+
+
Shares
लिजको जग्गामा विवाद :

वकिलहरूको आक्रमणमा परेर अनलाइनखबरकर्मी महतोसहित ४ पत्रकार घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते २१:२८
उपचारका क्रममा अनलाइनखबरका मधेश प्रदेश संवाददाता एवं महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो 'क्रान्ति'

२७ साउन, जनकपुरधाम । जनकपुरधाममा नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले लिजमा लिएको जग्गा वाकिलहरूले कब्जा गर्न खोजेपछि विवाद भएको छ ।

विवादका क्रममा वकिलहरूको आक्रमणमा परी अनलाइनखबरका मधेश प्रदेश संवाददाता एवं महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र महतो ‘क्रान्ति’ सहित ४ जना पत्रकार घाइते भएका छन् ।

घाइते हुनेमा महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पत्रकार दिवाकर राय र अनिलकुमार निराला छन् । प्रादेशिक अस्पताल जनकपुरमा उपचारपछि पत्रकार दिवाकर राय बाहेकका पत्रकार डिस्चार्ज भएका छन् ।

किन भयो विवाद ?

जनकपुरधाम उपमहानगरपालिका-४ मा अवस्थित श्रीराम मन्दिर गुठीको चार कठ्ठा जग्गा भवन निर्माण तथा व्यावसायिक प्रयोजनका लागि नेपाल पत्रकार महासंघलाई २० वर्षका लागि लिजमा दिइएको छ ।

सो जग्गासहित जनकपुरका अन्य तीनवटा जग्गा लिजमा दिन गुठी संस्थान केन्द्रीय कार्यालयले जेठ ७ गते गोरखापत्रमा बोलपत्र आह्वान गरेको थियो ।

चार कठ्ठा जग्गाका लागि महासंघसहित चारवटा संस्थाले आर्थिक र प्राविधिक प्रस्ताव पेस गरेका थिए, तर नेपाल बार एसोसिएसनले प्रस्ताव पेस गर्ने प्रक्रियामा सहभागिता जनाएन ।

प्राप्त प्रस्तावमध्ये महासंघको प्रस्ताव छनोट भई स्वीकृत भएको सूचना साउन २ गते गोरखापत्रमा प्रकाशित भएको थियो ।

त्यसपछि साउन ९ गते गुठी संस्थानले लिज सम्झौताका लागि महासंघ मधेश प्रदेश समितिलाई पत्राचार गरेको थियो । साउन १९ गते गुठी संस्थानको केन्द्रीय कार्यालयमै सम्झौता भएको थियो ।

सम्झौता सम्पन्न भएको भोलिपल्ट, नेपाल बार एसोसिएसन धनुषाले उक्त जग्गा आफ्नो पार्किङ स्थल रहेको दाबी गर्दै साउन २० गते त्यहाँ अनिवार्य सवारी पार्किङ गर्न निर्णय गरेको थियो ।

साउन २५ गते बारले घेराबार गर्दै अतिक्रमणको प्रयास गरेपछि महासंघका पदाधिकारी र पत्रकारहरूले रोकका थिए । त्यसपछि पनि बारले फलामे पिलर गाडेको थियो ।

महासंघका पदाधिकारीले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिँदै, कानुनी प्रक्रिया पूरा गरेर पाएको जग्गामा बारले अनावश्यक विवाद सिर्जना गरिरहेको भन्दै समाधानका लागि आग्रह गरे ।

प्रमुख जिल्ला अधिकारीले पहलमा बार एसोसिएसनले आफै बोलाएर बार एसोशिएसनको सभाकक्षमा केही मौखिक सहमति भयो ।

त्यहाँ अन्य गुठीको जग्गा भए कानुनी प्रक्रियामा जाने, पछाडिको जग्गा पाए महासंघले बाटो दिने, र आवश्यक परे लिजमा दिन बारलाई प्राथमिकता दिने मौखिक सहमति थियो ।

त्यस पश्चात बार एसोसिएशनले गाडेको पीलर हटाउ समेत बार सहमत भएको थियो । तर, बारले घेराबार हटाएनन् नै उसले आइतबार नै दिउँसो गुठी संस्थानसहित उच्च अदालतमा महासंघविरुद्ध उत्प्रेशनको रिट दायर गरिसकेको थियो ।

मौखिक सहमतिपछि पनि मुद्दा दायर भएको भन्दै, महासंघले मंगलबार सो जग्गामा पत्रकार सम्मेलन गरी, बार एसोसिएसनजस्तो गरिमामय संस्थाले गैरकानुनी काम गरिरहेको भण्डाफोर गरेको थियो ।

पत्रकारहरूले उक्त जग्गा वैधानिक रूपमा पाएको कारण यसको संरक्षण गर्ने दायित्व महासंघकै भएको वकिलहरूले कब्जा गर्न फलामे पोलमा तारबार बाँध्न थालेपछि दुवै वकिलहरू रोक्न आएका थिए ।

न्यून संख्यामा भएको पत्रकार र ठूलो संख्यामा वकिलहरू थिए । त्यस क्रमममा विवाद चर्किएपछि वकिलहरूले प्रदेश अध्यक्ष बञ्जारासहितमाथि आक्रमण र गालीगलौज सुरु गरेको थियो । त्यस क्रममा केही पत्रकार घाइते भएका हुन् ।

पत्रकार महासंघ मधेश प्रदेश र केन्द्रीय समितिले विज्ञप्ति निकालेर घटनाको भर्त्सना गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?