
३० साउन, काठमाडौं । ठमेल क्षेत्रमा गुन्डागर्दी तथा झगडा गरेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।
प्रहरी वृत्त सोह्रखुट्टेले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चार जनालाई प्रतिवादी बनाउँदै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
मुद्दा दर्ता हुनेहरूमा नुवाकोट घर भएका सानुभाइ भनिने युवराज गुरुङ, दिलकुमार तुम्बापो र रवीन्द्र गुरुङ र ठमेलकै क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङ छन् ।
उनीहरूविरुद्ध अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भएको छ । न्यायाधीश शिवप्रसाद खनालको इजलासमा अहिले उनीहरूको बयान सुरु भएको छ ।
बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि साधारण तारेख वा धरौटीमा रिहा गर्ने तथा पुर्पक्षका लागि कारागार चलान गर्ने मध्ये एक आदेश आउने छ ।
१४ साउनमा ठमेलकै नगरकोट दोहोरी साँझमा उनीहरुले आपसमा झगडा गरेको आरोप छ । सानुभाइ र राजेन्द्र गुरुङ समूहका व्यक्तिबीच झगडा भएको थियो । पक्राउ परेका दिलकुमार र रवीन्द्र राजेन्द्र गुरुङ समूहका व्यक्ति रहेको प्रहरीले बताएको छ ।
पुरानो रिसइबीका कारण उनीहरूबीच दोहोरी साँझभित्रै हानाहानको अवस्था आएको थियो । त्यसपछि राजेन्द्रले चक्कु समाउँदै आक्रमणको प्रयास गरेका थिए । दोहोरी साँझका बाउन्सरले उनीहरूलाई बाहिर निकाल्दै प्रहरीलाई खबर गरेका थिए श्र
यसअघि १५ असार २०८० मा क्लब ओम्नियाका सञ्चालक राजेन्द्रमाथि सानुभाइ समूहले आक्रमण समेत गरेको थियो । त्यतिबेला पक्राउ परेका सानुभाइ धरौटीमा रिहा भएका थिए । अहिले फेरि उनीहरू दुई समूहबीच झगडा भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4