
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'माग्ने राजा' शुक्रबारदेखि रिलिज तयारीमा छ र टोलीले कलेजमा पुगेर दर्शकलाई फिल्म हेर्न आग्रह गरिरहेको छ।
- फिल्मको गीत 'म त सुतेर उठेको पैसामा' मा कलाकार केदार घिमिरेले विद्यार्थीहरूसँग नृत्य समेत गरेका छन्।
- फिल्मले युनिभर्सल प्रमाणपत्र पाएको छ र मंगलबारदेखि अग्रिम टिकट बिक्री सुरु भई उत्साहजनक शो पाएको छ।
काठमाडौं । शुक्रबारदेखि रिलिज तयारीमा रहेको फिल्म ‘माग्ने राजा’का कलाकारलाई अहिले दर्शक फकाउन भ्याइनभ्याइ छ ।
प्रदर्शनको उल्टो गणना चलिरहँदा फिल्मको टोली अहिले कलेज कलेजमा पुगेर दर्शक भेटिरहेको छ । कार्यक्रममा पनि पुगेर कलाकारले फिल्म हेर्न आग्रह गरिरहेका छन् ।
मंगलबार टोलीले चुच्चेपाटीस्थित मनास्लु कलेज पुगेर फिल्मको प्रवर्धन गर्यो । कलाकार केदार घिमिरे, निर्देशक ऋषि लामिछाने त्यहाँ पुगेर प्रचारप्रसार गरे । दुवै जनाले विद्यार्थीलाई फिल्म हेर्न आग्रह गरे ।
घिमिरेले फिल्मको गीत ‘म त सुतेर उठेको पैसामा’ गीतमा विद्यार्थीसँग नृत्य समेत गरे । यो फिल्मको सेन्सर केही दिनअघि भैसकेको छ । युनिभर्सल प्रमाणपत्र पाएको छ ।
मंगलबारदेखि अग्रिम टिकट विक्री समेत सुरु भएको छ । सुरुवाती चरणमा फिल्मले उत्साहजनक शो पाएको छ । सवै हलले शो नखोली सकेकाले बुधबार साँझसम्म देशभरका अधिकांश हलले टिकट खुलाउने अपेक्षा छ ।
फिल्मलाई मुनाल घिमिरेले निर्माण गरेका हुन् । फिल्ममा केदारसहित वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् । फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सामीप्य तिमल्सेनाको पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत छ ।
प्रतिक्रिया 4