
७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डप्रति लक्षित गर्दै राजनीति छोड्दा गर्ल्यामगुर्लम्म हुने के छ ? भन्दै प्रश्न गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले ‘पृथ्वी नै बोकेको जस्तो के छ ?’ भन्ने प्रश्न गरे ।
केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आफूले छोड्दा सबै गर्ल्यामगुर्लुम्म ढल्ने हो की जस्तो लाग्ने गरेको टिप्पणी गरेका थिए ।
‘नाम लिन जरुरी रहेन । तर नेपालमा कुनै राजनीतिक दलका नेता भन्नहुन्छ मैले छोडिदिएँ भने सबै गर्ल्यामगुर्लम्म झर्छ जस्तो लाग्छ भन्नुहुन्छ । छोड्नै नमिल्ने भएको छ । त्यस्तो के जाने हो थाहा छैन,’ रिजालले भने, ‘छोड्नै नमिल्ने गरी एकछिन पनि । सारा पृथ्वी बोकिरहेको जस्तो गोलमाल हुने ठाउँमा बस्दा यस्तो अवस्थामा हाम्रो नेताहरू हुनुहुन्छ । त्यस्तो राजनीति बोकेर बसेका छौँ नि त ।’
राजनीतिक दलहरुमा पुस्तान्तरण नहुने भन्दै पुस्तान्तरण राजतन्त्रमा मात्रै हुने उनको भनाइ थियो ।
‘राजनीतिक दलहरूमा पुस्तान्तरण भन्ने हुँदैन । त्यो राजतन्त्रमा मात्रै हुन्छ । राजनीतिमा पुस्तान्तरण हुँदैन । बाँकी चिज सबै निरपेक्ष हो, जसले सक्छ त्यसले लिएर जाने हो । कांग्रेसमा धुलो, तुवाँलो लागेको र पुछ्ने मात्रै काम भयो भने कांग्रेस कांग्रेस जस्तो देखिन्छ,’ रिजालले भने ।
प्रतिक्रिया 4