
News Summary
Generated by OK AI. Editorially reviewed.- ब्रिटिस काउन्सिल नेपालले आयोजना गर्न लागेको ‘यूके फिल्म स्टडी टूर २०२५’मा चारजना नेपाली फिल्ममेकर छनोट भएका छन्।
- छनोट भएका फिल्ममेकरमा अभिनेत्री केकी अधिकारी, फिल्म क्रिटिक अभिमन्यू दीक्षित, निर्देशक निमागेलु लामा र शान्ता नेपाली छन्।
- प्रतिनिधिमण्डलले बेलायतको अग्रणी फिल्म कम्पनीसँग अन्तरक्रिया गर्दै बीएफआई लन्डन फिल्म फेस्टिभलमा भाग लिनेछन्।
काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आयोजना गर्न लागेको ‘यूके फिल्म स्टडी टूर २०२५’मा चारजना नेपाली फिल्ममेकर छनोट भएका छन् ।
अभिनेत्री केकी अधिकारी, फिल्म क्रिटिक तथा लेखक अभिमन्यू दीक्षित, निर्देशक निमागेलु लामा र शान्ता नेपाली छन् ।
ब्रिटिस काउन्सिलले यी चारजनाको नाम घोषणा गर्दै फिल्मको माध्यमबाट नेपाल र बेलायतबीच सांस्कृतिक सम्बन्धको सेतु निर्माणको उद्देश्य राखेको जनाएको छ ।
‘नेपाल र बेलायतकाको फिल्म क्षेत्रबीच सांस्कृतिक र रचनात्मक आदानप्रदानलाई सुदृढ पार्न डिजाइन गरिएको फिल्म अध्ययन भ्रमणको लागि नेपाली गतिशिल फिल्ममेकरको प्रतिनिधिमण्डल बेलायतको यात्रा गर्दैछ’ ब्रिटिस काउन्सिलले भनेको छ, ‘यो पहलले नेपालका उदीयमान प्रतिभालाई बेलायतको विश्व-अग्रणी फिल्म इकोसिस्टमसँग जोड्नेछ- उत्पादन र नीतिदेखि शिक्षा र नवप्रवर्तनसम्म ।’
प्रतिनिधिले बेलायतका अग्रणी फिल्म कम्पनीसँग अन्तरक्रिया गर्नेछन् । साथै, बीएफआई लन्डन फिल्म फेस्टिभलमा भाग लिनेछन् र सह-निर्माण र सिकाइका अवसरहरूबारे बुझ्नछन् ।
‘जसले गर्दा नेपाली सिनेमा भित्र रचनात्मकता र विकासलाई प्रेरित गर्न विश्वव्यापी अन्तर्दृष्टि प्रदान गर्नेछ’ विज्ञप्तिमा भनिएको छ ।
‘ यो पहलले काठमाडौं, ब्राडफोर्ड र ब्रिस्टलबीचको सहकार्यलाई पनि प्रकाश पार्छ, जुन सबै युनेस्कोको फिल्मको रचनात्मक शहरको रूपमा मान्यता प्राप्त छन्’ विज्ञप्तिमा उल्लेख छ । आफूहरूलाई छनोट गरेकोप्रति केकी, अभिमन्यू लगायतले सामाजिक सञ्जालबाट खुसी जनाएका छन् ।
प्रतिक्रिया 4