+
+
Shares

आधुनिकताको नाममा संकटमा तीज गीत

आधुनिकताको नाममा नेपाली भाषा, संस्कार, संस्कृति, पर्व, गीत आदिमा विचलन आउन थालेको छ।

राजेन्द्र पन्थी राजेन्द्र पन्थी
२०८२ भदौ ९ गते ११:०६

लोकसाहित्यका विभिन्न विधामध्येको एउटा विधा लोकगीत हो भने लोकगीतका विभिन्न विधामध्येको एउटा विधा तीज गीत हो। तीज गीत भनेको हिन्दु धर्मावलम्बी महिलाहरूको एउटा मुख्य पर्व हरितालिका तीजको अवसरमा महिलाहरूले गाउने गीत हो। तीज गीत कहिलेदेखि गाउन थालियो भनेर ठ्याक्कै तिथिमिति यकिन छैन। तर यसको इतिहास धेरै लामो छ।

नेपालमा तीजपर्व लिच्छविकालमा पनि मनाउने गरेको विद्वानहरू बताउँछन्। ध्यान, ईश्वरीय प्रार्थना, भजनकीर्तन, पूजा–आराधना आदि परम्परा नै तीज गीतका पृष्ठभूमि देखिन्छन्। मूल रूपमा तीजपर्व पार्वतीको व्रतकथासँग जोडिएको छ। माता पार्वतीले शिव वर पाऊँ भनी लामो व्रत बसेकी र त्यसैबाट शिव वर पाएकी भन्ने हिन्दु शास्त्रहरूमा बताइएको छ। शास्त्रहरूमा अविवाहित महिलाले राम्रो वर पाउन र विवाहित महिलाले आफ्नो वरको सुस्वास्थ्य र दीर्घायुको कामना सहित निराहार व्रत बसी भगवान् शिवको पूजा–आराधना गर्नुपर्छ भन्नेछ। तीजपर्वमा गाइने गीतका मौलिकता भनेका महिलाहरूका सुख-दु:ख, हर्ष-विस्मात्, उकाली-ओराली, विजय-पराजय, मिलन-विछोड, आँसु-हाँसो, उन्नति-अवनति आदि नै हुन्।

समाज विकासक्रममा भाषा, संस्कार, संस्कृति, पर्व, गीत, रहनसहनहरूमा परिवर्तन भइरहन्छन्। कतिपय विषयहरू इतिहासमै सीमित हुन्छन् भने कतिपयले निरन्तरता पनि पाउँछन्। समाजका सामाजिक, सांस्कृतिक, धार्मिक आदि विषयहरू समाजकै प्रतिष्ठा, अस्तित्व, पहिचान र चिनारीसँग जोडिएका हुनाले तिनलाई जोगाउन समाज नै अत्यन्तै सचेत हुनुपर्छ। समाजको अस्तित्व समाप्त हुँदा राष्ट्रको अस्तित्व पनि समाप्त हुनसक्छ। समाजका हरेक नागरिकहरूले आफ्नो पहिचानको लागि आफ्ना पर्व, संस्कार, संस्कृति, भाषा, गीत आदिलाई जगेर्ना गर्नुपर्दछ र त्यो हरेक नागरिकको कर्तव्य पनि हो।

आज विज्ञान र प्रविधिको तीव्र विकासले विश्व भौगोलिक रूपमा एउटा सानो गाउँमा परिणत भएको छ। विश्वको प्रभाव नेपाली समाजमा पर्नु स्वाभाविकै पनि हो। तर, प्रभाव र आधुनिकता नाममा कतै आफैं नै सकिन लागेको त होइन भन्ने कुराप्रति निकै सचेत हुनुपर्ने देखिन्छ। आधुनिकताको नाममा नेपाली भाषा, संस्कार, संस्कृति, पर्व, गीत आदिमा विचलन आउन थालेको छ।

नयाँ र पुरानाका बीचमा द्वन्द्व चलिरहनु समाज विकासको स्वाभाविक प्रक्रिया हो। तर, नयाँका नाममा सामाजिक, सांस्कृतिक, भाषिक, धार्मिक विचलन निम्त्याउनु र अन्धभक्त नै हुनु स्वाभाविक होइन। सामाजिक संरचना जोगाउन केही अलिखित र परम्परित कानून बनेका हुन्छन्, तिनलाई पनि पालन गर्नुपर्छ। सामाजिक संरचनामा भाषा, संस्कार, रहनसहन आदि स्वाभाविकै तरिकाले आउँदै–जाँदै गर्छन्। कसैलाई चाहियो भनेर जबर्जस्त हस्तक्षेप गर्‍यो भने त्यसले सिङ्गो समाजलाई समाप्त पार्छ।

शास्त्रले भनेको छ भनेर श्राद्धमा बिरालो बाँध्नु पनि गलत हो र मृत्युपछिको पिण्ड बेकार हो भन्नु पनि गलत हो। आधुनिकता, अन्धभक्तता, लोकप्रियता, व्यावसायिकताका नाममा आफ्नो पहिचान र अस्तित्व नै समाप्त हुनसक्छन्। हुनत अहिलेको डिजिटल चामत्कारिक युगमा यस्तो बीच बाटोको यात्रा जटिल छ, तर यही जटिलतालाई नै चिर्दै आफ्नो अस्तित्व र पहिचान जोगाउनु नै सर्वोयुक्त विकल्प हो। कहिलेकाहीं आएका खहरे बाढीहरूप्रति सचेत र सजग हुन सकिएन भने सिङ्गो बस्ती नै सिध्याउन सक्छन्। खहरेले क्षणिक रूपमा मूल पनि फुटाउँछ र सिंचाइ पनि गर्छ तर सचेत भइएन भने संरचना नै ध्वस्त हुन सक्छ।

तीज गीत के आए आए, छाडा र उत्तेजक आए भनिरहँदा त्यसलाई रोक्ने पहल गरिनु समाजकै दायित्व पनि हो। पछिल्लो पुस्तालाई उनीहरूको रोजाइमा जीवन र समाजका गहिरा अर्थ बोकेका गीत गाउन प्रेरणा दिनुपर्ने देखिन्छ

अब यही सन्दर्भमा तीज गीतका कुरा गरौं। आजका तीज गीतका सवालमा धेरै प्रश्न उठिरहेका छन्। अहिलेका तीज गीतहरूमा मौलिकता र सौन्दर्य हराउँदै गएको देखिन्छ। तीज गीतका विषय भनेका महिला, भाव, भाषा, भाका, सङ्गीत, प्रस्तुति आदि हुन्। तर, आधुनिक युगको आगमन, पश्चिमको प्रभाव, लोकप्रियता र डिजिटल व्यावसायिकताका कारणले नेपाली गीत–सङ्गीतमा विचलन आएको देखिन्छ।

अहिलेको डिजिटल युगमा व्यावसायिक र लोकप्रियताको अस्वस्थकर प्रतिस्पर्धाले तीज गीतहरू भाका र भाव समेत नमिलेका रत्यौली, झ्याउरे, दोहोरी जस्ता बन्न पुगेका छन्। आधुनिकताको नाममा शब्द, सङ्गीत, भाका, भाव र प्रस्तुति नै बिग्रँदै गएका छन्। गीतमा समय अनुसार विषय नयाँ हुनसक्छन् तर भाव, लय र प्रस्तुति नै फरक पर्दा गीतका मौलिकता र सौन्दर्यता नै हराएका छन्। हिजो महिलाका सुख र दु:खका कहानी फरक थिए, आज फरक छन्। आजका महिलाले हिजोको विषयका घटना मन नपराउनु स्वाभाविकै होला। तर, आज पनि महिलाका थुप्रै नयाँ विषय, समस्या, व्यथा छन्।

समयले विषयमा परिवर्तन ल्याउन सक्ला तर मौलिकता, आस्था र विश्वासमा नै परिवर्तन गरिनु राम्रो होइन। तीज गीतमा तीज गीत नै चाहिन्छ। तीजको बेलामा गाउँदैमा ती तीज गीत हुन सक्दैनन्। तीज गीतमा भगवानका पुकार गर्नलाई समयले केही फरक पार्दैन। ईश्वर, देवता, धर्म हिजो पनि थिए, आज पनि छन्। महिलाका संवेदना वा कथाव्यथा हिजो पनि थिए, आज पनि छन्। हिजोका गीतमा अशिक्षा, बालविवाह,  बुहार्तन, बेरोजगार, घरभित्रकै जेल जीवन, मान्छे जन्माउने मेसिनरी जिन्दगी आदि थिए। आज ती कतिपय अझै छन् भने थप थुप्रै सामाजिक, राजनीतिक, आर्थिक विभेदका पीडा यथावत् नै छन्। तीज गीतका विषयहरू समानता, समता, चेतना, जागृति, स्वाभिमान आदि थुप्रै हुन सक्छन्।

आजको युगमा आउँदा दु:खका मात्र नभएर नारी सुख र खुशीका गीत गाउन पनि सकिन्छ। नारीका प्रगति र उन्नतिका गीतहरू बन्न सक्छन्। तीज गीतमा परम्परा र वर्तमान दुवैलाई समेट्नुपर्छ। जराको अस्तित्व विना हाँगाको कल्पना गर्न सकिंदैन। जराको महत्त्व नराखी हाँगा, पात, फल र फूलका पछाडि मात्र दौडियो र बाह्य आवरणको सौन्दर्यमा मात्र रमाउन खोजियो भने रूखले मलजल नपाई ढल्न सक्छ। यसै सन्दर्भमा एउटा अनुसन्धानमूलक आलेखमा माया घिमिरेले लेख्नुहुन्छ- लोकप्रिय संस्कृतिका रूपमा रून्तरित हुँदा समकालीन समयमा तीज पर्वका मौलिक खाना, नाना र गाना परिवर्तन भएका छन्। पूँजीवादी उपभोक्तावादी संस्कृतिका कारण तीजपर्व भड्किलो हुँदै गएको छ।

अहिले युट्युबमा अपलोड गरिएका केही तीज गीतमा त गीतको भाव, भाका र छनक नै छैनन्। शब्दमा तीजको महिलाको मर्म नै उनिएको छैन। गीतमा महिलाको वेदनाभन्दा पनि वेभाव, छाडा, पश्चिमी शैलीको नाच, प्रस्तुतिमा महिलाको अङ्ग प्रदर्शन, चर्का वाद्ययन्त्रको प्रयोग, हास्यरस, छाडा, उत्तेजक र द्विअर्थी शब्द आदि रहेका छन्। ती गीतमा मिठास नै छैन। भाइरल हुने दौडमा तीज गीत भनी गाइएका छन्। आधुनिकतासँगै तीजका मौलिक परम्परा, रीतिरिवाज, जीवनशैली र गीत–सङ्गीतहरू ओझेलमा पर्दै गएका देखिन्छन्। यद्यपि मौलिक, सौन्दर्यपूर्ण र भरिला गीत नगाइएका भन्ने होइनन्। कुनै ठूलो संरचनालाई धमिल्याउन र विषाक्त पार्न बिगार्ने वस्तुको मात्रा धेरै चाहिंदैन। आज पनि हरिदेवी कोइराला, लक्ष्मी न्यौपाने, बद्री पंगेनी, विष्णु माझी आदिका गीतहरूमा मौलिकता र समय सान्दर्भिक विषय र भावहरू पाइन्छन्।

गीतलाई जगेर्ना र पुस्तान्तरण गर्न अघिल्लो पुस्ता मौन बस्नुहुँदैन। बजारमा जस्ता गीत आउँदा पनि टीकाटिप्पणी नगर्ने, टुलुटुलु बसेर हेर्ने, सुन्ने अनि लाइक, कमेन्ट, सब्क्राइब र सेयर गर्नाले पनि गीतहरू भाइरल बनेका छन्। यस्ता गीत भाइरल हुँदा मौलिक गीत ओझेलमा पर्छन्। भाइरल भएका गीतमा रमाइलो मान्दा र हँसिमजाक गर्दा गीतको मौलिक अस्तित्व नै सकिन्छ। अघिल्लो पुस्ताले नयाँ पुस्तालाई गाउने र नाच्ने मात्र नभएर तीज गीतको विषय, भाव, सौन्दर्यका बारेमा जानकारी गराउनु र विकृतिप्रति आलोचना पनि गर्नुपर्छ।

तीज गीत के आए आए, छाडा र उत्तेजक आए भनिरहँदा त्यसलाई रोक्ने पहल गरिनु समाजकै दायित्व पनि हो। पछिल्लो पुस्तालाई उनीहरूको रोजाइमा जीवन र समाजका गहिरा अर्थ बोकेका गीत गाउन प्रेरणा दिनुपर्ने देखिन्छ। पछिल्लो पुस्ताले पनि नयाँका नाममा क्षणिक रमाइलोको लागि मौलिकता गुमाउनुहुँदैन। आजको एआईको युगमा भाका र भाव विनाका गीतलाई अर्को भाषामा उल्था गर्दा झन् गतिलो सन्देश जाँदैन। जस्तो कुनै एक पुरानो र नयाँ गीत तुलना गरौं।

आँगनकै डिल बसी काली कौवा करायो।

के कुमा समाचार ल्यायो बरिलै

एकुमा समाचार कागजीको चिर्कटो

दोसरोमा समाचार मलाई लिन आको।

यसपालिको तीजमा दिदी कुन कुन साडी पठाइदिम्।

आफैं लिन आम कि दिदी गाडी पठाइदिम्।

(बद्री पंगेनी, भाइले बोलायो)

यी माथिका दुई भिन्नभिन्न युगका गीत हुन्। गीतमा समयको अन्तरालका विषयवस्तु छन्। हिजो माइतीघर टाढा हुँदा कौवा आउँदा समाचार ल्याएको भन्ने अनुमान गर्नुपर्थ्यो भने आज दिदीबहिनीलाई फोन गरेर आफैं आउनुहुन्छ कि गाडी पठाइदिम् भन्नेसम्मको समय आएको छ। दोस्रो गीत आजको युगको विषयको गीत हो तापनि यसमा उत्कृष्ट मौलिकता र सौन्दर्य रहेको छ। त्यसैले नयाँ युग आयो भन्दैमा मौलिकताको अन्त्य हुँदैन। तीज गीतलाई मौलिकताले नै बचाउन सकिन्छ। क्षणिक रोमान्स, उत्तेजना, लोकप्रियता र प्रभावले गीतलाई मात्र नभएर आफू र सिङ्गो समाज नै समाप्त पार्छ। त्यसैले नेपालीपन जोगाऔं र यसैमा नै रमाऔं।

नेपालीपनमै हाम्रो अस्तित्व छ। अहिले पनि तीज गीतमा नेपाली महिलाहरूका अहिलेकै कथा–व्यथा समेट्न सकिन्छ। तीज गीतका मूल मर्म भनेका महिला, भाव र भाका नै हुन्। तीज गीतमा आन्तरिक र बाह्य दुवै सौन्दर्य हुनैपर्छ।

(भर्जिनिया, अमेरिका)

लेखक
राजेन्द्र पन्थी

समसामयिक विषयमा लेख्ने पन्थी अमेरिकाको भर्जिनियामा बस्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?