
५ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर यो कार्यकालमा १७ पटक विदेश भ्रमण गएको बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै भट्टराईले उपसभामुख यसरी १७ पटक विदेश जानु असामान्य भएको बताए ।
उनले भने, ‘१७ पटक सामान्य हैन । १७ पटकमध्ये ७ पटक सभामुखज्यूले स्वीकृति गरेर भ्रमण गर्नुभएको देखिन्छ । तर १० पटक कसैले पनि स्वीकृत गरेको छैन । के आधारमा उहाँ भ्रमण गरिरहनुभएको छ ? कहाँ जानुभएको छ ? कसको निम्तोमा जानुभएको छ ? सामान्य डिप्लोमेटिक डेकोरमहरू हुन्छन् । त्यो डेकोरम यो गम्भीर विषय हो ।’
१०/१० पटक कसैको जानकारी विना, सभामुखको स्वीकृति विना उपसभामुख रानामगर विदेश भ्रमण गएको कुरा आचरण हो कि होइन भनेर उनले प्रश्न गरे ।
उनले अगाडि भने, ‘यो आचरणको विषय हो कि होइन ? उपसभामुखले पालना गर्नुपर्ने विषय हो कि होइन ? त्यसको इन्स्टिट्युसनल मेमोरी के छ ? उहाँ अमेरिकामा गएर भाषण गर्नुभएको छ । त्यसको इन्स्टिट्युसनल मेमोरी के छ यो संसद्मा ? परराष्ट्र मन्त्रालयमा के छ ? हाम्रो डिप्लोमेटिक एजेन्सीहरूमा के छ ? यो प्रश्न हो कि होइन ? धारा ९१ प्रयोग गर्ने कि नगर्ने पछि छलफल गरौंला । तर यी प्रश्नहरू हुन् ।’
उपसभामुख रानामगरमाथि उठेका यी प्रश्नहरूको जवाफ यो संसद्ले खोज्ने उनले बताए ।
उनले भने, ‘उपसभामुख, सभामुखज्यूसँग पनि संसद्ले यसको खोज्छ खोज्छ । संसद्का प्रत्येक सदस्यहरू, पदाधिकारीहरू अनुशासनमा बस्नुपर्छ । राष्ट्रको हितमा चल्नुपर्छ । नेपालको सामान्य कूटनीतिक मर्यादालाई पालना गर्नुपर्छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्छ ।’
जनजाति महिला उपसभामुखलाई हटाउने प्रयास भइरहेको भनेर गरिएको प्रचारलाई उनले इमोसनल ब्ल्याकमेलिङको संज्ञा दिए ।
उनले भने, ‘इमोसनल ब्ल्याकमेलिङ गर्न आवश्यक छैन । एउटा कोही जनजाति महिला उपसभामुखबाट हट्यो भने त्यो ठाउँमा अर्को दलित महिला आउन सक्छ । यो सभामा ९२ जना दलित महिला सदस्यहरू हुनुहुन्छ । मधेशी महिला आउन सक्छ । जनजाति महिला आउन सक्छ । त्यसकारण यो इमोसनल ब्ल्याकमेलिङ गरेर विषयवस्तुको गम्भीरतालाई टाढा पुर्याउने काम विल्कुलै गलत हो ।’
जनजातिको त्यस्तो प्रश्न उठाउने माननीयज्यूहरूले सुवास नेम्वाङलाई राष्ट्रपतिमा किन भोट नहालेको भनेर उनले प्रश्न गरे ।
‘सुवास नेम्वाङलाई राष्ट्रपतिमा किन भोट नहालेको ? त्यतिबेला कहाँ जानुभएको थियो ? अष्टलक्ष्मी शाक्यजीलाई त उपराष्ट्रपतिमा भोट हाल्नुभएन ? महिलाप्रति आँसु झार्ने माननीयज्यूहरू कता जानुभएको थियो ?’ उनले भने, ‘त्यसकारण यो इमोसनल ब्ल्याकमेलिङको कुरा हैन । यहाँ राजनीतिको कुरा हो । राजनीतिले गाइड गर्छ । यस्ता इमोसनल ब्ल्याकमेलिङको केही अर्थ छैन । म त्यो कुरा प्रष्ट गर्न चाहन्छु ।’
प्रतिक्रिया 4