै गइरहेको छ । यसले विचार र बानीहरू पनि प्रभावित हुन्छन् ।

१. निर्णय लिन नसक्ने

सामाजिक सञ्जालमा धेरै विकल्पहरू बीच दिमाग अलमल्लमा पर्छ । र, थकित महसुस गर्न थाल्छ । जसकारणले निर्णय लिने क्षमता प्रभावित हुँदै गइरहेको छ । जीवनमा महत्त्वपूर्ण निर्णय लिनुपर्दा, हाम्रो दिमाग गहिरो रूपमा सोच्न असमर्थ हुन्छ ।

२. रचनात्मकताबाट टाढा हुँदै

मोबाइलको दुनियाँमा अल्झिएर, मानिसहरू बिस्तारै चित्रकला, लेखन वा संगीत जस्ता आफ्ना रचनात्मक गतिविधिहरूबाट टाढा हुँदै गइरहेका छन् । पढ्ने रुचि पनि घट्न थालेको छ । एकातिर किताब र अर्कोतिर मोबाइल हुँदा धेरैजसो मानिसहरू मोबाइल उठाउन रुचाउँछन् ।

३. मल्टिटास्किङ गर्ने बानी

एकै पटकमा धेरै एपहरूमा चाहार्दा मानिसलाई एकैसाथ धेरै काम गर्न सकिन्छ भन्ने भ्रम हुन्छ । जबकि, वास्तविकतामा, तिनीहरू आफ्नो पूर्ण क्षमतामा एउटा काम पनि गर्न सक्षम हुँदैनन् ।

कलासँग जोडिएर तपाईं सुधार गर्न सक्नुहुन्छ

जब दिमागलाई केही रचनात्मक काम दिइन्छ, यो बिस्तारै मोबाइल र सामाजिक सञ्जालको बानीबाट टाढा हुन थाल्छ । कला यस दिशामा प्रभावकारी माध्यम बन्न सक्छ । चित्रकला, संगीत, नृत्य, लेखन जस्ता कलाका विभिन्न रूपहरूले एकाग्रता बढाउने मात्र होइन, दिमागलाई शान्ति र आनन्द दिन्छ ।

कलाले कसरी मद्दत गर्छ ?

– कलामा व्यस्त हुनेबित्तिकै व्यक्तिको ध्यान स्थ‍िर हुन्छ । त्यही गतिमा जाँदा ध्यान भड्किँदैन ।

– जब हामी आफैंले केही सिर्जना गर्छौं, चाहे त्यो चित्रकला होस्, कविता होस् वा हस्तकला, हामी आत्म–सन्तुष्टिको भावना महसुस गर्छौं ।

– रचनात्मक प्रक्रियाले दिमागलाई नकारात्मकताबाट टाढा लैजान्छ । यसले खाली समयलाई स्क्रोल गर्नुकोसट्टा सिर्जनामा परिणत गर्छ ।

– चित्रकलामा लाग्न सके रङहरूसँग खेल्दा दिमाग स्थिर र एकाग्र हुन्छ ।

– शास्त्रीय नृत्य÷संगीतमा लाग्ने हो भने अनुशासन र गहिरो ध्यान गर्ने बानी बसाल्छ ।

– हातले गर्ने केही काम सिलाई, बुनाई र हस्त कला गर्ने हो भने दिमागका विभिन्न भागहरू जागृत हुन्छन् । मोबाइल फोनको आवश्यकता पर्दैन । हरेक दिन कम्तीमा ३०
मिनेट कलामा समर्पित गर्ने प्रयास गर्नुपर्छ ।

– चेस, लुडो, पजल, क्रसवर्ड लगायत जस्ता बोर्ड गेमहरूले मनोरञ्जन मात्र दिँदैनन् तर दिमागको गति र एकाग्रता पनि बढाउँछन् । बाहिरी खेलहरू पनि खेल्न सकिन्छ ।

– किताबहरू पढ्नाले दिमागलाई स्थिरता, कल्पनाशक्ति र गहिरो सोचको शक्ति दिन्छ । हरेक दिन कम्तिमा २०–३० मिनेट किताबहरू पढ्ने बानी बसाल्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?