
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा सेयर बजारको प्रिओपन कारोबार बिहान १०:३० बजेदेखि १०:४५ बजेसम्म सञ्चालन हुन्छ र यसमा मूल्य २ प्रतिशतभन्दा बढी बढ्न वा घट्न पाइँदैन।
- प्रिओपनमा राखिएका अर्डरहरू १०:४५ बजेपछि करिब ५ मिनेटमा मूल्य म्याचिङ गरी कारोबार सम्पन्न गरिन्छ र यसले नियमित बजारलाई सन्तुलित बनाउँछ।
- प्रिओपन बजारमा मार्केट डेप्थ देखिँदैन र यसले लगानीकर्ताको डर वा उत्साहलाई पचाउन मद्दत पुर्याउँछ भने नियमित कारोबार ११ बजेदेखि ३ बजेसम्म हुन्छ।
२६ साउन, काठमाडौं । नेपालमा सेयर बजारको नियमित कारोबार बिहान ११ बजेदेखि ३ बजेसम्म हुँदै आएको छ । तर नियमित बजार खुल्नुअघि पनि सेयर किनबेच गर्न पाइन्छ । बिहान १० : ३० बजेदेखि १० : ४५ बजेसम्म बजारमा सेयर किनबेच गर्न पाइने व्यवस्था छ । जसलाई प्रिओपन बजार भनिन्छ ।
यो १५ मिनेटभित्र लगानीकर्ता/कारोबारीले आफूले किन्न वा बेच्न चाहेको कम्पनी, सेयर संख्या तथा चाहेको मूल्य कारोबार प्रणाली (टीएमएस)मा आदेश प्रविष्ट गर्न सक्छन् ।
आदेश पोष्ट भइसकेपछि १० : ४५ बजेपछि करिब ५ मिनेटमा आदेश म्याचिङको कार्य चल्छ । खरिद गर्न चाहनेको मूल्यसँग बिक्री गर्न चाहनेको मूल्य म्याच भइसकेपछि कारोबार सम्पन्न हुन्छ । १० : ४५ बजेपछि भने प्रिओपनमा कारोबारी/लगानीकर्ताले आदेश दिन सक्दैनन्, टीएमएसले लिँदैन ।
यसरी प्रिओपनमा हुने कारोबारका लागि आदेशमा मूल्य हाल्दा अघिल्लो दिनको अन्तिम मूल्यको तुलनामा २ प्रतिशतभन्दा बढी वा घटी हुनेगरी राख्न पाइँदैन । प्रिओपनमा कुनै पनि कम्पनीको मूल्य अघिल्लो दिनको अन्तिम मूल्य तुलनामा २ प्रतिशतभन्दा धेरै बढ्न वा घट्न नपाउने व्यवस्था छ ।
प्रिओपनमा सुरुवातमा ५ प्रतिशतको अन्तर हुन पाउने व्यवस्था रहेकोमा नेपाल धितोपत्र बोर्डले यो अन्तरलाई छोट्याउँदै २०७८ असारदेखि २ प्रतिशतमा कायम गरेको हो । प्रिओपन कारोबारले नियमित कारोबारको बजारलाई थप सुरक्षित तुल्याएको जानकार बताउँछन् ।
‘अघिल्लो दिन बजार बन्द भइसकेपछि कम्पनीका बारेमा राम्रा वा नराम्रा घटनाक्रम विकास हुन सक्छन्, वा समग्र वातावरण प्रभाव परेको हुन सक्छ त्यस्तो अवस्थामा लगानीकर्ताको डर वा उत्साह प्रिओपन बजारले नै पचाउन सकोस् भनेर यो विकास भएको हो’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने ‘त्यसले नियमित बजारमा कारोबारलाई सन्तुलित बनाउन सहयोग पुग्छ ।’ विश्वका सबैजसो बजारमा प्रिओपन कारोबार चल्दै आएको छ ।
यहाँ साढे १० बजेदेखि पौने ११ बजेसम्म प्रिओपनमा राखिएका अर्डर जम्मा हुने र त्यसपछि मूल्य म्याच हुने गरेको पराजुलीले बताए । ‘प्रिओपन, नियमित र क्लोजिङ कारोबारको छुट्टाछुट्टै महत्व छ, यी तिनै किसिमको कारोबारले बजारलाई सन्तुलन कायम गरी सञ्चालन सहज बनाउँछ’ उनले भने ।
प्रिओपन बजारमा राखिएका अर्डर अरुले हेर्न पाउँदैनन्, अर्थात् ‘मार्केट डेप्थ’ छैन । कम्पनीका बारेमा नराम्रा सूचना आएका बेला घटाएर बेच्न चाहनेले आफ्ना अर्डर पोस्ट गर्छन् र घटेर सेयर पाउने भएकाले किन्न चाहनेले पनि २ प्रतिशतसम्म कम गरेर अर्डर पोस्ट गर्न सक्छन् । किन्ने र बेच्ने पक्षबीचको मूल्य म्याच भएमा कारोबार सम्पन्न हुन्छ, अन्यथा कारोबार हुँदैन ।
यदि कुनै कम्पनीका बारेमा राम्रा सूचना आएको खण्डमा प्रिओपनमा बेच्न चाहनेले मूल्य बढाएरै अर्डर राख्छन् र किन्न चाहनेले पनि धेरै मूल्य दिन सक्छन् । यसले बजार खुल्नुअघि नै कारोबारी तथा लगानीकर्ताको डर वा उत्साहलाई केही हदसम्म पचाइदिन्छ ।
‘मार्केट डेप्थ देखिने बनाउने हो भने बजारलाई प्रभाव पार्नेगरी माग र बिक्रीको अर्डर राखिन सक्छ जसले मनोभावलाई असर पार्न सक्छ त्यसकारण प्रिओपनमा मार्केट डेप्थ नराखिएको हो’ पराजुलीले भने ‘मार्केट डेप्थका राम्रा र नराम्रा दुवै पक्ष छन् ।’
यदि प्रिओपन कारोबार नहुँदो हो भने त्यसले नियमित कारोबारका क्रममा कम्पनीको मूल्यलाई एकोहोरो झार्ने वा बढाउने अवस्था आउने जोखिम रहेको सम्बद्ध अधिकारीहरूको भनाइ छ । नेपालको बजारलाई सन्तुलित बनाउनका लागि अन्य संयन्त्र समेत विकास गरिएको छ ।
प्रतिदिन कम्पनीको मूल्य १० प्रतिशतभन्दा धेरै घटबढ हुन नपाउने, प्रति कारोबारमा २ प्रतिशतभन्दा बढी मूल्य घटबढ हुन नपाउने, समग्र बजारको परिसूचक धेरै बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने जस्ता संयन्त्रले बजारलाई सन्तुलित बनाउन मद्दत पुग्छ ।
‘विश्वका कतिपय बजारमा सर्किट ब्रेकरको व्यवस्था छैन, मूल्य एकैदिन १५/२० प्रतिशतसम्म घटेका उदाहरण पनि छन्’ प्रवक्ता पराजुलीले भने ‘एकदिन मूल्य भारी घट्ने अर्को दिन त्यसैगरी बढ्ने हुँदा मूल्यान्तर ठूलो हुन्छ, त्यसले कतिलाई ठूलो नोक्सानी हुन सक्छ ।’
अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै प्रिओपनमा कारोबार भइरहेकाले २ प्रतिशतको उतारचढाव उपयुक्त नै रहेको लगानीकर्ता बताउँछन् । ‘प्रिओपन कारोबारले छिटो सेयर बेच्न वा किन्न चाहनेलाई सहज भएको छ’ नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालले भने ‘हालको अधिकतम २ प्रतिशत सीमामा रहेर हुने उतारचढावले कसैलाई मर्का पर्दैन ।’
प्रिओपनमा भएको मूल्य घटबढ अन्तिम समयमा कायम नरहन सक्छ । धेरै पटक प्रिओपनमा बढेको बजार नियमित कारोबारपछि घट्ने वा प्रिओपन हुँदा घटेको बजार नियमित कारोबारपछि बढ्ने गरेका छन् । तसर्थ प्रिओपनको बजार हेरेर मात्रै कारोबारको निर्णय उपयुक्त नहुन सक्छ ।
कसरी गर्ने प्रिओपनमा कारोबार ?
प्रिओपन कारोबार पनि आफ्नो टीएमएसमार्फत हुने हो । टीएमएसमा युजर नेम, पासवर्ड र क्याप्चा राखेर लगइन गरिन्छ । त्यसपछि नियमितजस्तै बायाँ साइडमा रहेको ‘अर्डर म्यानेजमेन्ट’मा गई ‘बाइ/सेल’ छनोट गरिन्छ ।
त्यसपछि माथि रहेको ‘प्रिओपन’ छनोट गर्नुपर्छ । प्रिओपन छनोटपछि नियमित कारोबार जसरी अर्डर हाल्न सकिन्छ । किन्न वा बेच्न चाहेको कम्पनीको सिम्बोल, सेयर संख्या तथा मूल्य राखिन्छ ।
बेच्न चाहेको हो भने सेल र खरिद गर्न चाहेको हो भने बाइमा क्लिक गरिन्छ । बिक्री क्लिक गरेको अवस्थामा अर्डर पेज रातो रङ बन्छ भने खरिद अर्डर हालेको अवस्थामा निलो बन्छ ।
अर्डर पोस्ट भइसकेपछि खरिद वा बिक्री भयो कि भएन भनेर जान्नका लागि १० : ५० बजेपछि आफैले जाँच गर्न सकिन्छ । नियमित कारोबारको जस्तै ‘ट्रेड म्यानेजमेन्ट’मा गई डेल्ली ट्रेडबुकमा हेर्न सकिनेछ । त्यहाँ नदेखिएको खण्डमा किनबेच भएको हुँदैन, डेल्ली अर्डर बुकमै देखिन्छ ।
यदि प्रिओपनमा कारोबार सम्पन्न नभएको अवस्थामा त्यो स्वतः रद्द हुने वा अर्डर कायमै राख्ने भन्ने विषय लगानीकर्ताले नै छनोट गर्न पाउँछन् ।
प्रतिक्रिया 4