
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकमा सह–कोषाध्यक्ष दीपक बोहोरालाई सहमहामन्त्री बनाउने प्रस्ताव अकस्मात अघि सारिएपछि बैठक असहज बनेको छ।
- बैठकले विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
- सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान देशव्यापी बनाउने रास्वपाले निर्णय गरेको छ।
२३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा सह–कोषाध्यक्ष दीपक बोहोरालाई सहमहामन्त्री बनाउने प्रस्ताव अकस्मात् अघि सारिएपछि बैठकमै असहज स्थिति पैदा भएको छ । कार्यवाहक सभापति डीपी अर्यालले बैठकका लागि पूर्वनिर्धारित एजेण्डामै नभएको विषय अघि बढाउन महामन्त्री कविन्द्र बुर्लाकोटीलाई निर्देशन दिएपछि बैठक असहज बनेको हो । यसअघि सुमना श्रेष्ठले राजीनामा दिएकाले उक्त पद खाली छ । रिक्त पदमा हाल थुनामा रहेका सभापति रवि लामिछानेका विश्वास पात्र मानिने सहकोषाध्यक्ष बोहोरालाई बढुवा गर्न खोजिएको हो ।
रास्वपा सचिवालयका एक सदस्यका अनुसार बोहोराले सहकोषाध्यक्षबाट राजीनामा समेत दिएका छैनन् । तर बोहोरालाई सहमहामन्त्रीमा पदोन्नति गर्ने एजेन्डा सचिवालय बैठकमा समेत समेत छलफल नगरी अकस्मात केन्द्रीय समितिमा ल्याइएपछि केही नेताहरू आक्रोशित बने ।
बैठकका लागि विविधसहित गरेर १३ एजेन्डा पूर्वनिर्धारित थिए । प्रदेश इन्चार्जको प्रदेश रणनीतिको सार एवं रिपोर्ट, केन्द्रीय सदस्य रिपोर्टिङ,सचिवालय बैठकका निर्णयहरूमा छलफल र अनुमोदन, विधान व्याख्या अनुमोदन, रिक्त रहेका विभागको प्रमुख मनोनयन, पूर्व केन्द्रीय सदस्यहरूलाई पुन: जिम्मेवारी, पार्टीको निर्वाचन आयोगमा मनोनयन, रणनीतिक समूह गठन, संगठन सवलीकरणका लागि केन्द्रीय समिति र विभागलाई थप जिम्मेवारी, विदेशमा रहेका नागरिकहरूलाई मताधिकारको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउने, सांसदहरुको लेबी लगायत थिए ।
तर कार्यवाहक सभापति अर्यालको निर्देशनमा महामन्त्री बुर्लाकोटीले मनोनीत गर्ने थप एजेन्डा बैठकमा प्रवेश गराए । त्यसमा पूर्व केन्द्रीय सदस्यहरूलाई पुन: सोही जिम्मेवारी दिने एजेन्डा पनि थियो । त्यही क्रममा छलफल हुँदा केन्द्रीय सदस्य इश्रामुल्ला मियाँलाई मनोनीत गर्ने विषयमा विवाद भएन । तर, महामन्त्री बुर्लाकोटीले थप अन्य दुई जनालाई पनि केन्द्रीय सदस्यमा मनोनीत गर्ने प्रस्ताव ल्याएपछि बैठकको माहोल बिग्रियो ।
रास्वपा स्रोतका अनुसार दुई केन्द्रीय सदस्य आफ्नै कारणबाट विगतमा पार्टीको कामबाट अलग भइसकेका थिए । आफूलाई मन लागेको बेला पार्टीको जिम्मेवारीबाट अलग हुने र उनीहरूलाई अनकूल भएको बेला उही पदमा फर्कने कुरा विधिसंगत नहुने भन्दै केही केन्द्रीय सदस्यले आपत्ति जनाए । ‘कोही व्यक्तिका लागि चाहे छोड्न पाउने र इच्छा लागे प्रवेश पाउने भन्ने हुन सक्दैन,’ असन्तुष्ट नेताहरूले बैठकमा भने,‘विधिको वकालत गर्ने हामीले हामीभित्र कति विधिसंगत छौं ।’
एजेन्डामा नरहेको यो विषयमा विवाद भइरहँदा कार्यवाहक सभापति अर्यालले अर्को प्रसंग निकाले र सह-कोषाध्यक्ष बोहोरालाई सहमहामन्त्री बनाउने प्रस्ताव अघि सार्न महामन्त्री बुर्लाकोटीलाई निर्देशन दिए ।
सहमहामन्त्री सुमना श्रेष्ठले गत वैशाखको पहिलो साता उक्त पदबाट राजीनामा दिएपछि नै रिक्त स्थानमा बोहोरालाई ल्याउन खोजिएको थियो । एजेन्डामै नभएको विषय प्रवेश गरेपछि पार्टी कम्पनी जस्तो भएको भन्दै केही नेताले असन्तुष्टि जनाएका थिए । नेताहरूले आपत्ति जनाएपछि बोहोरालाई सहमहामन्त्री बनाउनेबारे निर्णय हुन सकेन । बैठकमा नेताहरू सोबिता गौतम र गणेश कार्की अनुपस्थित थिए । सांसद सुमना श्रेष्ठ भने बैठकबाट केही छिटो गरी निस्केकी थिइन् ।

के–के भयो निर्णय ?
विदेशमा रहेका नेपाली नागरिकका लागि मताधिकारको व्यवस्था गर्न सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन अभियान सञ्चालन गर्ने निर्णय बैठकबाट गरिएको छ ।
शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सभापति रवि लामिछाने माथि राजनीतिक प्रतिशोध भएको भन्दै जारी राखिएको अभियानलाई देशव्यापी बनाउने निर्णय गरेको छ । संगठन निर्माणका हरेक गतिविधि हस्ताक्षर अभियानलाई प्रभावकारी बनाउने प्रवक्ता मनिष झाले जानकारी गराए ।
बैठकले इश्रा मुल्ला मियालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । रास्वपाका संस्थापक केन्द्रीय सदस्य मियाले हज कमिटीको अध्यक्ष हुनका लागि केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । बैठकले रिक्त रहेका विभागका प्रमुख समेत तोकेको छ । श्रम तथा उपभोक्ता हित विभाग प्रमुखको जिम्मेवारी श्यामबाबु गौतमले पाएका छन् भने यही विभागको उपप्रमुखमा ललित श्रेष्ठलाई मनोनित गरिएकोे छ । सार्वजनिक लेखा समीक्षा विभागको प्रमुख गोकुल सापकोटा तोकिएका छन् ।
केन्द्रीय समिति बैठकले मधेस प्रदेश समितिमा दुई जना सहमहामन्त्री नियुक्त गरेको छ । बाराका गणेश धिमाल र सिरहाका पुनम शाहलाई सहमहामन्त्री बनाइएको छ ।
पार्टीले सम्पादन गर्नुपर्ने विभिन्न रणनीतिक कार्य सम्पादन गर्नका लागि रणनीतिक समूहहरू गठन गर्ने निर्णय गरिएको छ । पार्टीको संगठन वडा, जिल्ला, प्रदेश र केन्द्रसम्म सशक्त बनाउने बैठकले निर्णय गरेको छ । संगठनको आवश्यक सबलीकरणका लागि केन्द्रीय समितिका सदस्य तथा केन्द्रीय विभागका सदस्यलाई जिल्ला जिल्लामा परिचालन गरिने रास्वपाले जनाएको छ ।
पार्टी सभापति रवि लामिछाने माथि भएको राजनीतिक प्रतिशोध भन्दै रास्वपाले ७ असारबाट जारी राखेको हस्ताक्षर अभियानमा हालसम्म ३२ लाख ६ हजार ६०८ जनाले हस्ताक्षर गरेका छन् । प्रवक्ता मनिष झाका अनुसार हस्ताक्षर अभियानको क्रममा रास्वपालाई सहयोग ६२ लाख १६ हजार ,६६९ रुपैयाँ संकलन भएको छ ।
प्रतिक्रिया 4