
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनको आगामी गतिविधि अनिश्चित रहेको र त्यसका पदाधिकारीका अभिव्यक्तिले अन्योल सिर्जना गरेको बताएका छन्।
- ओलीले मदन भण्डारी फाउन्डेसनलाई विकल्प स्वरूप मदन–आश्रित स्मृति प्रतिष्ठानलाई सक्रिय बनाउन लागेका छन् र प्रदीप ज्ञवालीलाई सो प्रतिष्ठानको अध्यक्ष बनाइएको छ।
२७ साउन, काठमाडौं। मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष प्रदीप ज्ञवालीलाई पद तथा गोपनीयताको शपथ गराउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली केन्द्रीय कार्यालयमै सोमबार आयोजित कार्यक्रममा पुगेका थिए । त्यहाँ उनले आफैं संरक्षक रहेको मदन भण्डारी फाउन्डेसन लक्षित केही अनपेक्षित अभिव्यक्ति दिए । जुन अभिव्यक्ति एमाले वृत्तमा चासोको विषय बनेको छ ।
पार्टीकै नाममा खुलेका कतिपय संस्थाहरू व्यक्तिका ठगी खाने भाँडो बनेको सन्दर्भसँग ओलीले फाउन्डेसनलाई पनि घुमाउरो ढंगले जोडे । निधन भएका नेताहरूको नाममा खुलेका संस्थाहरुको प्रवृत्ति विश्लेषणका क्रममा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नखोलेको संस्था भएको बताएका थिए ।
‘जतिबेला मदन–आश्रित स्मृति मनाउन नपाइने स्थिति बन्यो, त्यतिबेला श्रद्धाञ्जली दिन नपाइने स्थिति बन्यो, जन्मदिन मनाउन नपाइने स्थिति बन्यो’ ओलीले भने, ‘पर्सि जन्मदिन छ भने आज विभिन्न विकृतिपूर्ण लेखहरु लिडरसिपबाट लेखिने र प्रकाशित भए । त्यसो भएर एउटा संस्था बनाउनुपर्छ भनेर मदन भण्डारी फाउन्डेसन जन्मिएको हो ।’
ओलीको व्याख्या अनुसार नेताका नाममा खुलेका प्रतिष्ठानहरु तत्कालीन पार्टी नेतृत्वकै पक्षमा उभिने गरेकाले आफू संरक्षक रहेर मदन भण्डारी फाउन्डेसन खोल्नु परेको थियो । तत्कालीन एमाले नेतृत्वसँग समानान्तर गतिविधि गर्ने त्यस्तो कार्यलाई ओलीले पार्टी र आन्दोलनका हितमा गरिएको कार्य भनेका छन् ।
‘माधव नेपालहरुले पार्टी कब्जा गरेका बेलामा, संगठन कब्जा भएका बेला, विभिन्न ठाउँमा मदन भण्डारी फाउण्डेसन मार्फत मदन भण्डारीका विचारहरु जीवित राख्ने, पार्टीको वास्तविक मर्मलाई जीवित राख्ने काम गरिएको थियो’, २ वर्षअघि मदन जयन्तीको अवसरमा ओलीले भनेका थिए । त्यसअघि र पछि पनि ओलीको बुझाइ हुन्थ्यो– मदन भण्डारी फाउन्डेसनले गर्ने गतिविधि पार्टीको हितमा हुन्छ, शंका गर्नु पर्दैन ।
‘कतिपय जिल्लाहरुमा म सुन्छु, मदन भण्डारी फाउन्डेसनलाई गतिविधि गर्न नदिने वा त्यसमा गतिविधि गर्दा गलत ढंगले सोच्ने…’ १४ वैशाख २०८० मा इलाम पुगेर ओलीले भनेका थिए, ‘पार्टीका विरुद्ध यो मदन भण्डारी फाउण्डेसन जाँदैन, आशंका गर्न पनि हुँदैन ।’
मदन भण्डारी फाउन्डेसनबारे यो तहको पक्षपोषण र प्रवर्द्धन गर्ने ओलीले सोमबार पहिलो पटक शंकासहित अभिव्यक्ति दिएका छन् । ‘अब त्यसको (फाउन्डेसनको) आगामी दिनमा के हुन्छ अलिकति हेर्नुपर्ने अवस्था चाहिँ बन्या छ, कसरी जान्छ त्यो भन्ने कुरा’ उनको शंका छ, ‘किनकि त्यसका पदाधिकारीहरुका अभिव्यक्ति आदि कुरा, चक्रपथ भन्ने अनलाइनको प्रस्तुति आदि हेर्दा खेरी कसरी जाने हो, त्यो भने अन्योल छ ।’
सोमबारको अभिव्यक्ति सुन्दा ओलीले फाउन्डेसनको गतिविधिप्रति असहमति जनाएका मात्र छैनन्, यो संस्था ‘कुनै व्यक्तिको ठगी खाने भाँडो’ बन्न सक्ने अनुमान पनि गरेका छन् ।
‘मदन भण्डारी फाउन्डेसनलाई नै ठगी खाने भाँडो बन्यो भन्नु भयो जस्तो लाग्दैन । तर पार्टीकै नाममा खुलेका त्यस्ता संस्थाहरु ठगी खाने भाँडो बन्यो भन्नुभयो’ एमाले स्थायी कमिटी सदस्य कर्ण थापा भन्छन्, ‘कुन संस्था त्यस्तो बन्यो ? तथ्यहरु के हुन् ? देखाएर भन्दा राम्रो हुन्थ्यो ।’
प्रतिष्ठानहरुको व्यवस्थापन गर्न विगतमा पार्टी नेताहरुको जिम्मेवारी नै तोकिने गरेकाले त्यो विकल्पमा जान सकिने सुझाव उनी दिन्छन् । ‘गुरू बराल, भीम रावलहरु कुनैबेला प्रतिष्ठानहरुको विभागीय जिम्मेवारीमा हुनुहुन्थ्यो’ थापा भन्छन्, ‘यदि अहिले समस्या हो भने त्यो विकल्पमा जानुपर्छ, यस्ता शब्दहरु (ओलीको अभिव्यक्ति) राम्रो सुनिँदैन ।’
एमाले नेताहरुका नाममा मदन–आश्रित, तुलसीलाल, पुष्पलाल, मनमोहन, मदन भण्डारी फाउन्डेसन जस्ता संस्थाहरू खुलेका छन् । फाउन्डेसन बाहेक अरू संस्था तत्कालीन नेतृत्वको पकडमा थियो । विगतमा आफू प्रतिकूल संस्थाहरूप्रति असहमति जनाउँदै आएका ओलीले सोमबार भने फाउन्डेसनलाई समेत कटाक्ष गरे ।
‘तत्कालीन संस्थापनलाई चुनौती दिँदै आफू अध्यक्ष जुन संस्था उपयोग गर्नुभयो । अहिले त्यही फाउन्डेसनबारे बोल्नु भएको कुरा असाध्यै अप्रिय छन्, यसले राम्रो सन्देश गएन’, एमालेका एक नेता भन्छन् ।
ओलीलाई फाउण्डेसनको सहारा
एमालेभित्र विकसित घटनाक्रम हेर्दा फाउन्डेसनबारे जसरी ओलीले अभिव्यक्ति दिएका छन्, त्यसका पछाडि पूर्वराष्ट्रपति भण्डारीलाई निषेध गर्ने शृङ्खला लुक्दैन ।
गत ६ साउनमा सम्पन्न केन्द्रीय कार्य समिति बैठकबाट भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने निर्णय ओलीले गराएका छन् । सँगै, भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय पनि भएको छ ।
यो निर्णयपछि भण्डारी र उनी पक्षका नेताहरुले मदन भण्डारी फाउन्डेसन मार्फत् गतिविधि गर्ने सन्देश दिइसकेका छन् । बागमतीका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा ७५ सदस्यीय मदन भण्डारी हिरक मूल व्यवस्थापन समिति बनेको छ । यसको कार्यालय थापागाउँमा सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।
हीरक जयन्ती मनाउने समितिको संरक्षकमा ओलीलाई नराखेर विद्या भण्डारी मात्र रहेकी छन् । हिरक जयन्ती भनेर बनेको यो समितिको मूल उद्देश्य भने एमालेको एघारौं राष्ट्रिय महाधिवेशन र एमालेको नेतृत्व परिवर्तन हो । नेताहरुले यो तथ्य लुकाएका पनि छैनन् ।
जनताको बहुदलीय जनवाद (जबज) को मूल पक्ष भनेकै पार्टीभित्रको लोकतन्त्रीकरण रहेको तर्क सहित उनीहरुले एमाले नेतृत्व परिवर्तन भनिरहेका छन् । नलुकेको अर्को तथ्य हो– ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउन नहुने लबिङ सहित विद्या भण्डारीलाई एमाले अध्यक्ष बनाउनु ।
यो तथ्य र गतिविधि ओलीले नदेख्ने/नबुझ्ने कुरै भएन । त्यसैले मदन भण्डारी फाउण्डेसनप्रति अनुदार अभिव्यक्ति दिएर ओलीले कार्यकर्ता पंक्तिमा आफ्नो सन्देश लगेका छन् ।
तर विद्या भण्डारीका पक्षमा कार्यकर्ता खुल्नबाट रोक्ने चाहनामा ओलीले आफूलाई एमाले अध्यक्षसम्म स्थापित गराउन सहयोगी बनेको संस्थाप्रति अनाकर्षण हुनेगरी बोलेका छन् । ‘मदन भण्डारी फाउन्डेसन केपी ओली संकटमा हुँदा साथ दिने संस्था हो, फोरम हो’ विगतमा ओलीसँगै रहेका एक नेता भन्छन्, ‘भीम रावल, अष्टलक्ष्मी शाक्यहरुले चर्को आपत्ति जनाउँदा पनि फाउण्डेसनमा रहेर हामीले केपी ओलीको विचारमा छलफल गरेका थियौं ।’
ओलीलाई एमाले अध्यक्ष हुने वातावरण बनाउन मात्र नभएर अध्यक्ष भइसकेपछि पनि यही संस्था मार्फत् आफ्नो संकट ओलीले टारेको नेताहरु बताउँछन् । ५ पुस २०७७ मा प्रतिनिधि सभा विघटनको असंवैधानिक निर्णय पछि तत्कालीन नेकपा फुट्दा पनि ओलीले मदन भण्डारी फाउण्डेसन प्रयोग गरेका थिए ।
एमाले पृष्ठभूमिका माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतमहरुले समेत प्रचण्डलाई साथ दिदा नेकपाभित्र प्रष्ट अल्पमतमा परेका ओलीले मदन भण्डारी फाउन्डेसनका नाममा जिल्ला–जिल्लामा गतिविधि गरेका थिए । नेकपाकै अन्तरसंघर्षमा पनि फाउण्डेसनकै कार्यालयमा बसेर नेताहरुले ओलीलाई जोगाउने बनाएका थिए ।
यी सबै घटनाक्रममा विद्या भण्डारीले ओलीलाई साथ दिएकी थिइन् । नेकपाको संक्रमण–संकट पछिल्लो घटना मात्र हुन्, ओलीलाई सातौं राष्ट्रिय महाधिवेशन यता एमाले नेतृत्वका रुपमा तयार पार्ने काम फाउन्डेसन मार्फत भएको थियो ।
तर राष्ट्रपतिको कार्यकाल सकेर फर्किएकी विद्या भण्डारी आफैं एमाले नेतृत्व लिनेगरी अगाडि बढेपछि फाउन्डेसन ओलीको पक्षमा छैन । आफ्नो प्रतिकूल हुने देखिएपछि ओलीले फाउन्डेसनको विकल्पमा मदन–आश्रित स्मृति प्रतिष्ठान सक्रिय बनाउन लागेका हुन् । उपमहासचिव प्रदीप ज्ञवालीले यसको नेतृत्व लिएपछि अझ स्पष्ट हुन्छ– मदन भण्डारी फाउन्डेसनको विकल्पमा मदन–आश्रित प्रतिष्ठान ।
जबज, वाम आन्दोलन र एमाले निर्माणको इतिहासबारे छलफल गर्न ज्ञवालीसँग पार्टीकै परिभाषित जिम्मेवारी रहेकाले प्रतिष्ठानको नेतृत्व अरु नेताले पनि लिन सक्थे । प्रदीप नेपालको निधनपछि रामेश्वर फुँयालले कार्यवाहक अध्यक्ष चलाइरहेको भएकाले उनैलाई अध्यक्ष बनाउने विकल्प पनि थियो । तर ओलीलाई साथ दिने उच्च तहको नेता खोजी गर्ने क्रममा ज्ञवाली यो प्रतिष्ठानको अध्यक्ष बन्न पुगेको स्पष्ट छ ।
प्रतिक्रिया 4