
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'जनै हराएको मान्छे' एक भावनात्मक-सामाजिक कथा हो जसले पात्रको जीवन यात्रा र सामाजिक सम्बन्धहरूलाई चित्रण गर्दछ।
- अभिनेत्री केकी अधिकारीले यो फिल्ममा एउटा महिला पात्रको भूमिका निभाएकी छन् जसले आफ्नो सपनालाई परिवारको जिम्मेवारीमा बिर्सन्छ।
- केकी अधिकारीले आगामी दशैँका लागि 'भद्रकाली' निर्माण गर्ने र 'बोक्सीको घर' को सिक्वेल बनाउने योजना नरहेको बताउनुभयो।
जनैलाई विम्व बनाएर भनिएको कथा ‘जनै हराएको मान्छे’ शुक्रबारदेखि प्रदर्शन तयारीमा छ । शीर्षमध्येको भूमिकामा केकी अधिकारीले अभिनय गरेकी छन् । पछिल्लो समयकी हिट निर्मात्री तथा अभिनेत्री केकी अहिलेकी ब्यस्त कलाकार हुन् । आफूलाई यथार्थवादी कथा र चरित्रमा प्रस्तुत गर्ने केकी दर्शकमाझ प्रिय छिन् । यो मेसोमा केकीलाई अहिले फिल्मको प्रवर्धनमा भ्याइनभ्याइ छ । उनी आफै पनि फिल्म निर्माणको तयारीमा छिन् । यी आयाममा केकीले अनलाइनखबरकर्मी विष्णु शर्मासँग संक्षिप्त संवाद गरेकी छन् :
फिल्म ‘जनै हराएको मान्छे’ कस्तो फिल्म हो ? तपाईंका अघिल्ला फिल्मभन्दा कुन अर्थमा भिन्न छन् ?
एउटा भावनात्मक-सामाजिक कथावस्तुको फिल्म भनेर बुझाउँछु म यसलाई । ‘वास्तविक भन्दा केही काल्पनिक’ कथावस्तुको फिल्म हो यो । जीवन यात्रालाई एउटा समयको कालखण्डमा प्रस्तुत गरिएको छ । जसअन्तर्गत उसको सम्बन्धहरू, जीवनमा आइपर्ने परिस्थितिलाई समाजसँग तुलना समाजका अरु पात्रहरूसँग तुलना गरेर ऊसँग आउने बुवाको कथा, उसको आमाको कथा, उसको दिदीको कथा, उसको प्रेमीको कथा, उसको सपनाको कथा, उसको संघर्षको कथा उसको विदेश मोह जुन अहिलेको जेनेरेसनका युवामा छ त्यसलाई चित्रण गरिएको छ । एउटा पात्रको माध्यमबाट उसको जीवन यात्रालाई प्रस्तुत गरिएको फिल्म हो ‘जनै हराएको मान्छे’ । समग्रमा एउटा भावनात्मक सयरमा लिएर जान्छ ।
कतिपयले सामाजिक संजालमा ‘जनै हराएको मान्छे’लाई धार्मिक दृष्टिकोणबाट भनिएको कथा भनिरहेका छन् । खास त्यस्तै हो त ?
जनैलाई धार्मिक रुपमा भन्दा एउटा विम्वको रुपमा यसमा प्रयोग गरिउको छ । जनैका ६ वटा धागोको जुन महत्व हुन्छ, योङ केटा अलिकति पुरुष हुन आँटेको समयको दौरानमा जाँदाखेरि अहिलेको जुन विधि छ, हिन्दु परम्पराअनुसार त्यसअन्तर्गत लगाइने जनै हो । त्यो जनै लगाई सकेपछि त्यो व्यक्तिले जनाई मात्र लगाएको छैन, जिम्मेवारी पनि बहन गर्नुपर्छ भन्ने सामाजिक दबाबबाट मान्छे गुज्रिन्छ । जनैसँगै धेरै सम्बन्धहरू पनि गाँसिदै जान्छन । कुनै निश्चित उमेरमा पुगेर व्यक्तिले व्रतवन्ध गर्ने चलन छ ।
समयअनुसार पुरुष मनमा बग्ने प्रेमका भावना, जिम्मेवारीका कुराहरु, उसले बुवा-आमाप्रति देखाउनुपर्ने दायित्व यससँग जोडिएको हुन्छ । दिदी दिदी भन्ने बित्तिकै त ऊ त खासमा कान्छो हो नि त । तर पनि त्यो जनैको क्षमता र हाम्रो सामाजिक दबाबले पुरुषलाई आफूभन्दा सिनियरको पनि जिम्मेवारी लिने बनाउँछ ।
त्यस किसिमबाट जनैलाई मानकको रुपमा प्रयोग गरिएको हो । एउटा मात्र कल्चरलाई समातेर त्यसले अफेन्ड पनि गर्न सक्ला धार्मिकरुपमा फेरि । धेरै जनालाई त्यो आस्थामा पनि ठेस नपुराओस भनेर पनि त्यसलाई एउटा प्रतिबिम्बको रुपमा मात्र प्रयोग गरिएको छ । समग्रमा सबै जनालाई बाँध्न सक्ने सम्बन्धको धागाहरू, जातजाति जुनसुकै वर्गमा पनि त्यो चिजलाई चाहिँ कनेक्ट गर्न सकिन्छ भनेर यसको नामलाई पछि परिवर्तन गरिएको चाहिँ हो ।
तपाईंले विगतमा गरेका फिल्मभन्दा कुन अर्थमा भिन्न छ ?
अहिले यो प्रोजेक्टमा आफू आबद्ध हुनुको पछाडिको थोरै कारणमध्ये पहिलो चाहिँ नयाँ निर्माताको फ्रेस माइन्ड नै हो । त्यो माइन्डले धेरै काम नगरिसकेको, धेरै चीज क्रिएट गर्न सक्ने खालको क्षमता हुन्छ । यो क्षमतासहितको हुन्छ ।
मैले धेरै वर्षदेखि एकदम अनुभवी भएका र धेरै काम गरिसक्नुभएका, आफूलाई प्रमाणित गरिसकेकासँग काम गरेँ । काम गर्दै जाँदा, एउटा फ्रेस माइन्डबाट आएको आइडियामा काम गर्दाखेरि जुन उत्साह भेटिन्छ, त्यही जोनमा पुग्न सकिने, सिक्न सकिने, ऊर्जा हासिल गर्न सकिने भएको आधारमा भएकाले प्राथमिकतामा राखेर फिल्म छनोट गरेको हुँ ।
मलाई जुन पात्रको लागि उहाँले सोच्नुभयो, त्यसमा के भिन्नता छ भने– सानैमा धेरै प्रतिभा भएका महिला अथवा केटी पनि आफ्नै परिवारमा माया गर्दा गर्दै, बुवा भाइबाट प्रोटेक्सनको नाममा आफूलाई खुलेर बाँच्न सकेको हुँदैन । यो फिल्म शतप्रतिशत आफ्नो क्षमतालाई एक्सप्लोर गर्न नसकेको एउटा केटीको कथा हो, जो काठमाडौँ आइसकेपछि एउटा नयाँ जीवन अर्को व्यक्तिसँग सुरु गर्छ । अधुरा सपना पुरा गर्न सक्छु, खुलेर बाँच्न सक्छु भनेर काठमाडौँ आइसकेको, ठूलो सपना बोकेर कलिलो उमेरमै आउदा खेरिको घटनाक्रममा बाँधिएको एकजना पात्रको कथा हो । जीवन चेन्ज हुन्छ होला भनेर कति महिलाहरु काठमाडौँ आउनुहुन्छ, खुल्ला बाँच्न सक्छु भनेर, तर यहाँ पनि आफैमा एउटा परिस्थिति बीच बाँधिनुहुन्छ ।
आफ्नो श्रीमान, परिवार, सन्तानको सपनालाई नै आफ्नो सपना मानेर आफ्नो सपना बिर्सदै गर्दाखेरिको त्यो जुन जीवन भोगाइमा बाँचेको एउटा महिला पात्र हुन्छ नि, त्यो रुपमा मैले आफूलाई प्रस्तुत गर्न पाउने एउटा मौका जस्तो पनि कता कता लाग्यो । मैले आफ्नो आमालाई पनि यसमा देखेको जस्तो महसुस भयो । मैले आमालाई कति पटक सोच्छु, सोचेको पनि छु । सानैमा पनि, ठूलोमा पनि कि आमा तपाईको आफ्नै सपना चाहिँ के थियो ? के बन्न चाहनुहुन्थ्यो भन्दा उहाँ अलमलिनु हुन्छ ।
उहाँले आफ्नो सपना बिर्सिसक्नु भएछ । त्यो खालकोे प्रतिनिधि पात्र गर्ने मौका पाएको छु मैले फिल्ममा । सपना बोकेर आएको तर पारिवारिक रुपमा श्रीमानको, आफ्नो सन्तानको सपना नै आफ्नो सपना बनाएर आफ्नो सपना भुलेको एउटा युवतीको कथा हो ।
तपाईंको यो ३८ औं फिल्म र तपाईंको १४ वर्ष लामो करिअर । अभिनय र होम प्रोडक्सन फिल्मको निर्माणलाई कसरी मिलाएर अघि बढ्ने योजना छ तपाईंको ?
गतवर्ष ‘बोक्सीको घर’ले मार्गनिर्देशन गरेको छ मेरो लागि । मैले सब्जेक्ट चुज गर्दा, अलिकति सेन्सिटिभ भएर आफूलाई भन्न मन लागेको कथा, जुन कथाले मलाई छुन्छ, मैले त्यसमा मात्र आफ्नो अनेस्टी देखाउन सक्छु नि । त्यो हिसाबले कथाको चयन गरेर मेकिङमा पनि अझै एउटा अथवा दुई वर्षमा गरेर भन्न मन लागेको कथालाई सिनेमामार्फत भन्न सकौँ भन्ने मेरो कोसिस छ ।
त्यही अन्तर्गत नै मैले दुइटा फिल्म दर्ता पनि गरेको थिएँ । त्यो वर्किंग टाइटल मात्र हो अहिलेको लागि चाहिँ, किनभने अन्तिम सम्ममा आउँदा कहिलेकाहिँ माइन्ड चेन्ज गर्न मन लाग्न सक्छ । सबैजनाले अर्को रोचक टाइटल डिमान्ड गरेमा स्विच हुन सकिन्छ । अहिलेको लागि चाहिँ वर्किंग टाइटलको रुपमा दुइटा फिल्मलाई दर्ता गरेको छु । यो वर्ष एउटा बनाउने ।
सुरुमा कुन फिल्म बनाउने ?
सुरुमा ‘राधा पियारी’को तयारी हुँदै छ । त्यसपछि दोस्रो फिल्म आगामी दशैँको लागि भनेर ‘भद्रकाली’को निर्माणमा जुटेका छौं । अहिले यो प्रारम्भिक फेजमा छ । अहिले यो फिल्मको सुटिङमा जानको लागि हामी प्रि-प्रोडक्सनमा छौं ।
दर्शकले ‘बोक्सीको घर’को दोस्रो सिक्वेल बनाउने माग गरिराख्या छन् । यसमा तपाईंको विचार के छ ?
म सिक्वेलमा विश्वास गर्ने मान्छे चाहिँ होइन । स्टोरीलाई तन्कार कन्टिन्युसन गर्नुपर्छ भन्ने पनि होइन । कुनै दिन त्यस्तै खालको एउटा स्टोरी दिमागमा फुल्यो वा परिस्थिति त्यस्तै परेर बनाउनु पर्ने भयो भने मात्रै ‘बोक्सीको घर २’लाई कन्टिन्यु गर्छु । केही वर्षसम्म नयाँ सोचसहित नयाँ फिल्म नै लिएर आउने कोसिस गर्नेछु ।
‘जनै हराएको मान्छे’सँग दर्शकले कसरी जोडिएको महसुस गर्लान् ?
अहिले यसो बुझ्दा धेरैवटा आधार छन् । दर्शकलाई कनेक्ट गर्न सक्ने एउटा त उसको कथा नै वास्तविकतामा आधारित हुनुपर्यो । फिल्म हेरुन्जेल दर्शकले आफूलाई पाउने धेरै खालको पात्र र घटनाक्रम देख्नुहुन्छ । यो फिल्मलाई भिन्न तरिकाले प्रस्तुत गर्न खोजिएको छ ।
किनभने यसको निर्देशन नै नयाँ मनस्थितीबाट अगाडि बढेको छ । संगीतको कुराहरु भयो, कलाकारको कुरा गर्दा पनि विगतमा धेरैभन्दा धेरै दर्शकले साथ दिएकै हुनुहुन्छ । मन पराइएको कलाकारलाई भिन्न पात्रमा देख्दा दर्शकमा पनि एउटा उत्साह हुनुक्छ । पूर्णबहादुरको पात्रलाई सीताराम वा बोक्सी पात्रको रुपमा देखिएको पात्र शान्तिको रुपमा देख्दा दर्शकलाई रिझाउन सक्नुहुन्छ कि सक्दैन भन्ने एउटा चुनौती हो ।
कसैलाई एक वाक्यमा कन्भिन्स गरेर फिल्म देखाउनुपर्यो भने के भन्नुहुुन्छ ?
म चाहिँ यसलाई इन्गेजिङ, एन्टरटेनिङ, इमोसनल राइड भन्छु । दर्शकलाई इन्गेज गरेर राख्न सक्ने एउटा पारिवारिक र इमोसनल राइड भएकाले कारण यो फिल्म दर्शकको मुख्य प्राथमिकतामा हुनसक्छ ।
तपाईंको यो ३८ औं फिल्म र तपाईंको फिल्म करिअर १४ वर्ष पुग्यो । यस हिसाबमा ‘जनै हराएको मान्छे’ तपाईंको लागि संख्यात्मक कि गुणात्मक फिल्म हुनेछ ?
अब आएर चाहिँ संख्या मात्र बढाउने हिसाबले काम गर्न त्यति रहर ऊर्जा हुँदो रहनेछ । त्यस्तो कुराले आकर्षण गर्दो रहनेछ । मेरो हिसाबमा यो संख्यात्मक मात्र नभएर, पात्रको हिसाबले मैले सोसाइटीलाई के प्रेजेन्ट गर्न सक्छु, कुन लेयरको इमोसन लुकेको थियो ? मैले अहिले सम्म नेपाली चलचित्रमा नदेखेको नारी मनोविज्ञानलाई यो फिल्ममा मेरो क्यारेक्टरको माध्यममबाट प्रस्तुत गर्न सक्छु कि भन्ने उद्देश्यले यो फिल्म गरेको हुँ ।
मेरो लागि यो फिल्म गुणात्मक हिसाबले पनि एउटा इटा थप्न सक्ने खालको फिल्म हो । बक्स अफिस के कस्तो हुन्छ त्यो त आफ्नो ठाउँमा छ, म के कुरामा आशावादी छु भने यो फिल्मले दर्शकको पनि मन जित्न सकोस र मेरो करियरमा पनि ए एउटा यस्तो क्यारेक्टर छ है भनेर महसुस दिलाउन सकोस् ।
मेरो पहिलेको फिल्म ‘मसान’ले व्यापारिकरुपमा सफलता हासिल गरेन होला तर, आज पनि मेरो करिअर ग्राफमा फिल्मको नाम लिँदा आउन नाम र पात्रअन्तर्गत पर्छ । त्यस्तै किसिमको एउटा पात्र शान्ति बन्न सकोस भन्ने उद्देश्यका साथ गरेको हो ।
प्रतिक्रिया 4