+
+
Shares

निक्की हेलीले भनिन्- चीनको महत्वाकांक्षा रोक्न अमेरिका-भारत सम्बन्ध सुधार्नुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ५ गते ८:३१

५ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघका लागि अमेरिकाकी पूर्वराजदूत निक्की हेलीले भारत–अमेरिका सम्बन्ध एक नाजुक मोडमा पुगेको बताएकी छन् । यदि चीनको ‘वैश्विक महत्वाकांक्षा’लाई नियन्त्रण गर्न चाहने हो भने अमेरिकाले भारतसँगको सम्बन्ध सकेसम्म चाँडो सुधार गर्नुपर्ने उनको धारणा छ ।

बुधबार न्यूजवीकमा प्रकाशित एउटा लेखमा हेलीले डोनाल्ड ट्रम्प प्रशासनलाई रूसी तेल र ट्यारिफ विवादका कारण अमेरिका– भारतबीच दरार बढ्न नदिन सुझाव दिएकी छन् ।

‘चीनको सामना गर्नका लागि, अमेरिकालाई भारतजस्तो साथीको आवश्यकता छ,’ उनले लेखेकी छन्, ‘…सरल शब्दमा भन्नुपर्दा, जति भारतको शक्ति बढ्छ, त्यति नै चीनको महत्वाकांक्षा कम हुन्छ ।’

भारत–अमेरिका बीच रूसी तेलको विषयमा तनाव

भारतले रूसबाट तेल किन्ने कार्यलाई जारी राखेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत शुल्क लगाउने निर्णय गरेका थिए । त्यसपछि अमेरिका र भारतबीच तनाव बढेको छ । भारतले भने आफ्नो ऊर्जा आवश्यकता पूर्तिका लागि रुसबाट तेल आयात गर्नुपरेको स्पष्ट पार्दै उपयुक्त समयमा अमेरिकाको जवाफ दिने बताएको छ ।

हेलीले ट्रम्पको दबाब अभियानलाई समर्थन भने गरेकी छन् । उनले भारतले रुसबाट तेल खरिद गर्दा ‘रुसले युक्रेनविरुद्ध जारी राखेको निर्दयी युद्धलाई वित्तपोषण गर्न सहयोग पुर्‍याइरहेको’ उल्लेख गरेकी छन् । तर, उनले भारतसँग शत्रुजस्तो व्यवहार भने नगर्न अमेरिकालाई सुझाव दिएकी छन् ।

उनले चेतावनीको शैलीमा भनेकी छन्, ‘एशियामा चिनियाँ प्रभुत्वको सामना गर्न सक्ने एक मात्र देश (भारत) सँग २५ वर्षमा भएको प्रगतिलाई नष्ट गर्नु एक रणनीतिक दुर्घटना हुनेछ ।’

हेलीले वाशिङ्टनका आर्थिक र सुरक्षा लक्ष्यका लागि भारतसँगको सहकार्य अपरिहार्य रहेको तर्क गरेकी छन् ।

त्यसैले दक्षिण क्यारोलिनाकी पूर्व गभर्नर हेलीले ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच प्रत्यक्ष वार्ताको सुझाव दिएकी छन् । ताकि सम्बन्ध थप नबिग्रिओस् ।

हेलीका अनुसार, भारतको उदय चीनको आर्थिक उभारपछि भएको सबैभन्दा महत्वपूर्ण भूराजनीतिक विकास हो ।

त्यसैले उनले भनेकी छन्, ‘यदि अमेरिका र भारतबीच सम्बन्ध सुधारको तुरुन्तै कदम चालिएन भने बेइजिङले यस दरारको फाइदा उठाउनेछ ।’

यसका अतिरिक्त हेलीले १९८२ मा ह्वाइट हाउसमा रोनाल्ड रेगनले इन्दिरा गान्धीलाई भनेका शब्द दोहोर्याउँदै निष्कर्षमा लेखेकी छन्, ‘भलै वाशिङ्टन र नयाँदिल्ली कहिलेकाहीँ फरक बाटोमा हिँडुन्, तर उनीहरूको गन्तव्य एउटै हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?