
४ भदौ, काठमाडौं । तीन वर्षअघि दुई नेपाली युवा सौरभ सुवेदी र प्रज्वल शर्माले सुरु गरेको टेक स्टार्टअप ‘एडेक्स इन्टरनेसनल’ एक अमेरिकी कम्पनीले २४ लाख अमेरिकी डलर अर्थात् करिब ३३ करोड रुपैयाँमा किनेको छ ।
अमेरिकाको एक टेक कम्पनी ‘टेकबे डिजिटल’ले एडेक्सको सम्पूर्ण सेयर किन्ने गरी सम्झौता सम्पन्न भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । तीन वर्षको छोटो अवधिमै कम्पनीले २४ लाख डलर मूल्यसहित अमेरिकी प्रविधि कम्पनीमा गाभिने सम्झौता हुनु महत्त्वपूर्ण भएको कम्पनीले जनाएको छ ।
‘यो सम्झौता हुनु दुवै कम्पनीको विकासमा महत्त्वपूर्ण क्षण हो । यसले विश्वको प्रविधि क्षेत्रमा नेपालको उपस्थिति प्रभावशाली हुँदै गरेको संकेत गर्छ,’ विज्ञप्तिमा छ ।
यो कम्पनी क्लाउड कन्सल्टिङ, एडब्लुएस कन्सल्टिङ, डेभओप्स कन्सल्टिङलगायत काम गर्दै आएको छ । ‘तीन वर्षको छोटो अवधिमै एडेक्स नेपालको अग्रणी क्लाउड कन्सल्टिङ कम्पनी बनेको छ भने यसले ६० भन्दा बढी उच्च मूल्यको रोजगारी सृजना गरेको छ,’ कम्पनीले जनाएको छ ।
यो कम्पनी चार्टर्ड एकाउन्टेन्ट सौरभ सुवेदी तथा एरोस्पेस इन्जिनियर प्रज्वल शर्माले सन् २०२० मा स्थापना गरेका थिए । तर, कम्पनीले काम भने सन् २०२२ को जुलाई–अगस्टबाट सुरु गरेको सुवेदीले जानकारी दिए ।

सुवेदी भारतमा सीए पढेर आएका थिए भने शर्मा बेलायत पढेर फर्किका युवा हुन् । नेपालमा प्रविधि कम्पनीको सम्भावना राम्रो देखेर एडेक्स स्थापना र लगानी गरेको सुवेदी बताउँछन् ।
‘तीन वर्षको छाटो अवधिमै एक फस्टाउँदो टेक बिजनेस निर्माण गर्नु हाम्रा लागि उल्लेखनीय यात्रा हो,’ सुवेदीले भने ।
टेकबे डिजिटलले यो जगबाट थप विकास गर्दै जाने र एडेक्सलाई नयाँ उचाइमा पुर्याउने विश्वास रहेको कम्पनीका अर्का संस्थापक प्रज्वल शर्माले बताए ।
‘टेकबे डिजिटलसँग सम्बद्ध अर्को एउटा कम्पनीका लागि हामीले काम गरेका थियौं । उनीहरूले हाम्रो कार्यालय, हामीसँग आबद्ध जनशक्ति तथा उनीहरूको गुणस्तरलाई मन पराए । सोही कारण उनीहरूले कम्पनीलाई खरिद गर्न खोजे,’ संस्थापक सुवेदीले भने ।
खासगरी नेपाल आउटसोर्सिङको हब बन्दै गएको सन्दर्भमा नेपालमा ब्याक अफिस राखेर काम गर्न टेकबेले रुचि देखाएको उनले बताए ।
टेकबे पनि क्लाउड कन्सल्टिङमा काम गरिरहेकाले आफ्नो कम्पनीप्रति उनीहरूको रुचि देखिएको उनको भनाइ छ ।
कम्पनीको सेयर चरणबद्ध रूपमा हस्तान्तरण हुँदै जाने एडेक्सले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
बढीमा ६ देखि ८ महिनासम्म सम्पूर्ण सेयर हस्तान्तरण भइसक्ने अपेक्षा रहेको उनले बताए ।
‘चरणबद्ध रूपमा उनीहरूले भुक्तानी गर्दै जाने र त्यसअनुसार सेयर हस्तान्तरण हुँदै जाने सहमति भएको छ, दुई वा तीन चरणमा यो काम सम्पन्न हुन्छ होला,’ उनले भने ।
प्रतिक्रिया 4