
७ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले समाज रुपान्तरणको माध्यम नै शिक्षा भएको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान सभाबाट जारी गरेको संविधानको भावना र मर्मअनुरुप शिक्षा नीति अहिलेसम्म आउन नसकेको बताए ।
हालै मात्र सरकारले विद्यालय शिक्षा विधेयक संसदमा लगेको भन्दै यसलाई अझ प्रभावकारी बनाउने काममा सुझावहरू दिन आग्रह गरे ।
‘संविधान सभाबाट जारी गरेको संविधान जुन छ । त्यो संविधानको भावना र मर्मअनुरुप यो शिक्षामा आउनुपर्ने परिवर्तनहरू हुन्, नीतिहरूमा जुन परिवर्तन ल्याउनुपर्ने हो त्यो हुन सकेको छैन,’ उनले भने, ‘अहिले संसद्मा ढिलै भएपनि आएको छ । विद्यालय शिक्षा विधेयकमा राम्रोसँग छलफल गरेर अघि बढ्नुपर्छ ।’
शिक्षा क्षेत्रमा रहेका विकृतिहरु हटाउन जरुरी रहेको बताउँदै उनले शिक्षामा लगानी बढाएर शिक्षा क्षेत्रबाटै समाजलाई तिब्र रुपान्तरण गर्नुपर्ने बताए ।
‘अहिले शिक्षा नै यस्तो माध्यम हो, शिक्षामा रहेका जुन विकृतिहरु छन्, त्यसलाई हटाउनका लागि शिक्षा क्षेत्रमा राम्रो लगानी गर्नुपर्छ,’ उनले भने, ‘त्यसबाट राम्रो उपलब्धि लिन सकेको खण्डमा समाजलाई तिब्र गतिमा शिक्षाबाट समाजको परिवर्तन गर्न सकिन्छ ।’
उपप्रधानमन्त्री सिंहले विद्यालय शिक्षा विधेयकमा कुनै कमजोरी हुन नदिन सबैले सचेत भएर लाग्नुपर्ने बताए ।
प्रतिक्रिया 4