
१० भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल माइतीघर मण्डला पुगेर उखु किसानहरूसँग धर्नामा बसेका छन् ।
उखु किसानहरूको आन्दोलनलाई समर्थन गर्न पुगेका अध्यक्ष नेपाल उखु किसानहरूसँग धर्नामा बसेका हुन् ।
यसअघि आजै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी (नयाँ शक्ति) पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उखु किसानको आन्दोलनलाई समर्थन गर्न माइतीघर पुगेका थिए ।
सरकारले निर्धारण गरेको अनुदान रकम उपलब्ध नगराएको भन्दै उनीहरूले आइतबारदेखि निरन्तर प्रदर्शनलाई जारी राखेका छन् ।
बजेट अभाव देखाउँदै सरकारले किसानलाई दिँदै आएको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँबाट आधा घटाएर ३५ रुपैयाँमा झार्ने निर्णय गरेपछि उखु किसान आन्दोलित भएका हुन् ।
सोमबार उनीहरूले उखु नै बोकेर आन्दोलनमा सहभागी भएका थिए । उनीहरूले अनुदानको रकम घटाउने निर्णय फिर्ता लिन उनीहरूले सरकारसँग माग गरेका छन् ।
उखु उत्पादक महासंघको नेतृत्वमा उनीहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई जारी राखेका हुन् ।
सरकारले पहिलेको प्रतिक्विन्टलमा ७० रुपैयाँ कै दरले अनुदान दिने निर्णय नै कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ ।
सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र नवलपरासीका किसानहरू प्रदर्शनमा सहभागी छन् ।
प्रतिक्रिया 4