
३ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको अभ्यासतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले नेपालको सामाजिक, सांस्कृतिक र आर्थिक विविधतामा दुई दलीय प्रणाली अनउपुयक्त हुने तर्क गरे ।
‘सत्तारुढ दलहरू दुई दलीय व्यवस्थाको मिसनमा हिँडिरहेको देखिन्छ । नेपालजस्तो बहुवर्गीय सामाजिक तथा आर्थिक हिसाबले विविधतायुक्त समाजमा यो दुई दलीय व्यवस्था न त सैद्धान्तिक रुपमा ठिक छ न त व्यवहारिक ढंगले नै उपयुक्त हुन्छ,’ बस्नेतले भने ।
दुई दलीय प्रयोग अन्तत: एकदलीय व्यवस्थातर्फ धकेलिने उल्लेख गर्दै सत्तारुढ दलहरूको दुई दलीय मिसन नेपाली जनताले पुरा हुन नदिने टिप्पणी समेत उनले गरे ।
‘यो दुई दलीय व्यवस्थाको मिसन अन्तत: एकदलीयमा पुग्ने होला । प्रमुख दुई दलमध्ये त्यो अवसर कसले प्राप्त गर्नुहुनेछ,’ बस्नेतले भने, ‘त्यो उहाँहरूले नै सोचिरहनुभएको होला । तर नेपाली जनताले उहाँहरुको यो मिसन पूरा गर्न दिने छैनन् ।’
प्रतिक्रिया 4