
१० भदौ, काभ्रेपलाञ्चोक । झण्डै तीन सातापछि सञ्चालनमा आएको अरनिको राजमार्ग पुन: अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको भोटेकोशी २ इकोमा पुन: सडक भासिएपछि सोमबारबाट राजमार्ग अवरुद्ध भएको हो ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार, सोमबार दिउँसो ४ बजेबाट अरनिको राजमार्गको इकोमा सडक भासिएर सडक अवरुद्ध भएको हो ।
उक्त खण्डमा ६ मिटर सडक भासिएको छ । सडक खुलाउने प्रयास भएपनि खुलाउन समय लाग्ने राइले जानकारी दिए । ‘पानी बगिरहने समस्याले पानी सँगै झरेको पहिरोले सडक भासिएको छ, भारी बोक्ने भरियालाई हिँड्नसमेत समस्या भएको छ,’ राईले भने ।
इकोकै कारण गत साउन १७ गते देखि अवरुद्ध भएको सडक गएको बिहीबारबाट सञ्चालनमा आएको थियो । सडक अवरुद्ध हुँदा तातोपानी नाका समेत बन्द भएको छ ।
चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अमित कुमार श्रेष्ठका अनुसार सोमबार वर्षातका कारण बगेको सडक मर्मतसम्भार भइरहेको जानकारी दिए ।
‘इकोको सडकभन्दा माथिल्लो स्थानबाट लेदो तथा जमिन नै बगिरहेको कारण सडक निर्माणमा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘पानी सहित लेदो बगेको कारण खुलाउन समस्या छ, हामी प्रयासमा छौं ।’
अघिल्लो पटक सडक अवरुद्ध हुँदा स्याउ, नास्पाती, आँप, अंगुर, लसुन, किबीलगायतका फलफूल, मसलाजन्य बस्तु भरियालाई बोकाएरै तातोपानी भन्सार र्याडसम्म ल्याइएको थियो ।
जमिनभित्रको पानी निकाल्न समस्या
इकोमा पहिरो नरोकिएपछि डीटीएच प्राविधि (जमिन भित्रको पानी निकाल्ने) प्रयोग गरेर पानी निकाल्न प्रविधिक टोली खटिएपनि समस्या समाधान नभएको चरिकोट सडक डिभिजन कार्यालयले जनाएको छ ।
लगातार पानी बगिरहेको कारण इको पहिरो नरोकिंदा सडक अवरुद्ध भएपछि डिटिएच प्रविधिबाट जमिनभित्र प्वाल पारेर पाइप राखेर पानी निकाल्न खोजेपनि नसकिएको चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए ।
‘जमिनभित्र प्वाल पारेर पाइप राखेर पानी निकाल्न खाजेको तर लगातार लेदो र जमिन खसेको कारण प्वाल पारेको स्थानमा पाईप हाल्न समस्या भयो, ठ्लो मेसिन चलाउन पनि इको माथीको बस्ती जोखिममा पर्ने भएकोले स्थगित गरियो,’ कार्यालयका प्रमुख श्रेष्ठले भने, ‘प्वाल पारियो तर लेदो बगेको कारण पाइप हाल्न सकिएन ।’
डिटिएच प्रविधिबाट पानी नभेटुन्जेल १५ देखि ३५ मिटरभित्र सम्म प्वाल पार्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । ठूला मेसिन प्रयोग गरेर सडक बनाउँदा गाउँ झन जोखिममा पर्ने भन्दै स्थानीय त्रसित भएपछि ड्रिल गर्न समस्या आएको थियो ।
लगातार पानीसहित पहिरो खसेको इको माथीका चौकि डाडा, गुम्बाडाँडा, मिलन बजार, लालबिर चोक, कोदारी गुम्बा क्षेत्र, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार, तामाङ गुम्बा गाउँक्षेत्रका घर जोखिममा परेका छन् ।
तस्वीर सौजन्य/निरोज चौलागाईं
प्रतिक्रिया 4