+
+
Shares

७०० बोरा चिनीको भिडिओ हेडक्वार्टर आयो, डीएसपीले छापा मार्दा ५९४ बोरा गायब

डीएसपीलाई हेडक्वार्टर तानियो, १७ जनामाथि अनुसन्धान सुरु

७०० बोराभन्दा बढी चिनी भण्डारण गरेर राखिएको भिडिओसहितको सूचना आएको थियो, तर छापा मारेर गौर भन्सार कार्यालयमा बुझाउँदा जम्मा १०६ बोरा देखाइयो । त्यसपछि सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले छानबिन गर्न निर्देशन दिए ।

नारायण अधिकारी नारायण अधिकारी
२०८२ भदौ ६ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सशस्त्र प्रहरी बलले रौतहटको गरुडा नगरपालिका शिवनगरमा अवैध रूपमा भण्डारण गरिएको ७०० बोरा चिनीको सूचना पाएपछि छानबिन सुरु गरेको छ।
  • छानबिनमा डीएसपी अमर लामालाई हेडक्वार्टर तानेर कारबाही प्रक्रिया अघि बढाइएको र उनीसहित १७ जनामाथि अनुसन्धान भइरहेको छ।
  • प्रारम्भिक जाँचले ६०० बोरा चिनी गायब भएको र तस्करीमा सशस्त्र प्रहरीकै मिलेमतो रहेको आशंका गरिएको छ।

६ भदौ, काठमाडौं । सशस्त्र प्रहरी बलको हेडक्वार्टरमा गत साउन अन्तिम साता भिडिओसहितको सूचना आयो- ७०० बोरा तस्करीको चिनी भण्डारण गरिएको छ, कारबाही गर्नुपर्‍यो ।

भण्डारण गरिएको घर र चिनीका बोराको भिडिओसहितको जानकारी आएपछि सशस्त्र हेडक्वार्टरले कारबाहीका लागि मातहत निकायलाई निर्देशन दियो ।

रौतहटको गरुडा नगरपालिका शिवनगरमा रहेको उपेन्द्र सहनीको घरमा भन्सार छलेर ल्याइएको ७०० बोराभन्दा बढी चिनी भण्डारण गरिएको सूचनामा बताइएको थियो ।

चिनी भण्डारण गरिएको ठाउँ प्रस्तावित सीमा सुरक्षा गुल्म गौरको एरियामा पर्छ । जसका कारण प्रस्तावित सीमा सुरक्षा गुल्म गौरका प्रमुख तथा सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) अमर लामालाई अवैध चिनी भण्डारण गरेर राखिएको ठाउँमा छापा मार्न निर्देशन भयो ।

२९ साउन राति डीएसपी लामाको टोलीले सहनीको घरमा छापा मार्यो । चिनी बरामद गर्‍यो र भन्सार कार्यालयमा बुझायो । घटना यत्तिकै सेलाएको थियो । तर जब भन्सार कार्यालयमा बुझाइएको चिनीको परिमाणबारे थाहा भयो, सशस्त्र प्रहरी हेडक्वार्टर नै चकित भयो ।

७०० बोराभन्दा बढी चिनी भण्डारण गरेर राखिएको भिडिओसहितको सूचना आएको थियो, तर छापा मारेर गौर भन्सार कार्यालयमा बुझाउँदा जम्मा १०६ बोरा देखाइयो । त्यसपछि भने सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले घटनाको छानबिन गर्न निर्देशन दिए ।

अहिले यो प्रकरणको छानबिन सुरु भएको सशस्त्र प्रहरीले बताएको छ । ‘ठूलो परिमाणको चिनी भण्डारण गरिएको ठाउँबाटै हराएपछि छानबिन सुरु गरेका छौं । केही व्यक्तिलाई जिम्मेवारीबाट हटाएर आन्तरिक छानबिन अघि बढाएका छौं । विस्तृत छानबिनपछि यथार्थ विवरण आउला,’ सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले भने ।

प्रारम्भिक जाँचका क्रममा अवैध रूपमा चिनी भित्र्याएका व्यक्तिले केही रकम दिएर करिब ६०० बोरा चिनी बरामद नगर्न लगाएको हुनसक्ने आशंका गरिएको छ । तर बाँकी चिनी पनि त्यो घरमा अहिले छैन । चिनी अन्यत्रै लगेर लुकाइएको देखिन्छ ।

कारबाही गर्न निर्देशन दिँदा सशस्त्र हेडक्वार्टरले चिनीको परिमाण खुलाएको थिएन । जसका कारण हेडक्वार्टरलाई पत्तो नहुने सोचेर डीएसपी लामाले करिब ६०० बोरा चिनी नै गायब पारेको आरोप छ ।

१०६ बोरा चिनीसँगै ९ बोरा सिमेन्ट, १० बोरा मल, लुगा धुने सर्फ ९ बोरा पनि बरामद गरेर बुझाइएको भन्सारको रेकर्डबाट खुलेको छ ।

सीमावर्ती जिल्लाहरूबाट चिनीलगायतका खाद्यन्न तथा लत्ता कपडा र अन्य सरसामानसमेत निन्तर तस्करी हुने गरेका विषय सार्वजनिक हुँदै आएका छन् । सीमा सुरक्षा र भन्सार जाँचमा खटिएको सशस्त्र प्रहरीकै मिलेमतोमा तस्करी हुने गरेको आरोप पनि लाग्दै आएको छ । अहिले फेरि बरामद गर्नुपर्ने तस्करीको चिनी सशस्त्र प्रहरीकै मिलेमतोमा गायब पारेको घटना बाहिरिएको छ ।

डीएसपीलाई हेडक्वार्टर तानियो

घटनामा प्रत्यक्ष जोडिएको भन्दै त्यहाँका डीएसपी लामालाई हेडक्वार्टर झिकाइएको छ । जिम्मेवारी खोसेर सशस्त्र प्रहरीले उनीमाथि आन्तरिक छानबिन अघि बढाएको छ ।

डीएसपी दर्जासम्मको व्यक्तिलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)ले नसियत दिनसक्ने सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भए पनि डीएसपी लामालाई भने हेडक्वार्टर नै तानेर अनुसन्धान अघि बढाइएको छ । लामामाथि नसियतभन्दा माथिल्लो कारबाही हुनसक्ने अवस्था रहेको सशस्त्र हेडक्वार्टर स्रोतले बताएको छ ।

हेडक्वार्टर तानिएका लामा करिब ४ महिनाअघि मात्रै रौतहट पुगेका थिए । उनी यसअघि पनि रौतहटको बोर्डर आउट पोस्ट (बीओपी)मा बसेका थिए ।

यो छापा हान्दाका मुख्य कमान्डर नै लामा भएकाले उनैको मुख्य भूमिका हुनुपर्ने भन्दै सशस्त्रले त्यही अनुसारको कारबाही गर्ने तयारी गरेको छ ।

यसअघि गत मंगलबार मात्रै आईजीपी राजु अर्यालले भर्चुअल माध्यमबाट सीमा क्षेत्रमा तैनाथ युनिटका कमान्डरहरूलाई निर्देशन दिँदै सीमामा कुनै कमजोरी देखिए कमान्डर भागिदार हुने बताएका थिए ।

‘सीमा क्षेत्रमा हुने अवैध चोरी-तस्करी नियन्त्रणका लागि मुख्यालयले समेत सूक्ष्म निगरानी गरिरहेको र त्यसमा कतै कमी-कमजोरी देखिएमा कुनै पनि कमान्डर कारबाहीको भागिदार हुन्छ,’ आईजीपी अर्यालले भनेका थिए ।

सोही नीतिअनुसार अहिले कमान्डर लामालाई हेडक्वार्टर तानेर कारबाही प्रक्रिया अघि बढाइएको बताइएको छ ।

छानबिनमा तानिए १७ जना

डीएसपी लामा मात्रै होइन, अहिले यो प्रकरणमा अन्य थप १७ जनामाथि अनुसन्धान अघि बढाइएको सहप्रवक्ता थापाले बताएका छन् ।

उनीसँगै छापा हान्न गएका टोलीका १७ जनालाई अहिले भने छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासले अनुसन्धान अघि बढाएको छ । जसमा एक डीएसपी, तीन इन्स्पेक्टरसहित १७ जना छन् ।

उनीहरूले डीएसपी लामाले भनेअनुसारको काम गरेको आरोप छ । तस्करीको चिनी गायब बनाउन उनीहरूको समेत मिलेमतो रहेको आरोप छ ।

छानबिनमा बाहिनी तानिनेमा सुरक्षा बेश सन्तपुर रौतहटका डीएसपी राजेन्द्र बस्नेत, नं. ११ गण हेडक्वार्टर रौतहटका एक इन्स्पेक्टर, सुरक्षा बेश देवाही रौतहटका एक इन्स्पेक्टर र सुरक्षा बेश दुधियाभारका एक इन्स्पेक्टर पनि छन् । उनीहरूलाई बाहिनी तानेर सोधपुछ गरिएको थियो । अहिले भने सम्बन्धित कार्यालयमा फिर्ता गरेर छानबिन गरिएको बताइएको छ ।

त्यसैगरी दुईजना जुनियर सशस्त्र प्रहरी अधिकृत छन् । बाँकी ११ जना भने जवान, हवल्दार रहेका छन् ।

अहिलेसम्म सशस्त्र प्रहरी बल, नं. ११ गण हेडक्वार्टर रौतहटलाई ध्यानाकर्षणसमेत गराइएको बताइएको छ । इन्स्पेक्टर रामचन्द्र लागेजुलाई त बाहिनीबाट नसियतसमेत दिइसकेको छ ।

एसपी राजेन्द्रबहादुर बस्नेत, इन्स्पेक्टर गणेशकुमार बोहरा, इन्स्पेक्टर दधिराम पौडेललाई ध्यानाकर्षण गराइएको सशस्त्र प्रहरी हेडक्वार्टरले बताएको छ ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?