
News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरमा प्रहरीले मदिरा तस्करी रोक्न खोज्दा स्थानीयसँग विवाद हुँदा गोली चलाएर लालु यादवको ज्यान गएको छ।
- घटनामा प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको र भारततर्फ मदिरा तस्करीको सूचना पाएपछि पुगेको डीएसपी जितेन्द्र बस्नेतले दाबी गरेका छन्।
- मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयबाट टोली खटाएर घटनाको स्थलगत अनुगमन र छानबिन सुरु गरिएको छ र इन्स्पेक्टर वीरेन्द्र यादवलाई जिम्मेवारीबाट हटाइएको छ।
२३ साउन, काठमाडौं । प्रहरीको गोली लागेर सप्तरीमा एक युवाको ज्यान जानुअघिको अवस्था सामान्य रहेको देखिएको छ ।
मदिरा तस्करी रोक्न भन्दै पुगेको प्रहरीसँग स्थानीयले बिना हातहतियार वादविवाद गरेको पाइएको छ । सामान्य विवाद भएको देखिने भिडिओ अनलाइनखबरले प्राप्त गरेको छ ।
अनलाइनखबरलाई प्राप्त ३७ सेकेन्ड लामो भिडिओमा इन्स्पेक्टर वीरेन्द्र यादको टोली र केही स्थानीय देखिन्छन् । जहाँ स्थानीयले इन्स्पेक्टर वीरेन्द्र यादवको निरन्तर नाम लिएको सुनिन्छ ।
इन्स्पेक्टर यादवले केही समय पहिला २ लाख रुपैयाँ घुस मागेको गम्भीर आरोपसमेत स्थानीयले लगाएको भिडिओमा सुनिन्छ । त्यसपछि एक युवालाई धकेल्दै गाडीमा हाल्न खोजेजस्तो देखिन्छ । स्थानीयले भने ती युवालाई प्रहरीबाट तानेको देखिन्छ ।
यो गोली चल्नुभन्दा केही समयअघिको भिडिओ रहेको बताइएको छ । यो विवाद विस्तारै बढ्दै गएपछि प्रहरीले गोली चलाएको थियो । सो क्रममा नेपाल-भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरका ३५ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर ज्यान गयो ।
यो घटनामा प्रहरीले अनावश्यक रूपमा गोली चलाएर लालुको हत्या गरेको राजगढ-२ का वडाध्यक्ष जितेन्द्रकुमार यादवले बताएका छन् । उनका अनुसार अहिले गोली चलेको भनिएको ठाउँमा सशस्त्र र प्रहरीको चौकी पनि छ । स्थानीय प्रहरीकै मिलेमतो र संरक्षणमा मदिराको उत्पादन र बिक्री वितरण हुने गरेको आरोप वडाध्यक्ष जितेन्द्रको छ ।
मंगलबार राति भने स्थानीय प्रहरीलाई समेत जानकारी नदिई जिल्लाबाट इन्स्पेक्टर वीरेन्द्रकुमार यादवको कमान्डमा १० जनाको टोली पुगेर मदिरा नियन्त्रण गर्न थालेपछि विवाद सुरु भएको बताइन्छ । सोही विवादको क्रममा प्रहरीले गोली चलाउँदा लालुको ज्यान गएको हो ।
यो घटनाको स्थलगत अनुगमन र छानबिन गर्न भन्दै शुक्रबार मानव अधिकार आयोगको मधेश प्रदेश कार्यालयबाट टोलीसमेत खटिएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी जितेन्द्र बस्नेतले भने प्रहरीले आत्मरक्षाका लागि गोली चलाउनु परेको दाबी गर्दै आएका छन् ।
भारततर्फ मदिरा तस्करी हुन लागेको सूचना पाएपछि प्रहरी पुगेको पुगेपछि झडप भएको र स्थिति नियन्त्रणमा लिने क्रममा हवाई फायर गर्दा ज्यान गएको दाबी उनको छ ।
घटनाबारे बुधबार आन्दोलनमा उत्रिएका मृतकका आफन्त र प्रशासनबीच भने बिहीबार सहमति भएको छ । जहाँ घटनाको छानबिन गर्नेदेखि शव शदगद गर्नेसम्मको विषय समेटिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले बताए ।
घटनाअघिको सामान्य अवस्था रहेको देखिने भिडिओबारे भने आफू जानकार नभएको उनले बताए ।
मधेश प्रदेश प्रहरी कार्यालयका डीआईजी उमा चतुर्वेदीले इन्स्पेक्टरलाई उक्त ठाउँका जिम्मेवारीबाट हटाइएको पनि बताएका छन् । छानबिन समिति बन्ने सहमति भए पनि अहिलेसम्म समिति भने बनिसकेको छैन ।
प्रतिक्रिया 4