
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले महामन्त्री धवलशमशेर राणालाई गत असोजमा संगठन विभाग प्रमुखबाट पदमुक्त गरिदिए । त्यसबेलादेखि पार्टीभित्र बढ्दै गएको असन्तुष्टि राजसंस्था पुनर्स्थापनाका लागि भएको प्रदर्शनका बेला छताछुल्ल भयो । तीनकुने घटनापछि राणा र लिङ्देन पक्षबीच दूरी झन् बढ्दै गयो ।
अध्यक्ष लिङ्देनले महामन्त्री राणा पक्षधरका नेताहरूलाई पदबाट हटाएपछि अहिले आन्तरिक विवाद चरमोत्कर्षमा पुगेको छ । अध्यक्ष लिङ्देन निर्णय फिर्ता नगर्ने पक्षमा अडिग छन् भने राणा पक्षले उनलाई दबाब बढाउँदै लगेको छ । विवाद बढ्दै गएपछि दुई समूहको छुट्टाछुट्टै बैठक बस्न सुरु भएको छ ।
राप्रपाभित्र झाँगिएको विवाद, सुस्ताएको राजसंस्था पुनर्स्थापनाको आन्दोलन, पार्टी महाधिवेशन, एकता गरेर आएका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्षधरको नाम निर्वाचन आयोगमा अद्यावधिक हुन नसकेको लगायत विषयमा केन्द्रित रहेर एउटा समूहको नेतृत्व गर्दै आएका महामन्त्री राणासँग अनलाइनखबरकर्मी लिलु डुम्रेले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
राजसंस्था पुनर्स्थापनाको मागसहित सडकमा उत्रिँदा तपाईं अगुवामध्येको एक हुनुहुन्थ्यो । अहिले आन्दोलन अस्तायो नि । किन यस्तो भयो ?
अहिले वर्षाको कारण आन्दोलन स्थगित छ । यसमा केही कुराहरू नमिलेका पनि छन् । तर यो एजेन्डा सिद्धिँदैन र मर्दैन । मुलुकमा राजासहितको प्रजातन्त्र अनिवार्य छ । सनातन धर्मसापेक्ष हिन्दू राष्ट्र पनि जरुरत छ । त्यस कारणले यो मुद्दा सिद्धिँदैन । अलि दिनको लागि दबाइएको हुनसक्छ । बर्खापछि अगाडि बढ्छौँ ।
आन्दोलन अगाडि बढाउन केही नमिलेका कुरा थिए भन्नुभयो । के हुन् ती मिल्न नसकेका कुरा ?
सुकेधाराको पार्टी प्यालेसको मिटिङमा नेताहरूबीचमै कुरा मिलेन । पार्टी र संगठनहरू गरी ४६ वटा राजसंस्था पुनर्स्थापना समितिअन्तर्गत थिए । तिनीहरूबीचमै केही कुरा नमिलेर मनमुटाव भयो । तर अब सरसल्लाह गरेर अगाडि बढ्ने योजना छ ।
तर मुल समस्या त राप्रपाभित्रै थियो नि हैन ?
राप्रपाभित्रको समस्या आफ्नै छ । तर अरू घटकहरूमा पनि अलिकति चित्त नबुझेको जस्तो देखियो । समन्वयमा कमी भएजस्तो देखियो । राजसंस्था पुनर्स्थापनाको एजेन्डा अगाडि लानुपर्ने छ । यो मुलुक र जनताको पनि चाहना हो ।
आन्दोलन पनि मौसम हेरेर तय हुने विषय हो र ?
बर्खाको बेला यातायातमा समस्या हुन्छ । बाहिरबाट आएका मान्छेहरूलाई बस्न र कार्यक्रम गर्न पनि गाह्रो हुन्छ । पानीमा भिजेर कार्यक्रम गर्नु त भएन नि । यो आन्दोलन कहीँ भागिरहेको छैन । जनता पनि कहीँ गइरहेका छैनन् । हाम्रो एजेन्डा पनि कहीँ गइरहेको छैन । उपयुक्त समयमा फेरि अगाडि आउँछौँ।
सामूहिक रूपमा आन्दोलन गरेको त्यसबेलाको शक्ति तितरबितर भइसक्यो । अब आन्दोलन गर्नुभयो भने कसको नेतृत्वमा गर्नुहुन्छ ?
राजावादी, राष्ट्रवादी संस्थाहरू छँदै छन् । तिनीहरू कहाँ जान्छन् र ? अब फेरि एकचोटि एकजुट भएर अगाडि बढ्नुपर्ने आवश्यकता छ । कसरी गर्ने, के गर्ने, कसको नेतृत्वमा गर्ने सल्लाह हुँदैछ ।
तपाईंहरूले राजसंस्था ल्याउने भनेर गरेको आन्दोलनकै कारण पार्टीभित्र विग्रह ल्यायो है ?
पार्टीभित्र केही समस्या देखियो । राजसंस्थाप्रति पनि केही व्यक्तिहरू स्पष्ट छैनन् । राजसंस्था, हिन्दूराष्ट्र चाहिन्छ भन्नेमा हामी त स्पष्टै छौँ नि । राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्र हाम्रो मन्त्र नै हो । जसले जे चाहे पनि, जे गर्न खोजे पनि यो एजेन्डा राप्रपाले छोड्न मिल्दैन । अरूले पनि बिस्तारै बुझ्दै जान्छन् ।
राप्रपाभित्रकै केही नेताहरू अस्पष्ट हुनुहुन्छ भनेर मुल नेतृत्वलाई भन्न खोज्नुभएको ?
ठ्याक्कै नामै त लिन सक्दिनँ । तर राप्रपाले जसरी राजसंस्थाको मुद्दा अगाडि लानुपर्ने थियो, त्यो सकेन । यो विषयमा स्पष्ट हुनैपर्छ । मैले त डेढ/दुई वर्षदेखि नै आन्दोलनको प्रयास गरिरहेको हो । सहजीकरण पनि गरेको हो । तीनकुनेमा भने हामीलाई फसाइयो । राज्यले तीनकुने घटनापछि आन्दोलन दबायो । मलाई र रवीन्द्र मिश्रजीलाई थुन्यो पनि । अहिले राजद्रोहसम्मको मुद्दा खेपिरहेको छौँ । तर पनि हामी पछाडि हटेको छैनौँ ।
तपाईंहरू राजसंस्था पुनर्स्थापनाको माग लिएर हिँड्दा पार्टीभित्रै अर्को पक्षको चित्त नबुझे जस्तो देखिन्थ्यो । यो मागलाई लिएर हुने प्रदर्शनमा पार्टीभित्र स्पष्ट दुई कित्ता थियो । हैन ?
दुई कित्ताभन्दा पनि कुन हदसम्म अगाडि जाने भन्ने थियो । केन्द्रीय कार्यसमितिले तीनकुने घटनाभन्दा पहिले एउटा निर्णय गर्यो, सबै राजावादी, राष्ट्रवादी समूहलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले साथ-सहयोग दिने र आन्दोलनमा सहभागी हुने । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजावादी, राष्ट्रवादी सबै समूह, पार्टीहरूलाई साथ दिएर अगाडि हिँड्ने निर्णय गरिसकेको छ ।
तपाईंहरूले संयुक्त जनआन्दोलन समिति बनाउँदा अध्यक्ष राजेन्द्र लिङ्देनलाई बाइपास गरेर अगाडि बढ्नुभएको हो नि ?
त्यो समिति मैले बनाएको होइन । मेरो नाम साथीहरूले हालिदिएका हुन्। अध्यक्षजी पनि त्यो समितिमा हुनुहुन्छ । कमल थापा पनि हुनुहुन्छ । चार प्रमुख नेताहरू नवराज सुवेदी, राजेन्द्र लिङ्देन, कमल थापा, केशबहादुर विष्टको समिति पनि बनेको थियो । उहाँहरूकै नेतृत्वमा जेठको आन्दोलन अगाडि गएको हो ।
राजसंस्था पुनर्स्थापनाको माग गर्दै आएको दलले पार्टीको मुल नेतृत्वबाट पर गएर अरू व्यक्ति खोजेर किन नेतृत्वदायी भूमिका दिनुपरेको नि ?
मैले खोजेको होइन । साथीहरूले नवराज सुवेदी एउटा सिनियर नेता भएकोले सबैजनाले उहाँको नेतृत्व स्वीकार्छन् भनेरै अगाडि सारेको होला ।
सुवेदीको नेतृत्वलाई अध्यक्ष लिङ्देनले सहज लिनुभएन । तपाईंहरू सक्रिय भएर लाग्नुभयो । त्यहीँबाट पार्टीभित्र समस्या सुरु भएको हो नि ?
प्रत्यक्ष देखिँदा त्यस्तो होइन । पछाडि फर्केर हेर्दा हो कि भन्ने हुन्छ ।
तपाईंहरूले आन्दोलनको नेता मानेको नवराज सुवेदीले पार्टी छोडेको घोषणा गर्नुभयो । उहाँले जिम्मेवारी पाएको अनुशासन समितिको संयोजकमा अर्को व्यक्ति मनोनित गरेपछि तपाईंहरू अध्यक्षविरुद्ध आक्रामक किन त ?
पार्टीमा मुल समस्या आएको बिन्दु चाहिँ त्यही हो । सबैजनालाई एक ठाउँमा मिलाउनको लागि नवराजजीले पार्टी छोडेको भन्नुभयो । तर पार्टीमा राजीनामा दिने भनेको लिखित हुनुपर्छ । मैले आज पार्टी छोडेँ भन्ने बित्तिकै छोडिँदैन । अनुशासन समिति पार्टीको केन्द्रीय समितिअन्तर्गत हुनुपर्छ । अनुशासन समितिको कार्यकाल चार वर्षको लागि हो । त्यसरी हेरफेर गर्न नमिल्ने भएकोले त्यसको विरुद्धमा निर्वाचन आयोगमा दरखास्त हालेका छौँ ।
सार्वजनिक रूपमा पार्टी परित्याग गरिसकेँ भनेको व्यक्तिले अनुशासन समिति संयोजक पदमा कायम छु भन्न मिल्ने कुरा हो ?
पार्टी छोडें भनेर छोडिने होइन नि । त्यसको नियम हुन्छ । निकाल्ने हो भने स्पष्टीकरण सोधिएको हुनुपर्छ । पार्टी छोड्नेले निवेदन दिनुपर्यो । लिखित राजीनामा दिनुपर्यो। कसैले म पार्टी छोडें भन्ने बित्तिकै उसलाई निकाल्दिने गर्नु त भएन । नवराजजीले पार्टी छोड्नुभएको छैन ।
सडकमा आन्दोलनको उभार आएको भए पार्टीमा नवराज फर्कने थिएनन्, आन्दोलन सुस्ताएपछि फेरि पार्टीमा फर्किन लागे भन्छन् नि ?
त्यस्तो होइन । अनुशासन समिति भनेको कारबाही गर्ने निकाय हो । नेताहरूलाई कारबाही गर्नेभन्दा पहिले धेरै प्रक्रिया पूरा गर्नुपर्छ । त्यो समितिमा एउटा अनुभवी, जिम्मेवार नेता हुनुपर्छ । हामीले पनि नवराजजीलाई अनुशासन समिति छोड्न दिन्नौं भनेकै हो ।
आजकल राप्रपामा सानो-सानो कुरामा नेताहरूलाई कारबाही गर्ने, पदबाट मुक्त गर्ने योजनाहरू अगाडि बढिरहेको छ । यस्तै कारबाहीहरू नहोस् र नेता/कार्यकर्ताहरूको संरक्षण होस् भनेर नै नवराजजीलाई हामीले छोड्न मिल्दैन भन्यौँ । उहाँले पनि राजीनामा दिएर छोड्नुभएको छैन । अहिले निर्वाचन आयोगले पार्टीलाई त्यसबारेमा जानकारी लिन पत्र पठाएको छ ।
एउटा बैठकमा अध्यक्ष लिङ्देनले नवराज सुवेदीलाई ‘तपाईं पार्टीमा रहनुपर्छ’ भनेर बोल्दै नबोलेको कुरा तपाईंहरूले विज्ञप्तिमा लेखेको आरोप छ नि ?
आन्दोलनकै बेला डा. प्रकाशचन्द्र लोहनीको घरमा एउटा बैठक बस्यो । त्यसमा अध्यक्षसहित पशुपतिशमशेर राणा, हरिबहादुर बस्नेत र नवराज सुवेदी बसेर राजीनामाको कुरा टुंग्याइयो । आ-आफ्नो काममा लागौं, अब केही वादविवाद नगरौँ भन्ने सहमति भएको हो । यस विषयमा पशुपतिशमशेर, हरिबहादुर, डा. लोहनीसँग कन्फर्म गर्न सक्नुहुन्छ ।
अर्को, विधानमा पदमुक्त गर्न प्रस्ताव केन्द्रीय समितिले ल्याउनुपर्छ प्रष्ट लेखिएको छ । केन्द्रीय कार्यसमिति र कार्यसम्पादन समितिमा ल्याएर पास गर्नुपर्छ । जो व्यक्तिहरू नियुक्ति भएका छन्, तिनीहरूलाई पनि विधानअनुसार नियुक्ति गर्न मिल्दैन ।
पदमुक्त गर्ने, नियुक्त गर्ने अधिकार अध्यक्षलाई भएको संस्थापन पक्षले भनिरहेको छ । विज्ञप्ति निकाले र जहाँ जति कराए पनि निर्णय फिर्ता हुने सम्भावना छैन भनेर भनेको भन्यै हुनुहुन्छ !
उहाँलाई भन्न मैले कसरी रोक्न सक्छु । पार्टी अध्यक्षको व्यक्तिगत घर त होइन । व्यक्तिगत कम्पनी होइन । आज यसलाई नियुक्ति गर्ने, भोलि अर्कोलाई निकाल्दिने भन्ने त्यस्तो गर्न कहाँ मिल्छ ? त्यो विधानमा नियुक्ति गर्ने, हटाउने सबै प्रक्रियाहरू लेखिएको छ । पार्टी प्रजातान्त्रिक प्रणालीमा चल्नुपर्छ । एकल निर्णयले पार्टी चलाउन खोज्दा दुर्घटना भइरहेको छ ।
केही दिनअघि मेचीनगरमा पुगेर अध्यक्ष लिङ्देनले विचार नमिल्नेहरू पार्टी छोडेर गए हुन्छ भन्नुभयो । तपाईंहरू अध्यक्षविरुद्ध जाने अन्तिम विन्दु कहाँसम्म हो ?
हामी पार्टी छोड्दैनौँ, पार्टी फोड्दैनौँ । अध्यक्षले के गर्नुहुन्छ, बाँकी उहाँको इच्छा हो । धेरै मिहिनेत गरेर, अवरोध सहेर पार्टीमा योगदान गरेका छौं । जे-जस्तो परिस्थिति आए पनि महाधिवेशन कुरिरहेको छौँ । यही मंसिरमा महाधिवेशन गर्नुपर्नेछ । अब महाधिवेशनमा ४ हजार कार्यकर्ताले भोट हालेर नेतृत्व चयन गर्छन् । जस्तो नेतृत्व चयन गर्लान्, पार्टी त्यसरी नै अगाडि बढ्छ ।
आगामी मंसिरमा महाधिवेशन हुने छाँटकाँट देखिएको छैन । समयमा महाधिवेशन भए तपाईंहरूको कदम के हुन्छ ?
महाधिवेशन त समयमा हुनैपर्छ । यही तानातानले पार्टी नचल्ने स्थिति छ । अध्यक्षको कार्यकाल ४ वर्षको हुन्छ । त्यसपछि थप्न पाउने भनेको केन्द्रीय समितिबाट हो । अध्यक्ष आफैँले थप्ने होइन । केन्द्रीय समितिमा उहाँले समय थप्ने एजेन्डा लिएर जानुभयो भने हामी त्यसको विपक्षमा उभिन्छौँ । समय भइसक्यो, अब महाधिवेशन हुनुपर्छ भन्छौँ ।
महाधिवेशनको प्रक्रिया सुरु हुन लागेलगत्तै पर्यवेक्षकलाई लिएर विवाद गर्नुभयो । दुई समूहको बीचमा गएर ती पर्यवेक्षकले तल कसरी काम गर्न सक्छन् ?
पर्यवेक्षकले निष्पक्ष रूपले जिल्ला अधिवेशन भइरहेको छ कि छैन भनेर हेर्ने मात्रै हो । पर्यवेक्षकहरूको केही अधिकार छैन । अधिवेशनलाई प्रभावित गर्नसक्ने भूमिकामा उनीहरू हुँदैनन् । हामीले पनि छुट्टै पर्यवेक्षक पठाउँछौँ ।
दुई समूहका पर्यवेक्षक बनाएर विवाद तलैसम्म लान खोज्नुभएको हो ?
पर्यवेक्षकले निष्पक्ष र समयमा निर्वाचन र प्रतिनिधिहरू चयन भइरहेको छ/छैन हेर्ने मात्रै हो । त्यहाँ दुई जना, चार जना, पाँच जना भएर के फरक पर्यो ? उनीहरूले निर्देशन दिन पाउँदैनन् । उनीहरूको निर्देशन जिल्लाले मान्नुपर्ने छैन । हाम्रो पनि सबै ठाउँमा मान्छेहरू छँदै छन् । अब पर्यवेक्षक हामी पनि खटाउँछौँ ।
तपाईंहरूको विवाद बढ्दै जानुको कारणमा महाधिवेशनलाई जोडेर पनि विश्लेषण गरिन्छ । महाधिवेशन केन्द्रित ध्रवीकृत हुँदा विवाद बढेको हो कि ?
हुनसक्छ । महाधिवेशन आइसक्यो भनेर एउटा पक्ष आत्तिएको हुनसक्छ ।
तपाईंहरू पनि आफ्नो सक्रियता बढाइरहनुभएको छ । महाधिवशेनलाई ध्यानमा राखेर नै हो ?
एकलौटी पार्टीको महाधिवेशन गर्न खोजे विरोध त भइहाल्छ । अस्ति युवक संगठन काठमाडौंको अधिवेशन एकलौटी गर्न खोजिएको थियो । युवाहरूले मानेनन् । एकलौटी गर्न खोजिए त्यस्तै हुन्छ ।
पार्टी अध्यक्षले अधिवेशन रोक्न दिएको निर्देशन तपाईहरूले किन स्वीकार्नु भएन ?
पार्टी अध्यक्षले एकलौटी गर्न खोजेपछि कसले स्वीकार्छ ? म पार्टी अध्यक्ष हुँ, मैले एकलौटी रूपले अरूलाई निषेध गरेर अगाडि बढ्छु भने कसैले मान्दैन ।
पार्टीको मुल नेतृत्वले भनेको कुरालाई अस्वीकार गरेर बनेको नयाँ समितिले कसरी मान्यता पाउँछ ?
युवक संगठनको आफ्नै विधान छ । उक्त संगठनको अधिवेशनमा प्रतिनिधिको सूची सार्वजनिक गरिएको थिएन । भोटर को हो नै थाहा थिएन । त्यस्तो अवस्थामा अधिवेशन गराउन लागेर कहाँ हुन्छ ? अनि ताली बजाएर ‘ल यसलाई बनाउँ भनेर टीका लाइदिने योजना कसले मान्छ ?
समस्या र असन्तुष्टि छन् भने पार्टीको आधिकारिक फोरममा बोल्नुपर्नेमा बाहिर-बाहिर बोल्ने गरेको आरोप तपाईंहरूमाथि छ नि ?
पार्टीको फोरममा भन्याभन्यै छौं नि । सुनुवाइ नभएर पो निर्वाचन आयोग गएको त । निर्वाचन आयोगबाट सुनुवाइ भएन भने भोलि अदालत पनि जानु पर्ला । घरभित्र कुरा नमिलेपछि बाहिर जान्छन् । झगडा सबैभन्दा पहिले भित्रै मिलाउन खोजेको हो । तीन वर्षदेखि झगडा मिलाउन खोज्दैछौँ । उहाँलाई सहयोग गर्न गएको छु । सँगै अगाडि बढौँ भनेको छु ।
३०-३० वर्ष पुराना कार्यकर्ताहरूलाई स्पष्टीकरणसमेत नसोधी पदबाट हटाइदिने, बेइज्जत गर्दिने, एकल निर्णयले अधिवेशन गर्दिने, टीका लगाइदिने ? जबर्जस्ती गर्न खोजेपछि त अर्को पक्ष कराइहाल्छ नि ।
पार्टीमा निर्णय हुँदा महामन्त्रीसँग अध्यक्षको कुनै कुराकानी हुँदैन ?
अध्यक्षज्यूले सरसल्लाह गर्न खोज्नुभयो भने हामी त्यसभन्दा बाहिर छैनौँ । तर एकल निर्णयमा महाधिवेशन, पार्टी तथा कार्यकर्तालाई निषेध गर्ने र निकाल्न खोजियो भने स्वीकार गर्न सकिँदैन । मिलेर जाऊँ भन्यो भने को मान्दैन ? कसलाई झगडा गर्न मन छ ?
झगडा गरेर जगहसाइ भइरहेको छ । कार्यकर्ता रोइरहेका छन्, दुःख मानिरहेका छन् । पार्टी फुट्ला कि भनेर पिर गरिरहेका छन् । सबैलाई निकालेर एक्लै कब्जा गर्छु भने अन्यायको विरुद्ध लड्ने मान्छे हो । अन्याय हुँदा पनि चुप लागेर बस्ने मान्छे म होइन ।
पदमुक्त भएका व्यक्तिको पुनर्बहाली भएन भने तपाईंहरूले चाल्ने कदम के हुन्छ ?
हेर्दै जाउँ । मैले एक्लै निर्णय गर्ने होइन । युवा नेताहरू धेरै छन् । सबैको कुरा सुनेर निर्णय लिने हो । म एक्लै यो गर्छु भन्दा भन्दिनँ र गर्दिनँ पनि ।
तपाईंहरूबीचमा देखिएको वैमनस्यको एउटा कारण को बढी राजावादी देखिने विषय पनि हो भन्छन् । पूर्वराजाको खास व्यक्ति हुनका लागि यो विवाद आएको आरोपलाई के भन्नुहुन्छ ?
राजा सबैको साझा हुन् । राजा कुनै पार्टीको होइन, कोही व्यक्तिको होइन । राजाले सबैलाई हेर्ने दृष्टिकोण समान छ । राजालाई राजनीतिमा ल्याउनु पनि हुन्न । पार्टीको विवादमा हामीले अल्झाउनु हुँदैन ।
पार्टी एकता गरेर आएको एक पक्षका नेताहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक भएको छैन । तपाईं महामन्त्री भएर उहाँहरूको नाम अद्यावधिक गर्न आवश्यक पहल नगर्नु भएको हो ?
रवीन्द्र मिश्रको ग्रुपको कुरा गर्नुभएको होला । आठपटक कार्यसम्पादनमा मैले यो कुरा उठाइसकेँ । तीनपटक सेन्ट्रल कमिटीमा कुरा उठाइसक्यौँ । गर्ने हो भनेर जवाफ आउँछ, गरिँदैन । कुट्नु भएन, मार्नु भएन, पिट्नु भएन । बोल्ने त हो । रवीन्द्र मिश्रजी र उहाँको टिमले पनि भन्नुभएको छ ।
एकता गरेको तीन वर्ष भइसक्यो, निर्वाचन आयोगमा रवीन्द्र मिश्र पक्षका साथीहरूको नाम अद्यावधिक गर्न पठाइएको छैन । टेक्निकल्ली हेर्ने हो भने त उहाँहरू पार्टीमै हुनुहुन्न । यस्तो अन्याय पनि गर्ने हो ? पार्टी छोडेर, विभाजित भएर वरिष्ठ मान्छेहरू यो पार्टीमा आएका छन् । उनलाई घरका न घाटका बनाइदिने हो ?
अद्यावधिक नै नगर्ने भए किन पार्टीमा ल्याउने ? आज-भोलि पार्टीको भोटिङ नै गर्नुपर्यो भने उहाँहरू त मेम्बर नै होइन । भोटिङ नै गर्न पाउनुहुन्न । महाधिवेशन आउने बेला भइसक्यो, उहाँहरूको नाम अद्यावधिक गर्न प्रक्रियामै लानुभएको छैन ।
अध्यक्षका निर्णयहरूविरुद्ध लागिरहनुभएको छ । तपाईंहरूलाई रवीन्द्र मिश्र पक्षको समर्थन छ ?
हाम्रो साथमा हुनुहुन्छ वा हुनुहुन्न उहाँहरूले नै जान्ने कुरा हो । उहाँहरूको पक्षमा हामीले बोल्दिएका छौँ ।
यही भदौमा केन्द्रीय समितिको बैठक बस्ने भनिएको थियो । बैठक आह्वान किन हुन सकेन ?
बैठकमा अध्यक्षमाथि तमाम प्रश्न उठ्नेछन् । मिडियामा जे विषय आइरहेका छन्, ती सबै प्रश्नै-प्रश्न हुन् । तर अब बैठक नगरी अध्यक्ष कहाँ जाने र ? पार्टी त चल्नै पर्ला ।
महाधिवेशनको समय निश्चित हुनुपर्यो भन्ने विषय उठाउँछौ । बैठकमा मिश्रजीहरूको नाम अद्यावधिक किन नगरेको भन्ने प्रश्न उठ्छ । नेताहरूलाई कारबाही गरेका कुराहरूलाई फिर्ता गर्ने माग हुन्छ । महाधिवेशन एकलौटी गर्न नदिने कुरा उठाउँछौं ।
केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकअघि तपाईंको समूहको बैठक बस्छ कि ?
उहाँहरूले समूहको बैठक बसाउन सुरु गर्नुभयो । अनि, हामी पनि बाध्य भएर बसिरहेका छौँ ।
आगामी महाधिवेशनमा तपाईं अध्यक्षको दाबेदार हो ?
म अध्यक्षको उम्मेदवार हुन्छु/हुन्न अहिले नै भन्दिनँ । पार्टीका नेता र कार्यकर्ताले जसलाई अगाडि सार्छन्, सहर्ष स्वीकार गर्छु ।
एउटा समूहले तपाईंलाई अघि सारिसकेको देखिन्छ नि होइन र ?
समूहभित्र आधिकारिक निर्णयहरू भएको छैन । तपाईंले नेतृत्व गरेर महाधिवेशनमा जानुपर्छ भन्नुभयो भने म नाइँ भन्दिनँ । तर म बाहेक अर्को हुनै सक्दैन भन्ने पनि होइन । सबैको राय र सल्लाहमा चल्छु ।
तस्वीरः आर्यन धिमाल
प्रतिक्रिया 4